‘निर्वाचन घोषणा ठीक, संसद यथावत राख्नु गलत अभ्यास’
काठमाडौं : संविधानविद् डा. भीमार्जुन आचार्यले प्रतिनिधि सभा र प्रदेश सभाको एकै चरणमा निर्वाचन गर्ने सरकारको घोषणा ठीक भए पनि मनोनयन दर्ता नभएसम्म संसद यथावत् राख्ने कार्य गलत अभ्यास भएको बताएका छन्।
डा. आचार्यले मंसिर १० गतेभित्र निर्वाचन सम्पन्न गर्नुपर्नेमा मंसिर ४ गते घोषणा हुनु ठीक भएको बताए। ‘संसदीय परम्परामा संसदको निर्वाचनको मिति तोकिएको दिनबाट नै संसद स्वतः भंग भएको मानिन्छ,’ अन्नपूर्णसँग कुराकानी गर्दै डा. आचार्यले भने, ‘संसद विघटन होइन भंग भएको मानिन्छ। संसद भंग भएसँगै सांसद पनि क्रियाशील हुन पाउँदैनन्। निस्क्रिय भएको मानिन्छ। यो संसदीय परिपाटी हो।’
डा. आचार्य सांसद र सांसद पनि यथावत रहने र प्रतिनिधि सभाको निर्वाचनको घोषणा गर्ने कार्य संसदीय परम्पराको विपरित भएको बताए।
निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा सदस्यहरुको पदावधि मंसिर २१ गते सकिने सुझाव दिएको थियो। प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै ४ मंसिरको चुनावमा उम्मेदवारी दिएपछि प्रतिनिधि सभा र प्रदेश सभाको पदावधि स्वतः समाप्त हुने व्यवस्था गरिने बताए।
संवैधानिक कानुनका जानकार डा. आचार्यले यो अभ्यास गलत भएको बताए। ‘यो गलत अभ्यास हो। गलत नजिर बसाउँदा त्यो भोलि पनि लागू हुन्छ,’ उनले भने, ‘यो गलत मान्यता हो। निहित स्वार्थका लागि यस्तो कार्य नगरेको भए हुन्थ्यो।’
प्रतिक्रिया दिनुहोस !