'सिट बाँडफाँटमा विवेक नपुर्‍याए, परिस्थिति नियन्त्रण बाहिर जानसक्छ'

'सिट बाँडफाँटमा विवेक नपुर्‍याए, परिस्थिति नियन्त्रण बाहिर जानसक्छ'

गोरखा : नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले गोरखाको क्षेत्र नं. २ सिट बाँडफाँटका हिसाबले धेरै समस्याग्रस्त रहेको बताएका छन् ।

 गृहजिल्ला गोरखामा बिहीबार बिहान पत्रकार सम्मेलन गरी पाण्डेले सो क्षेत्र शीर्ष नेताहरुको क्षेत्र भएकाले गठबन्धन दलबीच सो क्षेत्र बाँडफाँटमा समस्या भएको बताएका हुन्।

सो क्षेत्र पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई, नेकपा (माओवादी केन्द) का नेता नारायणकाजी श्रेष्ठ र आफ्नो क्षेत्र भएकाले कुन पार्टीलाई दिने भन्नेमा समस्या रहेको उनको तर्क छ । 

‘बाबुराम भट्टराईले आफ्नो पार्टीलाई पनि गठबन्धनभित्र समेट्न लबिङ गरिरहनु भएको छ । गठबन्धनभित्र समेटिएको खण्डमा उहाँको चाहना पनि आफ्नै क्षेत्रबाट चुनाव लड्ने हुनसक्छ,' पाण्डेले भने, ‘नारायणकाजी श्रेष्ठजीको पनि राष्ट्रिय सभा छाडेर प्रतिनिधिसभामा चुनाव लड्ने चर्चा चलिरहेको छ । नेपाली कांग्रेसले पनि गठबन्धनका नाउँमा सधै अरु पार्टीलाई सो क्षेत्र छाडिरहेकाले यसपटक छाड्न नहुने जनदबाब छ ।'

 गोरखाको हकमा माओवादी र कांग्रेस मात्र गठबन्धन गर्ने र दुईवटा प्रतिनिधिसभा क्षेत्रमध्ये एकवटामा भागबण्डा गर्नेबारे आन्तरिक समझदारी बनेको उनको भनाइ छ । 

‘दुईवटा प्रतिनिधिसभा क्षेत्रमध्य कांग्रेस र माओवादीले एक–एकवटा लिने, चारवटा प्रदेशसभाको क्षेत्रमध्ये दुईदुईवटा लिने भन्ने अनौपचारिक छलफलका क्रममा समझदारी भएको छ,' उनले भने, 'र क्षेत्र नं. १ बाट माओवादीका उम्मेदवार उठाउने र क्षेत्र नं. २ कांग्रेसका उम्मेदवार उठाउने भन्ने अनौपचारिक कुराकानी अघि बढिरहेको छ ।’ 

तर, नेपाल समाजवादी पार्टी पनि गठबन्धनभित्र सामेल भएमा सिट बाँडफाँटमा जटिलता आउने उनले बताए ।

यसअघि कांग्रेससँग तालमेल गरेर चुनाव लडेका बाबुराम भट्टराईले चुनाव जितेकै भोलिपल्ट कांग्रेसलाई संग्रहालयमा राख्नुपर्छ भनेर भाषण गरेपछि कार्यकर्ता रुष्ट बनेको नेता पाण्डेको आरोप छ । नारायणकाजी श्रेष्ठ पनि अहिले राष्ट्रिय सभा सांसद भएकाले चारवर्षे अवधि छाडेर प्रतिनिधिसभा चुनावमा आउन उचित नहुने तर्क पाण्डेको छ । 

‘२०७४ को चुनावमा कांग्रेसको भोटले प्रतिस्पर्धी नारायणकाजी श्रेष्ठलाई हराएर चुनाव जितेको भोलिपल्टै भाषणमा कांग्रेसलाई म्युजियममा राख्नुपर्छ भनेर भाषण गरेपछि बाबुराम भट्टराईसित कांग्रेस यति कुँडिएका छन् कि, हामीले सम्झाएर कोही पनि सम्झिनेवाला कोही छैनन्,' उनले भने, ‘अनि नारायणकाजी श्रेष्ठजी, प्रतिनिधिसभामा चुनाब हारेर फेरि राष्ट्रिय सभा सदस्य बन्नुभयो । अहिले फेरि राष्ट्रिय सभा छाडेर प्रतिनिधि सभामा आउने हल्ला बाहिर फिँजाइरहनु भएको छ । नेताले चाहे भने मुलुकमा जे–जे मनलाग्छ, त्यही–त्यही गर्न सक्छन् भन्ने पुष्टि गर्न खोज्दै हुनुहुन्छ । यसले नयाँ पुस्तालाई राजनीतिप्रति घृणा पैदा गर्छ । अहिले स्वतन्त्र समूहले राजनीतिक दलप्रति यसैपनि वितृष्णा जगाउने प्रयत्न गरिरहेका छन् । यस्तो अबस्थामा शीर्ष नेताहरुले चाहे भने जे पनि गर्न सक्छन् भन्ने नमूना प्रदर्शन गर्नुहुँदैन । हामी पार्टीका कार्यकर्ता र सर्वसाधारण मतदातालाई यस्ता कुरामा सम्हाल्नै सक्दैनौँ ।’

यो धरातलीय यथार्थलाई आधार बनाएर सो क्षेत्र कांग्रेसले पाउनु पर्ने दाबी उनको छ ।

यदि केन्द्रीय नेतृत्वले जनचाहना र जनभावना नबुझेर अस्वभाविक निर्णय गरेमा असहज परिस्थितिलाई आफूले चाहेर पनि काबुमा लिन नसक्ने उनको भनाइ छ । ‘यदि असहज परिस्थिति आएमा म के गरौंला त्यो आफ्नो ठाउँमा छ तर मैले सहज रुपमा लिन प्रयास गर्दागर्दै पनि परिस्थिति सहज नहुन सक्छ,' उनले भने, 'मैले सुरुमा पनि भने त्यो अवस्थामा हामीले हाम्रा कार्यकर्तालाई कन्ट्रोल गर्न नसक्ने अवस्था पनि आउन सक्छ ।’ आफूले यस विषयमा सभापति देउवालाई पनि अवगत गराएको उनले बताए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.