समुन्नतिका लागि सही पात्र

समुन्नतिका लागि सही पात्र

मानिस खाली अहम्को परिवेशमा मात्र सीमित रहनु हुँदैन। उसले यस्तो बाटो र साधनको अवलम्बन गर्नुपर्छ, जसबाट मानव समाजको अधिकतम सेवा गर्न सकियोस्। सन् १८३५ मा युवा चिन्तक कार्ल माक्र्सले लेखेको निबन्ध ‘व्यवसायको छनोटमा एउटा युवाका विचारहरू’ भित्रका वाक्य हुन् यी। बौद्धिक र काल्पनिक उनको यो युवा क्षमताले समकालीन समाजलाई व्यापक विचार र दर्शन दिएको छ। यसले आज पनि के स्पष्ट पार्छ भने मानिस ठूलै पदमा पुगे पनि यदि उसले आफू र आफ्नालाई मात्र गर्छ भने ऊ महान् व्यक्ति बन्न सक्दैन। माक्र्सले यस्तो चरित्रबाट मानिस महान् बन्न नसक्ने भनेर औंल्याए, दुर्भाग्यवश त्यही प्रवृत्ति नेपाली राजनीतिमा हाबी छ। राजनीतिक दल र तिनका अधिकांश नेतामा देखिएको यो चरित्रले नै मुलुक आजसम्म उँभो लाग्न सकेन। 

प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र जे आए पनि भुइँमान्छेको हविगत उस्तै छ। राज्यले ‘आवाजविहीनहरूको आवाज’ कहिल्यै सुनेन।

जनप्रतिनिधि बनेर जो कोही व्यक्ति जुनसुकै पदमा पुगोस् तर उसले आफू र आफ्नाबाहेकका लागि गरोस्। अनि मात्र जनताले चाहेको शासन पाउनेछन्। पदमा पुगेर जनप्रतिनिधिले जीवनमा यस्तो कार्य गरुन् कि ती मानवहितमा अत्यधिक उपयोगी होउन्। त्यस्ता कामहरू गरुन्, जुन भीडमा पनि स्पष्ट देख्न सकियोस्। जसले बहुसंख्यक मानिसका निम्ति ‘सुखको सृष्टि’ गर्न सकोस्। ‘तुच्छ र अहम्वादी सोच र त्यसले उब्जाएका शब्दहरूको गालीमा रमाउनेले आफ्नो जीवन आफैं समाप्त पार्दै लैजान्छ’ कार्लमाक्र्सले भनेजस्तो दोस्रो स्थानीय निर्वाचन २०७९ ले अहम्वादी र तुच्छ सोच भएका पार्टी र पात्रलाई सबक सिकाएको छ। अर्कोतिर जनमतले त्यस्ता स्वतन्त्र उमेदवारलाई जिम्मेवारी सुम्पेको छ, जसले आफूलाई पृथक् पहिचान भएको साबित गर्न सके। यद्यपि तिनका काम पाँचवर्षे कार्यकालमा मूल्यांकन गर्न बाँकी छ।

‘ढुंगाभन्दा पानीमा बढी सिर्जनशीलता हुन्छ। पानीभन्दा वायुमा बढी सिर्जनशीलता हुन्छ। वायुभन्दा प्रकाशमा बढी सिर्जनशीलता हुन्छ। प्रकाशभन्दा अणुमा बढी सिर्जनशीलता हुन्छ। अणुभन्दा परमाणुमा बढी सिर्जनशीलता हुन्छ। परमाणुभन्दा मानिसको मस्तिष्कमा बढी सिर्जनशीलता हुन्छ। मानिसको मस्तिष्कभन्दा बढी मन सिर्जनशील हुन्छ, शक्तिशाली हुन्छ।’ पूर्वीय दर्शनको यो निचोड देश हाँक्ने युवामा प्रतिविम्बित हुनुपर्छ अब। उनीहरू ढुंगाबाट पानीमा रूपान्तरित हुनुपर्छ आउँदा दिनमा। अनि क्रमशः पानीबाट वायु, वायुबाट प्रकाश, प्रकाशबाट अणु, अणुबाट परमाणु, परमाणुबाट मस्तिष्क अनि मन भएर सिर्जनशीलको ‘चरम रूप’मा पुग्नुपर्छ। किनकि नेपालमा जति व्यवस्था फेरिए पनि नेपालीका दुःख फेरिएनन्। मानिसमा सोच फेरिएन र त विकासको नयाँ मुहार देख्न पाइएन। विश्व परिवेश हेर्दा पनि ‘पार्टी’भन्दा ‘पात्र’को पछि लाग्नुपर्ने अवस्था अनुभूत भएको छ। खासगरी नेताको बोली र व्यवहार फरक हुँदा जनताले सास्ती पाइरहेका छन्। व्यवहार संस्कारसँग जोडिएको हुन्छ। पारिवारिक र सामाजिक संस्कारको जगमै हामी नेपाली चुकिरहेका छौं कि ? संस्कार संस्कृतिसँग अनि संस्कृति प्रकृतिसँग अन्तरसम्बन्धित हुन्छ। त्यसैले त कोही पनि प्रकृतिविरुद्ध जान सक्दैन। मुख्यतः नेपाली राजनीतिका नेतृत्वहरू प्रकृतिविरुद्ध गएको भान हुन्छ। किनकि प्रकृतिविरुद्ध जानु भनेको संस्कार र संस्कृति भत्काउनु हो। त्यसैले ‘सही पात्र’ समाउनुपर्ने सबक समयले सिकाएको छ। भनिन्छ, सदाचार चरित्रमा र सुशासन कर्ममा झल्कन्छ। जनप्रतिनिधि बनेका वडाध्यक्षदेखि उपाध्यक्ष, अध्यक्ष, उपमेयर, मेयर हुँदै सांसद, मन्त्री र प्रधानमन्त्रीसम्ममा सदाचार र सुशासनको झल्को पाउन अपवादबाहेकमा ‘टर्चलाइट’ बाल्नुपर्ने अवस्था छ। यो अवस्था सरकारी कर्मचारीका सबैजसो पदमा छ। केही कर्मचारी पनि अपवादमा होलान्। राजनीतिक नेतृत्व सक्षम भए कर्मचारीतन्त्र सुध्र्रन्छ भन्ने उदाहरण केही देशमा देखिएको छ। त्यसैले धमिलिएको राजनीतिक मुहान सफा गर्नु जरुरी भइसकेको छ। उच्च शिक्षा ग्रहण गर्दैमा, ठूलो पदमा पुग्दैमा वा कुलिन घरमा जन्म लिँदैमा मानिसमा सदाचार र सुशासन प्रतिविम्बित हुन्छ भन्ने छैन। त्यो त उसमा जागृत चेतना र चिन्तनबाट मात्र सम्भव छ। यी सबैको जग भनेकै समाज हो। सामाजिक वातावरण स्वच्छ बनाउन सके मात्र हामीले सोचेको समृद्धिको संसार सम्भव छ। त्यसको नेतृत्व हामी सबैले गर्ने हो। 

अरूलाई दोष देखाएर र गाली गरेर आफू ‘सभ्य’ र ‘भव्य’ हुने प्रवृत्तिविरुद्ध ‘हामी’ उभिन सकेमात्र नेतृत्वमा सही ‘पात्र’ पुग्नेछन्।

राजनीतिबिना देश विकास सम्भव छैन। त्यसका लागि नेता चाहिन्छ। विडम्बना नेता धेरै जन्मिए तर राजनेता कम। जनता राजनेता खोजिरहेछन्। यद्यपि यो यथार्थ नपाउँदा जनतामा छटपटी छ। जनता भेडा हुन् भन्ने आरोपित शब्दविरुद्ध जनता स्वतन्त्र तर सही राजनेताको छनोट यात्रामा छ। काठमाडौं महानगरमा बालेन साह हुन् वा धरान, धनगढी र जनकपुर उपमहानगरमा क्रमशः हर्कराज राई, गोपाल हमाल र मनोज साह। जनताले राजनीतिक दलभन्दा स्वतन्त्र पात्रलाई छनोट गरेका छन्। यसले राजनीतिक दललाई सबक सिकाएको छ। दलका कार्यकर्तादेखि नेता र शीर्षनेतासम्मलाई पाठ पढाएको छ। अब पनि दलहरूले आमनागरिकको भावना बुझ्न सकेनन् भने जति वर्ष जेल बसे पनि वा विरासतको ठूलै भारी बोके पनि जनताले पत्याउनेवाला छैनन् भन्ने पुष्टि भएको छ। सही राजनीतिक यात्रा गर्न जोकोहीलाई स्वतन्त्र उमेदवारको जित स्पष्ट संकेत हो। यद्यपि बहुदलीय व्यवस्था भएकाले नागरिकले ‘पार्टी’भित्र पनि ‘पृथक् पहिचान भएको पात्र’ रोज्न सक्नेछन् ताकि नेताहरूले अबका दिनमा पृथक् काम गरेर आफूलाई सही पात्रमा रूपान्तरण गर्न सकुन्।

जनताले राजनीतिक मूल्यांकन कसरी गर्छन् भन्ने उदाहरण फेसबुक स्टाटसमा छरप्रस्ट हुन थालेका छन्। वैशाख ३० मा सम्पन्न निर्वाचनमा चुनिएका जनप्रतिनिधिलाई दिएको सुझावको एउटा नमुना। ‘तपाईंहरू अब सबैको साझा मान्छे। हिजो निर्वाचनमा जाँदासम्म पार्टीको तर्फबाट उम्मेदवार तर निर्वाचित भएपछि सम्बन्धित निकायको साझा मान्छे। पाँच वर्षपछि फेरि राजनीति गर्छु भन्ने लाग्छ भने यहाँहरू पार्टीभन्दा माथि उठेर नागरिकको सेवा गर्नु हुनेछ। ‘ठीकै छ पाँच वर्षलाई हो’ भन्ने लाग्छ भने मनलाग्दी गर्नुहोस्। कति नागरिकको सेवा गर्नु भएछ भनेर पाँच वर्षपछि तपाईंहरूको परीक्षा हुनेछ।’ यो फेसबुक स्टाटस राजनीति गर्ने सबैले बुझेर चिन्तनमनन पनि गर्ने कि ? यहाँ त जोन माक्सवेलले भनेजस्तो हावाको गुनासो गर्नेजस्ता निराशावादी नेताले परिवर्तनको पक्षमा पाइला चाल्न नसकेर देशले गति लिन नसकेको देखिन्छ। यसको पुनरावृत्ति नहोस्। कतिसम्म भने संविधानले नागरिक बनाए पनि नेताको व्यवहार ‘जनता’ कै छ। लोकतान्त्रिक व्यवस्था भनिसकेपछि जनतालाई ‘नागरिक’का रूपमा हेर्ने कि ?

नेपाल विकासोन्मुख देश हो। तर, व्यवहार विकसित देशको जस्तो गर्न सम्भव छ। ‘ग्लोबल भिलेज’ बनेको विश्वका हामी २१औं शताब्दीको अत्याधुनिक सूचना–प्रविधिको युगमा छौं। के विकसित देशमा जस्तो नागरिकलाई ‘सम्मान’ गर्न सकिन्न ? नेतृत्व र कर्मचारीतन्त्रले यदि ‘पद’लाई होइन ‘स्वतन्त्र अस्तित्व’लाई सम्मान गर्ने हो भने ‘समृद्धि’को बिज रोपिनेछ। कर्मचारीतन्त्र सेवाग्राहीको सम्मान गर्न सक्दैन। न जनप्रतिनिधि वा मन्त्रीले कर्मचारीतन्त्रलाई आफू उदाहरण बनेर यो पाठ सिकाउने हिम्मत गर्छन्। चुनाव जित्नुअघि ‘जिरो’ भएर प्रस्तुत हुनेहरू जितेपछि आफूलाई ‘हिरो’ ठान्ने प्रवृत्ति समुन्नत समाजका लागि ‘घातक’ छ। नेता र कर्मचारी दुवैमा सरलता, निष्पक्षता, पारदर्शिता र सेवाभाव भयो भने मात्र समृद्धिले पाइला चाल्नेछ। अन्यथा, समृद्धि सपनामा सीमित हुनेछ।

भनिन्छ, जहाँ दृष्टिकोण हुँदैन त्यहाँ मान्छेको विनाश हुन्छ। अझ सरकार हाँक्छु भनेर चुनाव जित्नेहरूमा ‘दृष्टिकोण’ भएन भने के होला ? यसअघि ७ सय ५३ स्थानीय सरकारको नेतृत्वमा पुग्नेहरू कतिमा ‘दृष्टिकोण’ देखियो, अनुसन्धान आवश्यक छ। उनीहरूले संघीयता कार्यान्वयनको पहिलो पाँच वर्ष जे सके गरे भनेर हुँदैन। अनेक कोणबाट पहिलो कार्यकालको अनुसन्धान ग¥यौं भने मात्र तेस्रो, चौथो, पाँचौं... कार्यकालमा सही पात्र छनोट गर्न नागरिक सक्षम हुनेछ। देश बन्न ‘सही पात्र’बाट मात्र सम्भव छ। वारेन बेनिसले भनेका छन्, ‘दृष्टिकोणलाई यथार्थमा बदल्न सक्ने क्षमता नेतृत्व हो।’ तर विडम्बना, नेपाली समाजमा ‘आविष्कारक’ हुनुपर्ने ‘नेता’ ‘अनुयायी’ लाग्छन्। आफ्नो र आफ्नाको सेवा गर्नेहरूले सामाजिक सद्भाव र वातावरण नै खल्बल्याइदिएका छन्। त्यसैले अब ‘मानव समाजको अधिकतम सेवा’ गर्ने नेतृत्व चाहिएको छ। आजसम्म पार्टीमा भक्ति राखेर वर्ष होइन नेपालीले दसकौं बिताए। अब ‘स्वतन्त्र पात्रहरू’ नै सही तर नेपाललाई समृद्ध बनाउने सही पात्र र गुणस्तरीय प्रवृत्ति भएकालाई रोजौं। जसले नागरिकको भावना कुल्चिने छैनन्, सम्भवतः जनचाहना र आवश्यकताअनुसार काम गरेर परिणाम देखाउनेछन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.