जिससमा गठबन्धन विजयी
सङ्खुवासभा : जिल्ला समन्वय समिति सङ्खुवासभामा गठबन्धका उम्मेदवार विजयी भएका छन्। मंगलबार भएको निर्वाचनमा प्रमुखमा सुमन शाक्य र उपप्रमुखमा बबिता खत्रीसहित गठबन्धनका उम्मेदवार विजयी भएका हुन्।
समन्वय प्रमुख दोस्रो कार्यकालका लागि प्रमुख पदमा शाक्य विजयी भएका हुन्। शाक्य नेकपा(एस)बाट निर्वाचित भएका हुन्। प्रमुख पदमा नेकपा(एमाले)ले कांग्रेसबाट चिचिला गाउँपालिकाको कार्यपालिका सदस्यमा विजयी राजेन्द्र घलेलाई स्वतन्त्र उम्मेवार उठाएको थियो।
स्थानीय तह निर्देशिका २०७८ को दफा ४५(५) बमोजिम स्वीकृत गर्न नमिल्ने भएको भन्दै घलेको उम्मेदवारी निर्देशिकाको दफा ४५(३) बमोजिम खारेज गरेपछि शाक्य निर्विरोध चयन भएका थिए। घलेको रित नपुगी उम्मेदवारी दर्ता भएको साथै आफैंले उम्मेवारी फिर्ताका लागि निवेदन दिएकाले उम्मेदवारी खारेज गरिएको मुख्य निर्वाचन अधिकृत शान्तिप्रसाद आचार्यले जानकारी दिए।
उपप्रमुखमा गठबन्धनका तर्फबाट कांग्रेसकी खत्री ११ मत ल्याएर विजयी भएकी छन्। एमालेकी रेनुका माया गुरुङले ८ मत मात्र पाएकी छन्। सदस्यमा कांग्रेसका छेदर भोटे, मनोजकुमार थायुम, देउमान राई (याम्फु), भत्तीमाया गुरुङ र माओवादी केन्द्रका मणिराज खत्री, अरिता राई र शान्तिदेवी राई विजयी भएका छन्।
१० वटा स्थानीय तह रहेको यस जिल्लामा कांग्रेस ९, एमाले ८, एकीकृत समाजवादी २ र माओवादी केन्द्रसँग १ मत थियो। गठबन्धनसँग १२ र एमालेसँग ८ मत थियो। जिल्ला समन्वय समिति निर्वाचनमा पालिका प्रमुख÷अध्यक्ष र उपप्रमुख-उपाध्यक्षले मतदान गर्नेछन्।
गाउँसभा वा नगरसभाको सदस्यमा निर्वाचित भएको र नियमावलीको नियम ३८ (क) बमोजिम शपथ लिएको व्यक्ति जिल्ला समन्वय समितिको प्रमुख, उपप्रमुख वा सदस्य पदको लागि उम्मेदवार हुन पाउने व्यवस्था छ। स्थानीय निर्वाचन सकिएको एक महिनाभित्र जिससको गठन गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार मंगलबार निर्वाचन सम्पन्न भएको हो।