अस्पतालमा छटपटाउँदै आफन्तविहीन युवती
राजविराज : राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको आकस्मिक कक्षको माथिल्लो तल्लामा चिटिक्क परेको एचडीयू कक्ष छ। बेडहरू भरिभराउ छन्। अन्य सबै बिरामीका २/३ जना आफन्तले पालोपहरा दिइरहेका छन्। बेड नम्बर ३ मा ऐया–ऐया गरेर छट्पटाइरहेकी २० वर्षीया नन्की खंग भने एक्लै छिन्। उनलाई हेरविचार गर्ने आफन्त कोही छैनन्। न उनलाई पर्खिने घर छ, न परिवार नै।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–५ कुशहामा जन्मिको बताउने नन्कीलाई मृत्युले पर्खिरहेछ भने जीवनले आशा देखाइरहेको छ। उनलाई कहिलेदेखि रोगले च्यापेको हो भन्ने कसैलाई थाहा छैन। उनको अवस्था कमजोर छ। खानलाई पैसा छैन। शरीर ढाक्ने कपडा छैन। उमेरले उदाउँदो सूर्य भए पनि गरिबी र बिमारले अस्ताउँदो जुन बनेकी छन्, उनी। हातखुट्टा, शरीर सुकेको छ। सन्ठी जस्तो सुकेको उनको शरीरमा हाड र छालाबाहेक केही छैन। आँखा पनि मधुरो गरी हेर्छिन्। बोलीमा कुनै दम छैन। मौन आँसुले पूरै सिरानी भिज्ने गर्छ, उनको।
पाइला नटेक्दै नन्कीले बुवा–आमालाई गुमाइन्। नन्कीले हत्केला देखाउँदै भनिन्, ‘म त सानी थिएँ रे ! ’ आकृतिमा चिन्न नपाउँदै संसारबाट विलिन भएका आमाबुवाको अनुहार सम्झना छैन। आमाबुवाको नाम पनि याद छैन, उनलाई। बुवाको भरोसायोग्य काँध र आमाको न्यानो स्पर्सको चेतसमेत छैन। उनले खोज्ने आमाबुवाको आकृति वा सम्झना भनेकै आकाशको तारा हो रे।
आँखा धमिलो देख्ने, टाउको दुख्ने, थकाइ लाग्ने, वाकवाक लाग्ने, पेट दुख्ने समस्याले ग्रसित भएपछि गत बिहीबार उनी अस्पताल आएकी थिइन्। कसैले भर्ना गरिदिएपछि डाक्टरले परीक्षण गर्दै सामाजिक सेवा एकाइमार्फत उपचार गराउन सिफारिस गरिदिए। गरिब, असहाय, ज्येष्ठ नागरिक, हिंसा पीडित, अपांगतालगायतका लक्षित व्यक्तिलाई निःशुल्क वा आंशिक छुटमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले राजविराजसहित मधेस प्रदेशका ८ वटै जिल्लाका अस्पतालमा सामाजिक सेवा एकाइ स्थापना छ।
२०७५ चैतदेखि सञ्चालित राजविराजस्थित एकाइले आर्थिक वर्ष २०७७/७८ मा ७ सय १ जना र गत वर्ष १ हजार ८१७ जना बिरामीलाई सेवा दिएको अस्पतालको तथ्यांकले देखाएको छ। गरिबको पहिचान गर्न वा मापदण्ड किटान गर्न नसकिने र स्थानीय तहले सिफारिस नदिने गरेकाले कतिपय सम्पन्न व्यक्तिले पनि लाभ लिने गरेको प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. प्रकाशप्रसाद शाहले बताए। उपचारमा सहुलियतका लागि सामाजिक सेवाको फाराम भर्ने मोटरसाइकल चढेर आएका एमबीबीएस अध्ययनरत राजविराजका एक युवकलाई आइतबार सम्झाउँदै फर्काएको एकाइका प्रमुख सूर्यकान्त झाले बताए।
घरपरिवारविहीन असहाय नन्कीको भने सामाजिक सेवामार्फत नै अस्पतालले निःशुल्क उपचार गरिरहेको झाले बताए। झाका अनुसार बिहीबार परीक्षण गर्दा रगतमा चिनीको मात्रा बढेर गणना नै गर्न नसकिने अवस्थाको थियो। रगतमा ग्लुकोजको मात्रा नियन्त्रण गर्न नियमित इन्सुलिन दिन थालेपछि मधुमेह नियन्त्रणमा आएको डा. अरुणकुमार साहले बताए।
चिकित्सकका अनुसार मधुमेह लागिसकेपछि रोगीको आयु बढाउने अर्थात् रोगको व्यवस्थापन गर्ने विकल्प मात्र बाँकी रहन्छ। रगतमा भएको चिनीको मात्रा घटाउन र रक्तकोषमा क्षति पुर्याउने तत्वको निवारण गर्न रक्तचाप नियन्त्रण गर्नुपर्ने र खानामा विशेष ध्यान पुर्याउनुपर्ने चिकित्सकहरूको सुझाव छ। केही दिन अझै चिकित्सकको निगरानीमा राखिने अस्पतालले जनाएको छ। त्यसपछि उनलाई कहाँ, कसरी पुनस्र्थापना गर्ने भन्ने चुनौती रहेको झाले चिन्ता प्रकट गरे।
पाइला नटेक्दै आमाबुवा गुमाएकी २० वर्षीया नन्कीले यो उमेरसम्म आइपुग्दा दुःख र पीडा मात्र भोगिन्। ‘जन्मँदै आमाबुवा गुमाएँ। जन्मदर्ता र नागरिकता बनेन । २० वर्षमै सय वर्ष बाँचिसके जस्तो लाग्छ। तैपनि संघर्षरत छु। राज्यले पनि बुझिदेओस्,’ नन्कीले भनिन् ।
प्रतिक्रिया दिनुहोस !