नेपाल–बंगलादेश सचिवस्तरीय बैठक काठमाडौंमा

नेपाल–बंगलादेश सचिवस्तरीय बैठक काठमाडौंमा

काठमाडौं : नेपाल–बंगलादेश चौथो सचिवस्तरीय बैठक काठमाडौंमा सुरु भएको छ। बुधबार र बिहीबार चल्ने बैठकको पहिलो दिन सहसचिवस्तरीय वार्ता भएको छ। बुधबार भएका छलफललाई बिहीबारको सचिवस्तरीय बैठकले सहमति जनाउने बताइएको छ। सहसचिव स्तरीय संयुक्त कार्य समूह (जेडब्लूजी) को नेतृत्व ऊर्जा मन्त्रालयका सहसचिव मधुप्रसाद भेटवालले गरे। 

पहिलो दिनको बैठकमा नेपाल–बंगलादेश विद्युत् व्यापारको सम्भावना र अवसरका सम्बन्धमा छलफल भएको भेटवालले जानकारी दिए। ‘बैठक दुई देशबीचको विद्युत् व्यापार र जलविद्युत् आयोजना विकास गर्न सहकार्य केन्द्रित छ’ उनले भने। यस्तै नेपालका जलविद्युत्मा बंगलादेशको लगानी, विद्युत् व्यापारका लागि आवश्यक पर्ने पूर्वाधार विकासमा सहकार्य, अन्तरदेशीय प्रसारणलाइन विकासजस्ता विषयमा छलफल भएको भेटवालले बताए। दुई देशबीच जलविद्युत्को क्षमता अभिवृद्धि र विकासका सम्बन्धमा अनुभव साटासाट पनि भएको छ।  

बैठकमा नेपालका तर्फबाट ऊर्जासचिव सुशीलचन्द्र तिवारी, सहसचिव भेटुवाललगायत १५ जना र बंगलादेशका तर्फबाट त्यहाँका ऊर्जा तथा खनिज स्रोत मन्त्रालयका सचिव हबिबुर रहमानसहितको टोली सहभागी छन्। सहसचिवस्तरीय बैठकमा ६८६ मेगावाटको सुनकोसी–३ जलाशययुक्त जलविद्युत् आयोजनाको लगानी ढाँचाबारे समेत छलफल भएको छ।

मंगलबार नै बंगलादेशको प्राविधिक टोलीले आयोजनाको स्थलगत भ्रमण गरेको थियो। नेपालले २५ साउन २०७५ मा भएको संयुक्त कार्यदल र निर्देशक समितिको तेस्रो बैठकमा जलविद्युत् क्षेत्रमा सहकार्यका लागि ५ वटा जलविद्युत् आयोजनाको प्रस्ताव बंगलादेशसमक्ष गरेको थियो। बैठकमा पहिलो चरणमा सुनकोसी तेस्रोलाई अगाडि बढाउन आयोजनाको संयुक्त रूपमा स्थलगत भ्रमण गर्ने सहमति भएको थियो। 

रामेछाप, सिन्धुपाल्चोक, सिन्धुली र काभ्रेपलाञ्चोक जिल्लामा निर्माण हुने उक्त आयोजनाको सरकारले वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयार गरिसकेको छ। प्रतिवेदनअनुसार आयोजना निर्माण सम्पन्न गर्न १ खर्ब ५९ अर्ब ७२ करोड रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ। सन् २०२५ मा थालेर २०३१ मा बनाइसक्ने लक्ष्य राखिएको छ। वार्षिक २ अर्ब ३५ करोड युनिट विद्युत् उत्पादन हुने सुनकोसी–३ को अधिकतम उचाइ १ सय ६५ मिटर हुने अध्ययनले देखाएको छ।

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले कोसी नदी जलस्रोत विकास अध्ययनका क्रममा सन् १९८५ मा आयोजनाको पहिचान गरेको थियो। जाइकाले गरेको अध्ययनलाई सन् २०१४ मा अध्यावधिक गरिएको थियो।

बीपी राजमार्गको नेपालथोकबाट १ किलोमिटर रामेछापको खाँडादेवी र काभ्रेको तेमाल गाउँपालिकाको सिमानामा पर्ने लुभुघाटमा १ सय ८० मिटर अग्लो बाँधनिर्माण गरी नदीलाई थुनिनेछ। आयोजनाको जलाशय ४५ किलोमिटर माथिसम्म फैलिन्छ। जसअनुसार सिन्धुपाल्चोकस्थित सुनकोसी नदीतर्फ बलेफी बजारभन्दा माथि र इन्द्रावती नदीतर्फ सिपाघाटसम्म जलाशय फैलिनेछ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.