सुन्दर–सुग्घर पोखरा

सुन्दर–सुग्घर पोखरा

घुम्न, हेर्न र बस्न लायक सहर हो, पोखरा। मानव निर्मित पूर्वाधारले भन्दा पनि प्राकृतिक सम्पदाले पोखरा सुन्दरता मानिन्छ। नेपाली पर्यटनको केन्द्र मानिन्छ। पोखरा प्रकृतिले दिएको सुन्दर उपहार मात्र होइन, देशकै सुन्दर सहर पनि हो। चारैतिर हरियाली, तालतलैया र मनोरम हिमाली दृष्य पोखराको मुख्य आकर्षण हुन्। यिनै कारण बर्सेनि विश्वभरका लाखौं पर्यटक पोखरा ओइरिन्छन्। प्राकृतिक सुन्दरतासँगै यहाँका सचेत नागरिक र उनीहरूले निर्वाह गरेको असल दायित्वकै कारण पोखरा सुन्दर सहरका रूपमा चिनिएको अग्रज पर्यटन व्यवसायी गणेश भट्टराई बताउँछन्। ‘पोखराको सुन्दरतामा पहिलेभन्दा कमी आएको छ। यहाँको हरियाली, चौतारा, कुँवा, धारा सबै मासिएका छन्। हामीले पानी खाने र पौडी खेल्ने खोलाको पानी अहिले हराएको छ’, उनी सम्झिन्छन्, ‘५० वर्ष अगाडि काठमाडौं उपत्यका पनि सुन्दर थियो। अहिले बिग्रियो। अन्य सहरको तुलनामा पोखरा सुन्दर भए पनि संरक्षण नगर्ने हो भने आजको पोखरा भोलिको काठमाडौंजस्तै बन्न पुग्छ। त्यसैले यसको संरक्षण गरी भावी पुस्तालाई सुन्दर सहर हस्तान्तरण गर्नुपर्छ।’ 

अर्का पर्यटन व्यवसायी नरेश भट्टराई पोखरा प्रकृतिको बहुमूल्य उपहार भएको बताउँछन्। ‘हामी भाग्यमानी हौं। पोखराबाट १५ देखि २० मिनेटको दूरीमा हरियाली ठाउँमा पुग्न सकिन्छ। बीचको फेवा ताल, डाँडाकाँडाको हरियालीले पोखरालाई थप सुन्दर बनाएको छ’, उनी भन्छन्, ‘हिमाल त भन्नै परेन्। यहाँका हिमालले नेपाललाई नै चिनाएको छ।’ 

पोखरा सफा हुनु फोहोर व्यवस्थापन पनि प्रमुख कारण भएको उनी बताउँछन्। ‘फोहोर व्यवस्थापन पनि राम्रोसँग भएको छ। महानगरसँगै निजी क्षेत्रले पनि फोहोर व्यवस्थापनमा सहयोग गरेका कारण सहर सफा देखिएको छ। दुर्गन्ध हुनै पाउँदैन’, उनी भन्छन्, ‘होटललगायतबाट जम्मा भएका फोहोरलाई महानगरसँगको सहकार्यमा निजी क्षेत्रले व्यवस्थापन गर्ने गरेका छन्।’ प्रकृतिले दिएका सुन्दरतालाई जोगाउँदै सहरलाई थप आकर्षक बनाउन महानगरपालिकाले भरपुर प्रयास गर्नेे पोखरा महानगरपालिकाका नवनिर्वाचित प्रमुख धनराज आचार्यले बताए। ‘महानगरले फोहोर व्यवस्थापनसँगै वातावरण र पर्यावरणलाई सन्तुलन गरेर सुन्दर सहरको कल्पना पूरा गर्न प्रयासरत छांै’, उनले भने, ‘बजेट व्यवस्थापनसँगै विभिन्न गुरुयोजना बनाएर अघि बढने छौं।’ नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मी प्रकृतिको वरदानकै कारण पोखरा सुन्दर सहरहर भएको बताउँछन्। ‘विश्वमा पोखराको छवि सुन्दर छ। पोखरालाई थप सुन्दर बनाउन महानगरपालिकासँगै नागरिकको पनि उत्तिकै दायित्व हुन्छ’, उनी भन्छन्, ‘संरक्षण नगर्ने हो भने भोलि पोखरा गर्व गर्ने लायक रहँदैन। त्यसैले सबै संवेदनशील हुनपर्छ।’ 

हिमाल, ताल, डाँडाकाँडा एकै ठाउँबाट देख्न पाइनु नै पोखराको प्रमुख विशेषता रहेको वरिष्ठ इन्जिनियर किसनसिंह गुरुङ बताउँछन्। ‘प्रकृतिले नै पोखरालाई सुन्दर बनाएको छ। भौगोलिक हिसाबले पनि उत्कृष्ट ठाउँ छ। अर्को महत्वपूर्ण पक्ष शिक्षित र सचेत समाज पोखरामा छ’, उनी भन्छन्, ‘काठमाडौं कचौराजस्तो छ, त्यहाँ धूवाधुलो प्रदूषण जमेर बस्छ। पोखरा खुला भएकाले हावाले उडाउँछ।’

नागरिक समाजको भूमिका 

फेवातालको संरक्षणको कार्यक्रमलाई अगाडि बढाउने गरी नागरिक समाज पोखराले २०७३ साल जेठ २२ को विश्व वातारण दिवसका अवसरमा सफाइ अभियानको थालनी ग¥यो। फेवाताललाई सुन्दर बनाउन अभियन्तासँगै नागरिक समाज, जिल्ला प्रशासन कार्यालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, महानगरपालिका, वित्तीय संघ–संस्थाहरू, आमा समूहहरू, टोल विकास संस्था, विद्यालय, कर्मचारीलगायत गोलबद्ध भए। दोस्रो चरणमा पोखरा बृहत् सफाइ अभियानअन्तर्गत पोखराका ३३ वटै वडामा सरसफाइ अभियान पुग्यो। यो अभियानमा पनि सबै क्षेत्रको सहभागितामा निरन्तर चलिरह्यो। २०५ हप्तासम्म चलेको अभियानमा १५ सयभन्दा बढी कार्यालय, संघ–संस्थाका हजारौंले सहभागिता जनाए। अभियानको तेस्रो चरणमा हजारौं पोखरेलीले पिउने पानीको मुहान मर्दी खोला सफा गरे।   

प्राकृतिक सौन्दर्य बचाउन चुनौती 

प्रकृतिले दिएको यो सुन्दर उपहार जोगाउने दायित्व सबै पोखरेलीको हो। पोखरा सफा राखौं भन्ने अभियान पहिलादेखि नै चल्दै आए पनि यथेष्ट हुन सकेको छैन। आन्तरिक सौन्दर्यकरणसँगै सुन्दर हरियाली सहर बनाउने योजना सफल हुन सकेको छैन। महानगरपालिकाले सुन्दर सहर बनाउने आश्वासन बाँड्दै आए पनि अहिलेसम्म अपेक्षाअनुसार काम हुन सकेको छैन। पोखराको सौन्दर्यीकरणसँगै विकास निर्माणका कामलाई अघि बढाउने नगर प्रमुख आचार्य बताउँछन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.