जोसित हारेका थिए उनैले हराए

जोसित हारेका थिए उनैले हराए

गोरखा : भर्खरै सम्पन्न स्थानीय निर्वाचनमा गोरखाका चारवटा पालिकामा यसअघि आफूलाई हराउनेलाई नै अहिले हराएर पालिका प्रमुख भएका छन्। पाँचवर्षअघिको चुनावमा गोरखा नगरपालिकामा माओवादीका कृष्ण रानालाई पन्द्रसय चौतीस मतान्तरले हराएर राजनराज पन्त मेयर भएका थिए। अहिले  रानाले पन्तलाई अठारसय छपन्न मतान्तरले हराएर मेयर बन्न सफल भएका छन्। 

पालुङ्टार नगरपालिकामा पनि यस्तै प्रकृतिको दृश्य देखिएको छ। पाँचवर्षअघि त्यहाँ माओवादीका विवश चिन्तनलाई दुईसय उनानअसी मतान्तरले पराजित गरी कांग्रेसका दीपकबाबु कँडेल मेयर भएका थिए। तर यो चुनावमा विवश चिन्तनले कँडेललाई एकहजार पचहत्तर मतान्तरले पछि पार्दै मेयर बने।

धार्चे गाउँपालिकामा पनि समान प्रकृतिको घटना भयो। पाँचवर्षअघि माओवादी(तत्काल नयाँशक्ति)का लक्ष्मण गुरुङलाई ६९ मतले पछि पार्दै कांग्रेसका सन्तोष गुरुङ अध्यक्षको पद सम्हाल्न पुगेका थिए। पाँचवर्षपछि अहिले उनै लक्ष्मण गुरुङले सन्तोष गुरुङलाई अठारसय पच्चीस मतले पछि पारेर अध्यक्ष बनेका छन्।

गण्डकी गाउँपालिकामा पाँच वर्षअघि माओवादीका दीपक तिमिल्सिनालाई दुईसय एकासी मतले पछिपार्दै कांग्रेसका होमबहादुर राना अध्यक्ष बनेका थिए। पाँच वर्षपछि अहिले उनै तिमिल्सिनाले उनै रानालाई सोह्रसय एकहत्तर मतले पछाडि पारेर अध्यक्ष बन्न सफल भएका छन्। पाँच वर्षअघि हारेका भीमसेन थापा गाउँपालिकाका माओवादीका उम्मेद्वार लोकप्रसाद बञ्जरा र अजीरकोट गाउँपालिकाका दीपक देवकोटा पनि अहिले विजयी बनेका छन्। तर पाँच वर्षअघि उनीहरु जुन उम्मेद्वारसित चुनावी मैदानमा भिडेका थिए, अहिले प्रतिस्पर्धी फरक थिए।

आफूलाई हराउनेमाथि नै जीत हासिल गर्नेहरु भने गोरखा नगरपालिका, पालुंटार नगरपालिका, धार्चे गाउँपालिका र गण्डकी गाउँपालिकाका उम्मेद्वार हुन्। ‘प्राविधिक रुपमा त्यतिबेला मैले हारे पनि निरन्तर गाउँमै रहेर जनताको घरदैलो गरिरहेँ। मतदातासित जोडिइरहेँ। त्यसैले अहिले जित्न सफल भएको हुँ’, गण्डकीका अध्यक्ष तिमिल्सिना भन्छन्, ‘यो अवधिमा मैले संगठन सुदृढ बनाउन दिनरात खटिइरहेँ। त्यसैको परिणामस्वरुप मैले जित्न सकेको हुँ।’ 

पराजित मानसिकता लिएर धरातल छाडेको भए यो चुनावमा पनि जीत हातपार्न नसक्ने भीमसेन थापा गाउँपालिकाका प्रमुखमा विजयी बञ्जराको भनाइ छ। ‘बिगत पाँचै वर्ष म गाउँमा बसिरहेँ, त्यो पनि राजनीति नै गरेर, संगठन नै बनाएर’, उनी भन्छन्, ‘मैले अब जुनसुकै हालतमा जित्नै पर्छ भन्ने अर्जुनदृष्टि लगाएर काम गरेका थिएँ। मतदाताले विश्वास गर्नुभयो। चुनाव जितेपछि मैले आफूलाई जनताको गोरु हुँ मलाई सकेजति जोत्नुस् भनेको छु।’

बिगतको चुनावमा पराजित भएपछि आफू हार्नुको कारण खोज्दै मतदाताको घरदैलोमा पुगिरहेको धार्चेमा हालै विजयी बनेका लक्ष्मण गुरुङको भनाइ छ। ‘अघिल्लोपल्ट जनताले मलाई बाहिर बस् भने, सन्तोषलाई भित्र बस् भने। मैले सहर्ष स्वीकार गरेँ। मत नदिने मतदातालाई चिढ्याउने काम गरिन’, उनी भन्छन्, ‘बरु किन मलाई मत दिनुभएन ? ममा के कमजोरी छ भन्दै घरदैलो गरिरहेँ। आफ्नो, अर्को नभनी उहाँहरुको मन जित्ने काम गरिरहेँ। पार्टीको संगठन बढाउने काम गरिरहेँ। त्यसैले अहिले जित्न सफल भएको हुँ।’ तर प्रतिस्पर्धी पार्टीले आफूहरुमाथि चाहिँदो, नचाहिँदो व्यवहार गरेर, अस्वस्थ प्रतिस्पर्धा गरेर मतदाता रुष्ट पार्ने काम गरिरहेकाले आफूले सोचेभन्दा धेरै मत प्राप्त गरेको उनको तर्क छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.