प्रदेश १ मा ७ सय १४ जना प्रहरी जवान दीक्षित
विराटनगर : प्रदेश १ प्रहरी तालिम केन्द्र विराटनगर रानीमा बिहीबार ७ सय १४ जना प्रहरी जवान दीक्षित भएका छन।
प्रदेश १ प्रहरी प्रमुख डीआईजी सुदीप गिरीको प्रमुख आतिथ्यमा दीक्षान्त समारोहको आयोजना गरी दीक्षित गरिएका प्रहरीमा १ सय ५४ महिला र ५ सय ६० जना पुरुष छन्। प्रहरी जवान १३९ औँ समूहको आधारभूत तालिममा सहभागिता जनाएकाहरुलाई दीक्षित गरिएको हो।
२ सय ३४ कार्यदिनको तालिम २०७८ असोज १७ गतेदेखि सुरु भएको थियो। तालिमका क्रममा विराटनगरस्थित तालिम केन्द्रमा ५ सय २४, प्रदेश १ प्रहरी गण रानीमा ९८ र नेपाल प्रहरी विशेष सुरक्षा गण दुहवीमा ९२ जना प्रशिक्षार्थीलाई प्रशिक्षण दिइएको थियो।
दीक्षान्त समारोहमा तालिम केन्द्रका सह–समादेशक डीएसपी चुर्तभुज ओझाले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए। तालिमको दौरानमा प्रशिक्षार्थीहरुलाई नेपाल र नेपाल प्रहरी संगठनको परिचय, सुरक्षा, प्रहरी कार्य तथा अपराध नियन्त्रण, अपराध अनुसन्धान र विद्यामान कानुन, प्रहरी युक्ति तथा कारबाही लगायतका विषयमा प्रशिक्षण दिइएको ओझाले बताए।
दीक्षान्त समारोहका अवसरमा तालिम केन्द्रका समादेशक एसएसपी राजेशनाथ बास्तोलाले प्रशिक्षार्थीहरुलाई नेपालको संविधान बमोजिम शपथ ग्रहण गराए।
उनले समाज र संगठनले अपेक्षा गरे अनुरुप निष्ठापूर्वक कार्य गर्नुपर्नेमा जोड दिए। तालिमअवधिभर प्रशिक्षार्थीलाई लिइएको चरणगत परीक्षाको प्राप्तांकका आधारमा प्रशिक्षार्थी प्रहरी जवान अच्यूतराज राई सर्वप्रथम भएका छन्।
राईसहित विभिन्न ९ वटा विधामा उत्कृष्ट भएका प्रशिक्षार्थी र तालिममा सहभागी प्रशिक्षकलाई डीआईजी गिरीले प्रमाणपत्रसहित नगद पुरस्कारले पुरस्कृत गरे। सर्वप्रथम हुने प्रहरी जवानलाई दर्ज्यानी चिह्न लगाइदिए।
समारोहलाई सम्बोधन गर्दै गिरीले चुनौती एवं जोखिमले भरिएको, तर मर्यादित प्रहरी पेशामा प्रवेश गर्न आफ्ना सन्ततिलाई हौसला प्रदान गर्ने अभिभावकप्रति आभार प्रकट गरेका छन्।
साथै दीक्षित प्रहरी जवानहरुलाई कार्य सफलताको शुभकामना पनि दिए। कार्यक्षेत्रमा मन वचन र कर्मले निष्ठापूर्वक, इमान्दार र बफादार भई उच्च मनोबलका साथ जनताको सेवामा खटिन उनको निर्देशन छ।
मानवअधिकारको उच्च सम्मान गर्दै शासक नभई सेवकका रूपमा कार्यक्षेत्रमा जनताको सेवा गर्नुपर्नेमा गिरीको जोड छ। उनले सिकाइको स्तरलाई परिस्कृत गर्दै अघि बढेर प्रशिक्षणको समयमा सिकेका र भोगेका कुरालाई कार्यक्षेत्रमा राम्रोसँग उतार्ने विश्वास पनि व्यक्त गरेका छन्।
प्रतिक्रिया दिनुहोस !