पालिकामै छैन, मावि स्थायी दरबन्दी

पालिकामै छैन, मावि स्थायी दरबन्दी

गोरखा : दुर्गममा रहेको चुमनुब्री गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष निमा लामा तथा संघीय सांसद हरिराज अधिकारीले शिक्षामन्त्री देवेन्द्र पौडेलसमक्ष पालिकाभित्र सञ्चालनमा रहेका विद्यालयलाई स्थायी स्वीकृति प्रदान गरिदिन माग गरेका छन्।  साथै, सो गाउँपालिकामा सञ्चालित आवासीय विद्यालयहरूमा हिमाली आवासीय छात्रवृत्ति कोटा बढाउन मन्त्री पौडेलले ध्यानाकर्षण गरे। 

दुर्गमका विद्यार्थीले पढ्न पाउने अधिकार सुनिश्चितताका लागि पहल गर्न आफूहरूले मन्त्रीको ध्यानाकर्षण गरेको अध्यक्ष लामाले बताए। ‘अहिले हाम्रो पालिकामा ४२० वटा हिमाली आवासीय छात्रवृत्ति कोटा छ। यसमा तत्काल २ सय थप गर्न माग गरेका छौं,’ लामाले भने, ‘भौगोलिक रूपमा विकट, सडक सञ्जाल नजोडिएको पालिका भएकाले चुमनुब्रीका विद्यार्थीलाई विद्यालय आउजाउमा निकै समस्या छ। बढ्दो विद्यार्थीको चापको आधारमा अहिले भएको कोटाले माग धान्न चुनौती छ।’ 

गाउँपालिकामा सञ्चालित बुद्ध मावि पुग्न विभिन्न बस्तीबाट विद्यार्थीलाई २ दिनसम्म लाग्ने भएकाले आवासीय छात्रवृत्ति कोटा बढाउनु जरुरी रहेको उनको भनाइ छ। सो गाउँपालिकामा कक्षा १० सम्म पढाइ हुने दुईवटा विद्यालय छन्। स्थानीयहरूको पहलमा वडा–३ को वुद्ध मावि र वडा–२ को ल्हो माविमा कक्षा १० सम्म पढाइ हुन्छ। वडा–४ गपस्थित नुब्री आधारभूत विद्यालयमा कक्षा आठसम्म पढाइ हुन्छ।

२२ वटा विद्यालय रहेको त्यहाँका १९ वटामा कक्षा ५ सम्म मात्रै पढाइ हुन्छ। यी सबै विद्यालयमा गरी १ हजार १५० जना विद्यार्थी अध्ययनरत छन्। आर्थिक अवस्था कमजोर भएका, अविभावक नभएका, धेरै टाढाबाट विद्यालय धाउनुपर्ने विद्यार्थीहरूलाई प्राथमिकतामा राखेर छात्रावासलाई थप व्यवस्थित बनाउने गाउँपालिकाको योजना रहेको लामाले बताए। चुमनुब्रीको समस्या समाधान गर्न मन्त्री पौडेल सकारात्मक रहेको र तत्काल छात्रवृत्ति कोटा थप गर्ने आश्वासन दिएको उनले बताए।

कक्षा १० सम्म सञ्चालन भए पनि दुवै माध्यमिक विद्यालयमा सो तहको शिक्षक दरबन्दी छैन। ‘निमावि तहमा एउटा स्थायी दरबन्दी छ,’ गाउँपालिकाका शिक्षा शाखा प्रमुख बलराम पाठकले भने, ‘४६ जना प्रावि तहको दरबन्दीमा शिक्षक हुनुहुन्छ। अन्य सबै रिक्त छ।’ सरकारी स्थायी दरबन्दी नपाएपछि पालिकाले मावि राहत दरबन्दीमा ४ जना र निमावि राहत दरबन्दीमा २ जना शिक्षकको व्यवस्था गरेको छ। ‘यही जनशक्तिबाट पठनपाठन चलिरहेको छ,’ पाठकले भने। 

शिक्षा ऐन, नियमावलीमा हिमाली क्षेत्रका एउटा कक्षामा औसतमा २५ जना विद्यार्थी हुनुपर्ने बाध्यकारी व्यवस्था गरेकोे छ। ‘यो नियमले चुमनुब्री जस्तो दुर्गम ठाउँमा दरबन्दी थपिँदैन,’ गाउँपालिकाका अध्यक्ष लामाले भने, ‘भौगोलिक विकटता भएको ठाउँमा विद्यार्थी अनुपातमा भन्दा दूरीको आधारमा दरबन्दी दिने व्यवस्था गर्नुपर्छ।’ 

एउटा कक्षामा २५ जना पुर्‍याउन सक्ने अवस्था दुर्गममा नहुँदा विद्यालयलाई स्थायी दरबन्दी दिनुपर्ने अध्यक्ष लामाले पेस गरेको ज्ञापनपत्रमा उल्लेख छ। 

लामाका अनुसार कतिपय कक्षा १० सम्मका विद्यालयमा ४० जना विद्यार्थी छन्। उनी एउटै कक्षामा २५ जना पुर्‍याउन सम्भव छैन। उनले भने, ‘अर्को विद्यालयमा जान दिनभरी समय लाग्छ। त्यहाँ दरबन्दी नदिने हो भने विद्यालय चलाउन मुस्किल पर्छ।’ चुमनुब्री गाउँपालिका–३ को बुद्ध मावि आवासीय विद्यालय हो। त्यहाँ ५ सयभन्दा बढी विद्यार्थी पढ्छन्। ल्हो माविमा करिब ९÷१० मा १ सय हाराहारी विद्यार्थी छन्। ‘गाउँपालिकाको बजेटबाट शिक्षकको गुणस्तर बढाउन केही बजेट विनियोजन भइरहेको छ,’ पालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमसेन श्रेष्ठले भने, ‘दरबन्दीपूर्ति भए त्यो बजेट विद्यालयको भौतिक, प्राविधिक, आधुनिक शिक्षक सिकाइको क्षेत्रमा खर्च गर्न सकिन्थ्यो।’
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.