जहाँ बस्छन् ज्येष्ठ नागरिक मात्रै

जहाँ बस्छन् ज्येष्ठ नागरिक मात्रै

गोरखा : चुमनुब्री गाउँपालिका–२ स्योका ७० वर्षका छिरिङ फुर्बु हिनाङ गुम्बानजिकै टहरो बनाएर बसेका छन्। तागत छउन्जेल गाउँघरमा खेतबारीको काम गरेर बिताएका उनी तीनबीसे कटेपछि माने घुम्न गाउँबाट पर गुम्बामा आएर बसेका हुन्।

उनका चारभाइ छोरा छन्। ठूलो, साहिँलो र कान्छो लामा बन्न गुम्बा गए। माहिलो मात्र घरमा छन्। ‘माहिलाको बिहे गरेपछि वर्षदिनसम्म सँगै बसियो। अनि सबै धनसम्पत्ति उनीहरूलाई छोडेर माथि आएको’, फुर्बु भन्छन्, ‘सँगै बस्यो भने कोही बेला राम्रो हुन्छ। कोही बेला झगडा हुन्छ। बूढो भइयो। घरमा बसेर काम पनि छैन।’

आफू तन्नेरी छँदा बुबाआमालाई हिनाङ पठाएर उनी घरव्यवहार सम्हालेर बसेका थिए। आफ्नो पालो छोरालाई घरव्यवहार सुम्पिएका हुन्। ‘पहिले बुबाआमा हामीलाई घर छाडेर यहाँ आएर बस्नुभयो। अहिले हाम्रा छोराहरू तन्नेरी भए। हामी यहाँ आयौँ। छोराबुहारीहरू घरमा बसेका छन्’, उनी भन्छन्, ‘यहाँ आएर बस्दा एकदम रमाइलो लाग्छ। किनभने अब घरव्यवहारको भारी छोराबुहारीलाई बिसाउन पाइएको छ। यहाँ माने घुमेर, गुम्बा घुमेर धर्म गर्न पाइएको छ। आनन्द भएको छ।’ परापूर्वकालदेखि गाउँमा यस्तै चलन भएकाले रमाइलो लागेको उनको भनाइ छ। बिरामी भएका बेला भने पिर लाग्ने उनी बताउँछन्। 

७० वर्षका फुर्बु ग्याल्जेन र ६५ वर्षकी सोनाम ल्हामो दम्पती माने घुम्न यहाँ आएर बसेको १० वर्ष भयो। उनीहरूका चार छोरा, दुई छोरी छन्। ‘सबै छोराछोरीको बिहे भयो। घर सम्पत्ति सबै छोराबुहारीलाई छोडेर हामी माने घुम्न यहाँ आएका हौँ’, ल्हामो भन्छिन्, ‘यहाँ माने घुम्छौं। गुम्बा घुम्छौं। माला जप्छौं। पाठ गर्छौँ। यसरी नै दिन बितिरहेको छ।’

उनीहरू यहाँ दिनभर नजिकै वनमा गएर दाउरा सँगाल्छन्। पानी बोक्छन्। छरछिमेकी भेट्छन्। सुखदुखका गफ गर्छन्। साँझ परेपछि नजिकै रहेको नुब्री हिनाङ पुङ्चे गुम्बा घुम्न जान्छन् । समसाँझै खानपिन गर्छन्। सुत्छन्। यसरी नै दिनचर्या बित्ने गरेको छ।

‘घरको काम गर्न नसक्ने भएपछि यहाँ आएर बस्ने गरेका छौँ’, फुर्बु ग्याल्जेन लामा भन्छन्, ‘यहाँ पकाउने, खाने र माने घुम्ने काम मात्र गर्छौँ।’ दैनिक उपभोग्य वस्तुको प्रवन्ध छोराबुहारीले गरिदिने उनीहरूको भनाइ छ।

जेठो छोराको बिहे गर्दिएपछि बुबाआमा बाँकी सन्तान लिएर अर्को घर बनाएर बस्छन्। फेरि अर्को छोराको बिहे हुन्छ। त्यो घर पनि ती छोराबुहारीलाई दिएर बाँकी सन्तानसहित बुबाआमा अर्को घरमा सर्छन्। एवंरीतले सबै सन्तानको बिहे गर्दिएपछि बुबाआमा गुम्बा वरिपरि टहरो बनाएर माला जपेर, माने र गुम्बा घुमेर दिन कटाउने उनीहरूको भनाइ छ।

बुढेसकालमा घरव्यवहारको तनाबबाट मुक्त हुन घर छाडेर पर गएर बस्ने चलन रहेको ७० वर्षका छिरिङ नुर्बु बताउँछन्। ‘घरमा बसेपछि जहान परिबारको धेरै कुरा सुन्नुपर्छ। कहिले राम्रो हुन्छ, कहिले नराम्रो पनि हुन्छ। खेतबारीको काम गर्नुपर्छ’, उनी भन्छन्, ‘अहिले काम गर्न सक्दैन। त्यही भएर मनमा शान्ति मिलोस् भनेर यहाँ आएर बसेको हो। यहाँ आनन्द छ।’ यहाँ आएपछि गाउँ फर्केर नगएको उनी बताउँछन्।

यहाँ खाना पकाउने पानी र दाउराको आफैंले जोहो गर्नुपर्ने, खाद्यान्नलगायत सामग्रीको जोहो छोराबुहारीले गरिदिने गर्छन्। 

बालबच्चा पढ्न सहरतिर र बुबाआमा माने घुम्न हिनाङमा जाने भएपछि गाउँमा युवायुवती मात्र रहेको स्योका नाम्ग्याल लामा बताउँछन्। ‘बुबा, आमा हिनाङमा छन्। छोराछोरी पढ्न सहर गएका छन्। गाउँघरमा त हामी लोग्नेस्वास्नी मात्र छौँ’, उनी भन्छन्, ‘यहाँ त यस्तै चलन छ। बुढाबुढी गुम्बा, माने घुम्न घर छाडेर जाने चलन पुरानै हो।’ 

गाउँमा केटाकेटी पनि नहुने, बुढाबूढी पनि नहुने गरेको भने १० वर्षजति भएको उनको भनाइ छ। स्योमा मात्र होइन, यस भेगका सबै गाउँमा यस्तै चलन रहेको स्थानीयवासी बताउँछन्।

हिनाङ चुमनुब्री गाउँपालिका–२ को ३३०० मिटर उचाइमा रहेको गाउँ हो। यहाँ करिब ३० जना ज्येष्ठ नागरिक बसोबास गर्छन्। वडा नं. १ सामागाउँका ज्येष्ठ नागरिकले घरपरिवार छाडेर कक्यू छ्योलिङ गुम्बा आसपास बस्ती बसालेका छन्। वडा नं. २ को ल्हो गाउँकाले होङसाङ पु गुम्बा आसपास आश्रम बनाएर, ल्ही, स्यो, भर्जमकाले हिनाङ गुम्बाको आश्रममा बसेका वडा नं. २ का वडाध्यक्ष मिङ्ग्यूर दोर्जे लामा बताउँछन्। वडा नं. ४ का विभिन्न गाउँका ज्येष्ठ नागरिक प्रोक गाउँभन्दा माथिको उङ आसपास टहरो बनाएर बसेका वडा नं. ४ का वडाध्यक्ष पेमा ग्याल्बो लामा बताउँछन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.