जोखिम मोलेर खोला वारपार (तस्बिर)
गोरखा : हिमालपारिको चुमनुब्री गाउँपालिका- ७ छुलेखोलाको बाढीले दुई गाउँ जोड्ने फड्के बगाएको छ ।
फड्के बगाएपछि छुले गाउँकै दुई टोल र निले गाउँका स्थानीयबासी जोखिम मोलेर वारपार गर्न बाध्य भएका छन् ।
छुले र निले तिब्बतको सीमानामा रहेको गोरखाको अन्तिम गाउँ हो । यो ठाउँ सदरमुकामबाट ५५ कोश टाढा रहेको छ ।
गत हप्तादेखि लगातार परेको वर्षाले यहाँको फड्के बगाएको गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिए ।
झोलुंगे पुलसमेत नभएको यहाँ बर्सेनि बाढीले फड्के बगाउने र स्थानीयबासीले यस्तै समस्या भोग्ने गरेको स्थानीय वाङचुक लामाले दुख व्यक्त गरे । ‘पुल नहुँदा छुलेका करिब ३५ घरधुरी र निलेका करिब ३० घरधुरीका बासिन्दा बर्सेनि यसरी नै ज्यानको बाजी राखेर आउजाउ गर्न बाध्य छन् ,' उनले भने, ‘यहाँ बर्सेनि यस्तै हुन्छ । दुर्गमको दु:ख सरकारले देख्दैन ।’
गाउँमाथिबाट आइरहने बाढी र पहिरोको जोखिमका कारण छुलेका बासिन्दालाई अन्यत्र स्थानान्तरण गर्नुपर्छ भनेर दुई वर्षअघिदेखि स्थानीय अगुवाहरुले पहल गरेपनि स्थानान्तरण गर्न नसकिएको यहाँका पूर्व वडाअध्यक्ष पासाङफुञ्जो लामा बताउँछन् । 
गोरखाकै तल्लो भेगमा पूर्वमन्त्रीले आफ्नो बेशी फाँटमा सडक नभएको ठाउँमा मोटरेबल पुल बनाएको तर उनले चुनाव जितेको दुर्गम भेगका बासिन्दाले ज्यान जोखिममा राखेर खोला तर्नुपरेपछि सर्वत्र आलोचना भइरहेको छ ।
अल्पकालीन रुपमा अर्को फड्के राखेर आवतजावत गर्न आग्रह गरेको गाउँपालिकाका अध्यक्ष निमा लामाको भनाइ छ । झोलुङ्गे पुलका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउने योजना रहेको उनको भनाइ छ।
प्रतिक्रिया दिनुहोस !