हेलि उद्धारको अनुमति ढिलो हुँदा बिरामीको मृत्यू
गोरखा : हेलिकोप्टरबाट उद्धार गर्ने प्रक्रिया पुर्याउँदा पुर्याउँदैमा गोरखाको दुर्गम गाउँमा एक बिरामीको मृत्यू भएको छ।
समयमै उपचार सेवा नपाएर चुमनुब्री गाउँपालिका- ६ खार गाउँकी २१ वर्षीया मिङ्मा चेम्जोङको मृत्यू भएको वडाअध्यक्ष सरोज लामाले जानकारी दिए।
'मुटु दुख्ने व्यथाले मिङ्मा हिजोदेखि बिरामी भएकी रहिछन्', लामाले भने, 'गाउँमा स्वास्थ्यचौकी पनि छैन। व्यथाले च्यापेपछि आज(शुक्रबार) बिहानदेखि हेलिकोप्टरबाट उद्धार गर्ने प्रक्रिया सुरु गरेका रहेछन् तर अनुमति पाउन ढिला हुँदा बिरामीको मृत्यू भयो।'
हेलिकोप्टरबाट उद्धारका लागि अनुमतिपत्र हातमा पर्नु र बिरामी मरेको टेलिफोन आउनु एकैचोटी भएको उद्धारमा खटिएका धावा ग्याल्जेन लामाले बताए।
'जिल्ला प्रशासन कार्यालयले त बिहान आठ बजे नै अनुमति दिएको थियो', उनले भने, 'त्यो अनुमति पत्र लिएर गृहमन्त्रालय, परराष्ट्र मन्त्रालय र नागरिक उड्डयन मन्त्रालय धाउँदा धाउँदै दुई बज्यो। सिम्रिक एअरको हेलिकोप्टर उडाउने भनेर जब म र पाइलट एयरपोर्टमा पुगेका थियौँ। बिरामी मर्यो, भो, नआउनू भन्ने खबर आयो।'
बिरामीको धरौटीबापतको १९ हजार रुपैयाँ पनि गुमेको, बिरामीको उद्धार गर्न पनि नपाएको उनको भनाइ छ।
योसँगै २०७९ सालको चार महिनामा यस्तै प्रकृतिका चारवटा घटना भएका छन्। समयमै उद्धार हुन नपाउँदा सामागाउँ, छेकम्पार र चुम्चेतमा यसअघि पनि बिरामीको मृत्यू भएको लामाले बताए।
'बिरामीको उद्धार प्रक्रियालाई जतिसक्यो छिटो बनाउनु पर्ने स्थानीयबासीको माग छ', गाउँपालिकाका अध्यक्ष निमा लामाले भने, 'चुमनुब्री गाउँपालिकामा मोटरबाटो पनि छैन। हेलिकोप्टरबाट तत्काल घाइते, बिरामी वा सुत्केरीको उद्धार गर्न पनि प्रक्रिया धेरै लामो र झञ्भटिलो छ। यो व्यवस्था हट्नु पर्छ।' सो गाउँपालिकामा लगाइएको प्रतिवन्ध यथासक्य चाँडो हट्नु पर्ने उनको माग छ।
निषेधित क्षेत्र खुला भयो भने बिरामी, घाइतेहरुको उद्धार कार्य छिटो हुन सक्ने सो क्षेत्रका प्रतिनिधिसभा सदस्य हरिराज अधिकारीको भनाइ छ।
'चुमनुब्री गाउँपालिकामा मोटरबाटो पुगेको छैन। हेलिकोप्टरबाट उद्धारको प्रक्रिया छिटो र सजिलो हुनुपर्छ भनेर मैले धेरै पहिलेदेखि पहल गरिरहेको हो', उनी भन्छन्, 'तर सुनुवाइ नै भएको छैन।' अझै पहल गरिरहने उनको भनाइ छ।
प्रतिक्रिया दिनुहोस !