हत्या आरोपमा पुनः पक्राउ

हत्या आरोपमा पुनः पक्राउ

राजविराज : सप्तरीको विष्णुपुर–५ कट्टी टोलका ५२ वर्षीय रामसुन्दर महतोको हत्या आरोपमा उनकी श्रीमती इनरवती महतो पक्राउ परेकी छन्। वैशाख २३ गते रूपनी–१ रूपनी चोकका ३८ वर्षीय मो. नसिर भनिने नजिर मियाँ पक्राउ परेका थिए। इनरवती घटना लगत्तै पक्राउ परेर छुटेकी थिइन्। अहिले पुनः पक्राउ गरी अदालतबाट म्याद थप गरिएको सप्तरी प्रहरीले जनाएको छ। 

फोन कल डिटेल (सीडीआर) रिपोर्टको आधारमा प्रहरीले इनरवतीसहित मदिरा पसले, कार्यक्रममा नाचगान गर्ने युवतीलाई घटनालगत्तै नियन्त्रणमा लिएको थियो। उतिबेला छाड्नुपरे पनि हाल इनरवतीलाई पक्राउ गरेर कारबाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी माधवप्रसाद काफ्लेले बताए।

‘पर्याप्त प्रमाणबिना मतियार, सहयोगीलाई अदालतमा पेस गर्दा शंकाको लाभमा धरौटीमा छुट्न सक्ने अवस्था हुन्थ्यो,’ काफ्लेले भने, ‘इनरवती धरौटीमा छुटेपछि मुख्य अभियुक्तसमेत अदालतमा हाजिर भई सोही आधारमा छुट्ने अवस्था हुन सक्थ्यो।’ 

नजिरलाई पक्राउ गर्न मृतककी श्रीमतीलाई तत्काल छाडिएको आरोपितले चाल पाएनन्। इनरवती छुटेपछि प्रहरीले उनको खोजी गरिरहेको मियाँले चाल पाएका थिए। त्यसपछि मियाँ भारतको विहारमा गई लुकेर बस्न थाले। प्रहरीले पक्राउ गर्न र उजुरी दर्ता गर्न खोजी रहेको थाहा पाएका मियाँले भारतबाटै एसपीसँग फोनमा हत्या स्वीकार्दै आफूलाई पक्राउ गर्न चुनौती दिएका थिए। भारतमा लुकेर बसेका कारण प्रहरीले मियाँलाई पक्रन सकिरहेको थिएन। सप्तरी प्रहरीले भारतीय प्रहरीलाई यसबारे जानकारी गराएर सहयोग मागेको थियो। 

स्थानीय निर्वाचन नजिकिएपछि उम्मेदवारहरूलाई सहयोग गर्ने बहानामा राजनीतिक संरक्षण लिएर नेपाल भित्रिएको सूचना पाएको सप्तरी प्रहरीले नेपाल–भारत सीमा नजिकै बोदे बर्साइन नगरपालिकाबाट मियाँलाई पक्राउ गरेको थियो। 

मियाँ र डाक्नेश्वरी नगरपालिका–७ ब्रहमपुरका ३० वर्षीय रोशन साह महतोले नै महतोको हत्या गरेको र इनरवतीको समेत संलग्नता रहेको प्रहरी अनुसन्धानले देखाएको छ। महतो बिहेको लगनका बेला हुने भोजभतेरमा खाना पकाउने काम गर्थे भने अरू बेला तरकारी बिक्री गर्थे।

आरोपित मियाँ भने जनतान्त्रिक तराई मुक्ति मोर्चा गोइत समूहमा आबद्ध थिए। मोर्चाको गतिविधि लुकिछिपी गर्न उनले महतोको घरलाई बस्ने आश्रयस्थलका रूपमा प्रयोग गर्थे। यसै क्रममा मियाँ र इनरवती नजिकिएका थिए।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.