बिर्तामोडमा ब्राउन सुगरसहित दुई जना पक्राउ
![बिर्तामोडमा ब्राउन सुगरसहित दुई जना पक्राउ](https://annapurnapost.prixacdn.net/media/albums/298080935_780272716338650_7478468831493389480_n_20220814153814_uDJx99Ibt4.png)
झापा : लागूऔषध ब्राउन सुगरसहित बिर्तामोडमा दुई जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सुनसरी घर भई हाल बिर्तामोड नगरपालिका- ४ बस्ने ४० वर्षीय उमेश चौधरी र सिराहा अमरुवा गाउँपालिका- ५ घर भई हाल बिर्तामोड- ३ बस्ने २७ वर्षीया प्रतीक्षा चौधरी रहेका प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए।
प्रहरीका अनुसार बिर्तामोड- ४ स्थित बिर्ता बजारबाट बुट्टाबारीतर्फ जाँदै गरेको मे १ ह २९२१ नम्बरको अटोलाई प्रहरीले चेकजाँच गरेको थियो।
चेकजाँचको क्रममा अटो चालक उमेशको साथबाट ब्राउन सुगर जस्तो देखिने खैरो लिसाइलो पदार्थ चार ग्राम दुई सय मिलिग्राम फेला परेको थियो।
उमेशसँग थप सोधपुछ गर्दा घटनामा प्रतीक्षासमेत संलग्न रहेको बताएपछि प्रतीक्षाको कोठाबाट समेत पाँच ग्राम बरामद गरिएको प्रहरीले जनाएको छ।
दुवै जनालाई इलाका प्रहरी कार्यालय अनारमनिमा राखेर अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)