दलाई लामाको जन्मोत्सवमा सामागाउँमा वृक्षारोपण
गोरखा : बौद्ध धर्मावलम्बीहरुको धर्मगुरु चौधौँ दलाई लामाको ८७ औँ जन्मोत्सवको अवसरमा गोरखाको मनास्लु क्षेत्रमा वृक्षारोपण गरिएको छ ।
चुमनुब्री गाउँपालिका १ सामागाउँमा पिक एड जापानको आर्थिक सहयोग तथा एमआरटीएफएन नेपाल र मीड फाउण्डेशनको संयुक्त पहलमा बुधबार वृक्षारोपणका लागि स्थानीय प्रजातिका १४ हजार विरुवा वितरण गरिएको मिङ्मार छिरिङ लामाले बताए ।
'आज बौद्ध धर्मगुरु दलाइ लामाको जन्मदिनको शुभ साइत पारेर स्थानीयबासीहरुले वृक्षा रोपण गरेका हुन्,' उनले भने, ‘विश्व शान्ति, पृथ्वीको सम्पूर्ण प्राणी जगतको शान्ति र वातावरण संरक्षण गर्न मद्दत पुगोस् भन्ने कामना गर्दै वृक्षारोपण गरिएको हो ।’
हाइअल्टिच्यूडमा हुने स्थानीय सल्लो जातको वृक्षारोपण गरिएको लामाले बताए । मनास्लु क्षेत्रको ३३०० देखि ३५०० मिटर उचाइको भू-वनोट र शीतोष्ण हावापानीमा वातावरण सन्तुलन राख्न र हराभरा बढाउन स्थानीयबासीले वृक्षारोपण गरेका हुन् ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सामाजिक संघसंस्थाहरुको सहयोगमा स्थानीयबासीले वृक्षारोपण गरेको लामाले जानकारी दिए ।
सहयोगी संस्थाले वृक्षारोपणका लागि सामागाउँका करिब एकसय ५० घरधुरीलाई प्रतिघर एकसय २० वटाका दरले विरुवा वितरण गरेको उनले बताए ।
ठूला रुख विरुवा कम भएको सो क्षेत्रमा विगत सात वर्षअघिदेखि वृक्षारोपण गरिँदै आएको मिड फाउण्डेशनका सदस्य लामाले जानकारी दिए ।
‘पीक एड जापानको आर्थिक सहयोग तथा एमआरटीएफएन नेपाल र मीड फाउण्डेशनको संयुक्त पहलमा यहीँ नर्सरी बनाएर विरुवा उत्पादन गरी विगत सात, आठ वर्षअघिदेखि वृक्षारोपण गर्दै आएका छौं,' उनले भने, ‘अब घर तथा फर्निचर बनाउने काठ तथा दाउराको समस्या नहुने विश्वास गरेका छौँ ।’
प्रतिक्रिया दिनुहोस !