सेनाद्वारा सडक हस्तान्तरण

सेनाद्वारा सडक हस्तान्तरण

गोरखा : पृथ्वी राजमार्गको बेनीघाटदेखि तिब्बतको रुइला नाकासम्म जोड्ने उद्देश्यले निर्माण हुँदै गरेको बेनीघाट, आरुघाट लार्के सडकको १८ किलोमिटर खण्ड सडक योजना कार्यालयलाई हस्तान्तरण गरिएको छ। एक कार्यक्रमको आयोजना गरी सोमबार सडक निर्माण कार्यदलका प्रमुख मेजर विनोद भट्टले कार्यालयका प्रमुख पशुपति ज्ञावलीलाई हस्तान्तरण गरेका हुन्। 

धार्चे गाउँपालिका–७ हावाडाँडादेखि सोही पालिकाको वडा–३ दोभानसम्मको उक्त खण्ड सोमबार ११ किलो छेपेटार भालुस्वाँरा बारपाक सडक आयोजना कार्यालयलाई हस्तान्तरण गरिएको मेजर भट्टले बताए। हावाडाँडादेखि लार्के भञ्ज्याङसम्मको ९२ किलोमिटरमध्ये अझै ७४ किलोमिटर सडक भने निर्माण गर्न बाँकी छ। 

दोभानबाट माथि १४ दशमलव ५ किलोमिटर सडकको ट्र्याक खोलिसकिएको छ भने करिब ६० किलोमिटर सडकको ट्र्याक खोलिएको छैन। सहज रूपमा सवारीसाधन आउजाउ गर्न मिल्ने भएको र स्थानीयको मागका आधारमा पनि सेनाले निर्माण पूरा भएको १८ किलोमिटर सडक हस्तान्तरण गरेको जनाएको छ। सेनाले अहिलेसम्म हावाडाँडादेखि पाङसिङसम्मको ३२ दशमलव ५ किलोमिटर सडकको ट्र्याक खोलिसकेको जनाएको छ। ‘१८ किलोमिटर सडकमा अहिले मोटर कुद्ने भएको छ। त्यहाँदेखि माथिको खण्डमा ग्रेड मिलाउनुपर्ने, केही काम बाँकी छ,’ प्राविधिक सेनानी भट्टले भने, ‘यो पनि छिटो काम सकेर हामी हस्तान्तरणको प्रक्रियामा जानेछौं।’

कार्यक्रममा गोरखा क्षेत्र नम्बर १ का सांसद हरिराज अधिकारीले उक्त खण्ड नियमित सवारीसाधन चल्ने बनाउन सडक आयोजना कार्यालयको ध्यानाकर्षण गराए। साथै उनले उक्त सडक लार्के भञ्ज्याङसम्म जोडिँदा उत्तरी गोरखाका जनताका लागि सुविधा हुने हुँदा छिटो निर्माण गर्नुपर्नेमा जोड दिए। भौगोलिक विकटता रहेको क्षेत्रमा धेरै समस्याका बीच पनि सेनाले सडक निर्माण गर्न सफल भएको उनले बताए। 

पृथ्वी राजमार्गको बेनीघाटदेखि तिब्बतको रुइला भञ्ज्याङ जोड्ने सो सडकको हावाडाँडादेखि माथिको खण्ड निर्माण गर्न सडक विभागले मन्त्रिपरिषद्को निर्णयअनुसार २०७३ मंसिर २६ गते सेनालाई जिम्मा दिने निर्णय गरेको थियो। सोही निर्णयअनुसार २०७४ वैशाख ११ गतेबाट सेनाले ट्र्याक खोल्न सुरु गरेको प्राविधिक सेनानी भट्टले बताए। 

सो सडक निर्माण सम्पन्न नहुँदा गोरखाको चुमनुब्री गाउँपालिकामा अझै गाडी पुग्न सकेको छैन। ‘सडकको ट्र्याकले चुमनुब्री गाउँपालिकालाई छोएको छ। मंसिरसम्म हामी सिर्दिबासमा गाडी पुर्‍याउने योजनामा छौं,’ सेनाका प्राविधिक सेनानी विनोद भट्टले भने। अहिले विभिन्न तीनवटा क्याम्पमा रहेर करिब १५० जनाले काम गरिरहेका छन्। 

बेनीघाट–आरुघाट–आर्खेत सडक निर्माणको काम २०५२ सालदेखि सुरु भएको हो। २०६३-६४ मा बेनीघाट–लार्केभञ्ज्याङ सडक नामाकरण गरी सडक निर्माणको काम सुरु भएको थियो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.