गृहमन्त्री खाण र बेलायती राजदूत पोलिटबीच शिष्टाचार भेट
काठमाडौं : गृहमन्त्री बालकृष्ण खाणसँग नेपालका लागि बेलायती राजदूत निकोला क्याथरिन पोलिटले शिष्टाचार भेटघाट गरेकी छिन्।
गृह मन्त्रालयमा बिहीबार भएको भेटमा दुई देशको आपसी सम्बन्ध थप प्रगाढ बनाउने विषयमा छलफल भएको छ।
भेटमा गृहमन्त्री खाणले बेलायतको सहयोगमा सन् २०१४-२०२१ सम्म इन्टरग्रेटेड प्रोग्राम फर स्ट्रेन्थिङ अफ सेक्युरिटी एण्ड जस्टिस (आइपीएसएसजे) परियोजना सफलतापूर्वक सम्पन्न गर्न सहयोग गरेकोमा राजदूत पोलिटलाई धन्यवाद दिएका थिए।
साथै परियोजनालाई निरन्तरता दिँदै बेलायतको फरेन कमनवेल्थ एण्ड डेभलपमेन्ट अफिस (एफसीडीओ) ले सन् २०२१ को अक्टोबरमै आइपीएसएसजे फेज-२ कार्यक्रम गर्न स्वीकृत गरिसकेको सन्दर्भमा नेपाल र बेलायतबीच यस सहयोगलाई कार्यान्वयन गर्न एमओयु हस्ताक्षर गर्ने सम्बन्धमा छलफल भएको थियो।
मन्त्री खाणले परियोजनाले पहिलो फेजमा सुरक्षा र न्यायमा जनताको पहुँच बढाउन, लैंगिक हिंसा रोक्न तथा प्रहरी र समुदायको सम्बन्ध थप बलियो बनाउन महत्वपूर्ण भूमिका खेलेको बताए।
यसकै निरन्तरता स्वरूप परियोजनाको दोस्रो फेज लागू गर्न आवश्यक एमओयूको मस्यौदामा नेपाल प्रहरीलाई धेरैभन्दा धेरै उपकरण र भौतिक संरचनामा सहयोग गर्ने गरी पुनरावलोकन गर्न नेपाल सरकारले गरेको आग्रहलाई बेलायतले सकारात्मकरूपमा लिएकोमा मन्त्री खाणले राजदूतमार्फत बेलायत सरकारलाई धन्यवाद व्यक्त गरेका थिए।
भेटमा बेलायती राजदूत पोलिटले नेपालमा संक्रमणकालीन न्यायबारे चासो व्यक्त गरेका थिए। मन्त्री खाणले राजनीतिक द्वन्द्व व्यवस्थापनका लागि सरकार विभिन्न राजनीतिक समूह र विद्रोहीसँग गरिएका सहमति कार्यान्वयनका लागि प्रतिवद्ध रहेको बताएका थिए।
उनले नेत्रविक्रम चन्द विप्लव, जनमत पार्टी र थारु कल्याणकारी सभासँग भएका सहमति कार्यान्वयनको चरणमा रहेको मन्त्री खाणले बताए।
सरकार दिगो शान्ति स्थापना, लोकतन्त्रको सुदृढीकरणका लागि विभिन्न राजनीतिक दलहरूसँग सहमति गरिएको र त्यो सहमति कार्यान्वयनको चरणमा रहेको बताए।
नेपालको संक्रमणकालीन अवस्थालाई निराकरण गर्न अन्तर्राष्ट्रिय नियोग र विदेशी समुदायले प्रदान गरेको सहयोगको लागि मन्त्री खाणले बेलायती राजदूतलाई धन्यवाद व्यक्त गरे।
प्रतिक्रिया दिनुहोस !