घारीमा भेटिन्छन् गाँजाका पोका

घारीमा भेटिन्छन् गाँजाका पोका

राजविराज : आफ्नो क्षेत्र सुनसान र चहलपहल शून्य पाएपछि निर्जन बगरमा गाँजा ओसार्ने काममा तस्करहरूको चहलपहल हुने गरेको छ। पछिल्लो समय निगरानी बढाएको सशस्त्र प्रहरीले लगातार ठूलो परिमाणमा गाँजा बरामद गरिरहेको छ। 

तस्करहरू पक्राउ नपरे पनि पटेरका घारी र झाडीमा लुकाएर राखिएको अवस्थामा शनिबार मध्यराति २ सय ४० किलो गाँजा बरामद भएको छ। सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश क्याम्प भारदहका अनुसार भारततर्फ तस्करी गर्न झाडीमा लुकाएर राखेको अवस्थामा १/१ किलोका दरले प्लाष्टिकमा पोका पारिएका गाँजाको नौवटा बोराहरू बेवारिसे अवस्थामा बरामद गरिएको छ।
    

हनुमाननगर कंकालिनी नगरपालिका-१ कोशी व्यारेजस्थित पटेर घारीबाट सुरक्षा वेश भारदहबाट खटिएको टोलीले गाँजा बरामद गरेको सशस्त्र प्रहरी निरीक्षक उमेशकुमार आलेले जानकारी दिए। बरामद अवैध गाँजा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सप्तरीमा बुझाइएको छ।

यसअघि असार ८ गते सशस्त्र प्रहरीको टोलीले कोशी व्यारेजस्थित चेक प्वाइण्टबाट १७५ किलो गाँजा र ३५० किलो अदुवा बरामद गरेको थियो।

सशस्त्र प्रहरी निरीक्षक किसमान तामाङ नेतृत्वको मोबाइल टोलीले को. १ ख २९२५ नम्बरको ट्रक चेकजाँच गर्न खोज्दा ट्रक रोकेर चालक र सहचालक फरार भएका थिए। सशस्त्र प्रहरीले ट्रकसहितको गाँजा र अदुवा बरामद गरेको थियो।

यस्तै चैत १२ गते कोशी नदीको नहर नजिकै झाडीबाट ७८ किलो गाँजा बरामद भएको थियो। सशस्त्र प्रहरीलाई देखेपछि गाँजाको पोका पारेको बोराहरू बेवारिसे अवस्थामा छाडेर तस्करहरू फरार भएका थिए।
    
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार गत आर्थिक वर्षमा ३ सय ७९ किलो ९२५ ग्राम गाँजा बरामद भएको थियो। गाँजा महिना, २ महिनामा बरामद हुने गरे पनि तस्करहरूले दिनहुँजसो गाँजा ओसारपसार गर्ने गरेको स्थानीयवासी बताउँछन्। 

पूर्वमा कोशी नदी र पश्चिममा बलान नदीमा रहेको सप्तरीको दक्षिण क्षेत्रमा रहेको विभिन्न गाउँस्थित घर, गोठ, नदी किनारका झाडी र बगरको माटोमुनी गाँजा संकलन गरी राख्ने तथा भारततर्फ तस्करले गाँजा ओसार्ने गरेको राजविराज-२ का बिजय झाले बताए। 

उनका अनुसार विगत लामो समयदेखि प्रतिबन्धित लागुऔषध गाँजा सिमानाका गाउँमा भण्डार गरी तस्करले भारततर्फ लैजाने गरेका छन्।

तस्करका नाइकेहरूले स्थानीय तस्करहरूको सहयोगमा रातको समय पारेर चोर बाटो प्रयोग गर्दै सप्तरीको भारदह, टिकुलिया, मौवाहा बेल्ही, काचन, पातोलगायतको नाका हुँदै भारततर्फ गाँजाको ओसारपसार गरिरहेका छन्। 

गाँजा ओसार्न साइकल, मोटरसाइकल, अटो, डुङ्गासहित सप्तकोशी नदीबाट ल्याइने बाँसका चेपाहरूको समेत प्रयोग गर्ने गरेको र पहाडी क्षेत्रबाट आउने डोकोहरूमा समेत निकासी गर्ने गरिएको जानकारहरूको भनाइ छ।

यसमध्ये हनुमाननगर कंकालिनी नगरपालिकास्थित कोशी नदी गाँजा तस्करीको ट्रान्जिट प्वाइन्ट नै कहलिएको छ।
 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.