चुनावी गणितमा अल्झिने दलहरूसित एकता अकल्पनीय: डाक्टर भट्टराई

चुनावी गणितमा अल्झिने दलहरूसित एकता अकल्पनीय: डाक्टर भट्टराई

गोरखा : पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले आफूहरू नयाँ पार्टी निर्माणमा लागेको बताएका छन्। 

पुराना पार्टीहरूसित यही अवस्थामा एकता नहुने भन्दै उनले नयाँ पार्टी निर्माण गरेर अघि बढ्ने बताएका हुन्।

'हामी वैकल्पिक नयाँ पार्टी नै बनाउँदैछौँ, कुनैपनि पुराना पार्टीहरूमा गएर मर्ज हुने त हामी परिकल्पना गर्नै सक्दैनौं, त्यो त विकल्प हुँदैहुँदैन', अन्नपूर्णपोष्टसँगको कुराकानीमा उनले भने, 'तर यति हुँदाहुँदै पनि यदि पुराना पार्टीहरू पनि रुपान्तरित भएर नयाँ ढंगले अगाडि आउँछन् भने नयाँ वैकल्पिक समाजवादी केन्द्र बन्न सक्छ।'

समाजवादी धार निर्माण गर्ने आफूहरूको लक्ष्यमा पुराना कम्युनिष्ट पार्टीहरू रुपान्तरित भएर आउन सक्ने उनले बताए। 

'हिजो जुन खास सन्दर्भमा निर्माण भएका नेकपा एमाले, माओवादी र अन्य साना दलहरू जुन छन्। तिनीहरूको पनि त्यही रूपको अस्तित्व लामो रुपमा रहन सक्दैन', उनले भने। प्रकारान्तरमा तिनीहरू पनि कि त समाजवादी पार्टीमा रुपान्तरित हुनुपर्छ वा नयाँ समाजवादी केन्द्रतिर आउनुपर्ने उनको भनाइ छ। 'नत्र कम्युनिष्ट पार्टीकै रूपमा धेरै लामो समयसम्म रहन सक्छन् जस्ताचाहिँ मलाई लाग्दैन। कम्युनिष्ट पार्टीहरू रुपान्तरण भएर आए भने साझा समाजवादी केन्द्र बन्न सक्छ। त्यो प्रयत्न गतवर्षदेखि नै आफूले गरेको, विभिन्न चरणमा वार्ताहरू पनि भएका छन्', उनले भने।
 
चुनावी गणितमा अल्झिरहने अरु दलहरूको कम्युनिष्ट ब्राण्ड नाम भएको र त्यतातर्फ जनताको अलिअलि आकर्षण र अलिअलि भ्रम रहेको भन्दै उनले त्यसबाट मुक्त भएर कम्युनिष्ट ब्राण्ड छाडेर सैद्धान्तिक रुपमा आएमा समाजवादी केन्द्र बनाउने बारे सोच्न सकिने उनले बताए। 

आवश्यकताअनुसार चुनावी तालमेल, सहकार्य भने जोसित पनि हुनसक्ने उनले बताए।  

'आवश्यकता र औचित्यताका आधारमा चुनावी तालमेल कांग्रेस, एमाले, माओवादी जोसित पनि हुनसक्छ', उनले भने, 'तर तर तत्काल पुरानै पार्टीसित मर्ज भएर जाने त सम्भावना छैन।' 
उनले मूलपार्टी अहिले पनि देशव्यापी रुपमा भएको र यो बीचमा विभिन्न समूहहरू एकठाममा आएको बताए। 

'आन्तरिक ध्रुवीकरण त होला, तर हाम्रो मूल संरचना, जुन हिजो पनि थियो, त्यो त देशव्यापी रुपमा छँदैछ। केही दिनभित्र त्यसलाई पुनसंरचना गरिहाल्छौँ। त्यसमा हामीलाई समस्या पर्दैन', उनले भने। 

अहिलेको गठबन्धनको सरकार पनि एउटा विशिष्ट अबस्थामा बनेको भन्दै उनले स्थानीय चुनावको गठबन्धनको नतिजाका कारण आउँदो निर्वाचनसम्म यही गठबन्धन यही रुपमा रहिरहन्छ भन्नेमा विश्वस्त नरहेको उनको भनाइ छ।

तत्काल नभए पनि प्रकारान्तरमा नेपाल पनि श्रीलंकाको बाटोमा जाने उनले अनुमान गरेका छन्। 

'व्यापार घाटा प्रत्येक बर्ष १५ खर्बभन्दा धेरै छ, विदेशी ऋण १९ खर्बभन्दा धेरै भइसकेको छ, तरलताको अभाव निरन्तर बढिरहेको, मुद्रास्फिति त्यही ढंगले चुलिँदै गएको र मुद्राको दर पनि अहिलेसम्मकै सबैभन्दा गिरेको अबस्था छ', उनले भने, 'सबै हिसाबले मुलुकको अर्थतन्त्र गम्भीर ढंगले संकटमा छ। त्यसैले अहिल्यै त नभनौँ, यदि बेलैमा यस अबस्थालाई हस्ताक्षेप गरिएन भने, सुधारको दिशामा गएन भने छिट्टै, केही समयपछि, केही बर्षपछि देश श्रीलंकाको दिशामा जान सक्छ भन्ने मलाई लाग्छ।'

मित्र शक्ति राष्ट्रहरूको नेपाल दौडधुपले गर्दा नेपाल भूराजनीतिक संकटको भूमरीमा फँस्न सक्ने उनको अनुमान छ। 

'हाम्रा छिमेकीहरू र महाशक्ति अमेरिकाका पदाधिकारीहरूका दौडधुप अनि यस्तो अबस्थामा हाम्रा नेताहरू देशमुखी हुनुभन्दा पनि कोही उत्तरमुखी, कोही दक्षिमुखी, कोही पश्चिमुखी हुने जुन प्रवृत्ति छ', उनले भने, 'त्यसले आगामि दिनमा देशमा भूराजनीतिक संकटको भूमरीमा देश पर्ने खतरा मैले देखेको छु।' 

यस्तो अबस्थामा सन्तुलित ढंगले नेपालले सबैसंग असंलग्न नीतिको आधारमा सम्बन्ध राख्नुपर्ने उनको सुझाव छ।

'तर दल र नेताहरूले आफ्नो सत्ता स्वार्थको निम्ति कहिले कुनै शक्तिसंग ढल्कने, कहिले कुनै शक्तिसंग ढल्किने जुन प्रवृत्ति छ, यो अत्यन्तै खतरनाक छ', उनी भन्छन्, 'चीन विश्वको पहिलो अमेरिका दोस्रो र भारत तेस्रो अर्थतन्त्र बन्दैछ भन्ने जुन प्रक्षेपण छ, यो अबस्थामा उनीहरू बीच पुँजीको बजार नियन्त्रण गर्ने प्रवृत्ति स्वतः हुन्छ। त्यसले गर्दा यही क्षेत्रमा नयाँ शीतयुद्धको लहर मडारिने त प्रष्टै छ।' 

यस्तो अबस्थामा कतैपनि ढल्किएर नभई आफ्नो राष्ट्रिय हितलाई केन्द्रमा राखेर एउटा साझा विदेश नीति बनाउनु पर्ने उनले बताए।

'अहिले शीतयुद्धको खतरा जुन मडारिरहेको छ, यसलाई ध्यान दिँदै हिजोको राजाकालको जस्तो होइन, अहिलेको नयाँ सन्दर्भमा हामीले शान्ति क्षेत्रको प्रस्ताव अगाडि सारेर अन्तर्राष्ट्रिय रुपमा मान्यता दिलाउने हो भने, नेपालको तटस्थता र सार्वभौमसत्ता जगेर्ना हुने सम्भावना हुन्छ', उनले भने।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.