दिनदहाडै गोली हान्ने अभियुक्तलाई सफाइ दिने न्यायाधीश सर्वोच्च तानिए
जनकपुरधाम : दिनदहाडै गोली ठोकेर हत्या गरेको अभियोग लागेका अभियुक्तलाई पूर्ण सफाइ दिएका न्यायाधीश डा. परशुराम भट्टराई अनुसन्धानका लागि सर्वोच्च अदालत तानिएका छन् ।
गोली ठोकेर मान्छे मारेको अभियोगमा आजीवन कैद सजाय माग गरिएको हत्या आरोपीलाई धनुषा जिल्ला अदालतलका न्यायाधीश डा. परशुराम भट्टराई अनुसन्धानका लागि सर्वोच्च तानिएका हुन् ।
जिल्ला अदालतका न्यायाधीश डा. भट्टराईको एकल इजलासले घटनाका अरोपित दामोदर चौधरी ‘पंकज’लाई सफाइ दिएपछि अनुसन्धानका लागि सर्वोच्चले काजमा झिकाएको हो ।
घटनालगत्तै लुकेर बसेको अवस्थामा हतियारसहित पक्राउ परेका हत्या आरोपी ‘पंकज’भनिने दामोदर चौधरीलाई अदालतले सफाइ दिएको समाचार प्रकाशन/प्रसारण भएपछि न्यायाधीशलाई सर्वोच्च तानिएको श्रोतले जानकारी दिएको छ ।
इजलास बहिष्कार
नेपाल बार एसोसिएसन जनकपुरले पनि धनुषा जिल्ला अदालतका न्यायाधीश भट्टराईको इजलास बहिष्कार गर्ने निर्णय गरेको छ । अधिवक्ता अनिल सदाका अनुसार जनकपुर बाराको बैठकले जिल्ला न्यायाधीश भट्टराईको इजलास अनिश्चितकालका लागि बहिष्कार गर्ने निर्णय भएको हो ।
त्यसैगरी उनले गरेका सम्पूर्ण विवादित फैसलाहरू संकलन गरेर छानबिनका लागि सर्वोच्च अदालत र न्याय परिषद् सचिवालयमा पठाउने निर्णय भएको छ । जनकपुरका पेट्रोल पम्प व्यवसायी मनोज साहलाई गोली प्रहार गरी हत्या गरेको अभियोगमा रंगेहात पक्राउ परेका पंकज भनिने दामोदर चौधरीसहित ३ प्रतिवादीलाई भट्टराईले सफाइ दिएका थिए ।
पक्राउ परेका अभियुक्त चौधरीलाई प्रहरीले २ थान पेस्तोल र २२ राउन्ड गोलीसहित पक्राउ गरेको थियो । २०७६ मंसिर १ गते दर्ता भएको मुद्दामा न्यायाधीश भट्टराईले अभियोगको दाबी नपुग्ने भन्दै सफाइ दिएएका थिए। २०७६ कार्त्तिक ६ गते लक्ष्मिनियाँ गाउँपालिका वडा नं. ४ का स्थायी तथा जनकपुरधाम उप–महानगरपालिका १ मा बस्दै आएका मनोज कुमार शाहको गोली प्रहार गरी हत्या गरिएको थियो ।
त्यसैगरी हत्या, बलात्कार तथा लागुऔषधका मुद्दामा समेत उनले सफाइ दिएको भन्दै जनकपुर बारले उनको इजलास बहिष्कार गर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया दिनुहोस !