जग खनेको २५ वर्षपछि कलेज निर्माण प्रक्रिया अघि बढ्यो
महोत्तरी : २५ वर्षअघि जलेश्वरमा इन्जिनियरिङ कलेज निर्माणका लागि जग खनिएको थियो। जग खनेको लामो समय बितिसक्दा पनि निर्माण कार्य अघि बढेको थिएन। अहिले मणिपाल एजुकेशन तथा मेडिकल ग्रुप नेपालले सोही स्थानमा कलेज सञ्चालनका लागि प्रक्रिया सुरु गरेका छन्। प्रक्रियामा रहेकोले तत्काल जग्गामा पर्खाल लगाउन र वृक्षारोपण गर्नका लागि मणिपाल कलेजले पत्रमार्फत जलेश्वर नगरपालिकालाई आग्रह गरेको छ।
मणिपालले पठाएको पत्रमा विश्वविद्यालय र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्बाट शैक्षिक अनुमति प्राप्त गर्ने प्रक्रियामा रहेकोले अनुमति पाएपछि पूर्वाधार निर्माणमा जुटने र कलेज सञ्चालन गर्ने उल्लेख रहेको छ। त्यस्तै कलेज स्थापनाका लागि जग्गा खरिदपश्चात् रातु नदीमा आएको भीषण बाढी, माओवादी आन्दोलन, मधेश आन्दोलन, भूकम्प, कारोना महामारीजस्ता विविध कारणले परियोजना सुरु गर्न नसकेको व्यहोरा पत्रमा उल्लेख रहेको छ।
मणिपालले पत्रमार्फत देखाएको आश्वासनले जलेश्वरवासीको वहुप्रतिक्षित सपना सकार हुने पक्षमा रहेको जलेश्वरका मेयर सुरेश साह सोनारले बताए। उनले भने, 'मणिपाल इन्जिनियरिङ कलेज निर्माणका लागि केही मात्रामा भएपनि आस जगाएको छ। नगरपालिकाले साउन पहिलो साता इन्जिनियरिङ कलेज सञ्चालन सम्बन्धमा मणिपाललाई पत्राचार गरेको थियो। त्यहाँबाट कलेज संचालनको लागि सकारात्मक प्रतिक्रिया आएको छ।'
हुन त यहाँ इन्जिनीयरिङ्ग कलेज सञ्चालनका लागि मणिपालले २५ वर्षअगाडि जलेश्वर नगरपालिकाबाट नक्सा पास गराएको मेयर सोनारले खुलासा गरेका छन्। जलेश्वरको शैक्षिक भविष्य राम्रो होस् भनेरै एक सयभन्दा बढी किसानले प्रतिकट्ठा दुई क्विन्टलसम्म धान उब्जाउ हुने खेत मणिपाल कलेजलाई बेचेका थिए। सो समयमा प्रतिकट्ठा १० हजारका दरले जग्गा बेचेको जलेश्वर नगरपालिका-८ बजराहीका श्याम झाले बताए। झाले अगाडि भने, 'आदर्श गाउँ पञ्चायतबाट २०३९ वैशाख १५ मा नगरमा परिणत भएको जलेश्वरमा ठूलो इन्जिनियरिङ कलेज खुल्ने चर्चासँगै जग्गाको खोजी हुन थाल्यो। अन्त्यमा जलेश्वर, बजराही र रतबाराका किसान जग्गा दिन सहमत भए।'
अर्का किसान विश्वनाथ साहले भने, 'कलेज निर्माणका लागि २०५१/५२ सालमा भारतको ब्याङ्लोरमा मुख्य कार्यालय रहेको मणिपाल ग्रुपका तत्कालीन निर्देशक डी.के. डोगराले स्थलगत निरीक्षण गरेका थिए। चितवन कोई प्रालिले भवन निर्माणको तयारीमा जुटिसकेका थिए। तर तत्कालीन समयमा रातु नदीमा आएको भीषण बाढीका कारण रोकिएको निर्माण कार्य हालसम्म अगाडि बढ्न सकेनन्।'
कलेजले तत्कालीन जलेश्वर नगरपालिका वडा नं. ७ र ८ का स्थानीय किसानहरूसँग प्रतिकट्ठा १० हजार रुपैयाँमा ३० बिघा जग्गा खरिद गरेको थियो।
कलेज स्थापना एवं सञ्चालनका लागि भारतीय दूतावास एवं परराष्ट्र मन्त्रालयमार्फत सम्बन्धित मणिपाल एजुकेशन ग्रुपलाई पत्राचार गर्ने तयारी भइरहेको नगरपालिकाको कार्यालयले जनाएको छ। हाल पोखरामा सोही ग्रुपले मणिपाल कलेज अफ मेडिकल साइन्सेस र मणिपाल टिचिङ हस्पिटल सञ्चालनमा ल्याएको छ।
प्रतिक्रिया दिनुहोस !