धनकुटामा थपिए ६ सय ७७ उद्योग
धनकुटा : जिल्लामा ६ सय ७७ वटा नयाँ उद्योग थपिएका छन्। घरेलु तथा साना उद्योग कार्यालयका अनुसार २०७८/७९ मा सो संख्यामा उद्योग दर्ता भएका हुन्।
थपिएका नयाँ उद्योगमा ७४ करोड १३ लाख रुपैयाँ लगानी भएको छ। यी उद्योगको वार्षिक उत्पादन क्षमता ४४ करोड ८९ लाख ३९ हजार रुपैयाँ छ। १ हजार ८ सय ६३ जनालाई रोजगारी दिएका छन्। जसमध्ये ८ सय ४२ जना महिला छन्। उत्पादनमूलक २४, कृषि तथा वनजन्य ३ सय ९६ उद्योगमा, पर्यटनसम्बन्धी ४८, सेवामूलकका ४७ र सूचना प्रविधिका १ उद्योग छन्।
योसँगै जिल्लामा उद्योगको संख्या ५ हजार ४ सय ९१ पुगेको छ। जसमध्ये उद्योगतर्फ ३ हजार ८ सय ३७ र वाणिज्यतर्फ १ हजार ६ सय ५४ वटा रहेको कार्यालय प्रमुख ईश्वर थापाले बताए। घरेलुमा उद्योग दर्ता गर्दा सरकारी सेवा सुविधा पाउने, कानुनी झन्झट नहुने, उद्यमी बन्ने चाहना, विभिन्न माध्यमबाट जनचेतना वृद्धि, घरेलु उद्येगमा महिलालाई ५० प्रतिशत छुट भएकाले उद्योग दर्ता गर्न सेवाग्राही आकर्षित हुन थालेको उनले बताए।
प्रतिक्रिया दिनुहोस !