वडा कार्यालयका लागि २४ लाखको जग्गादान
महोत्तरी : गौशाला नगरपालिकामा वडा कार्यालय निर्माणका लागि एक व्यक्तिले निःशुल्क जग्गादान गरेका छन्। गौशाला नगरपालिका वडा नं. १२ एघार नम्बर टोलका राजकुमार महतोले वडा कार्यालयको भवन निर्माणका लागि २ कट्ठा जग्गादान गरेका हुन्।
साविकको वडा कार्यालय भन्दा उत्तरतर्फको बाटोमा पर्ने उब्जाउ २ कट्ठा जग्गा निःशुल्क रूपमा प्रदान गरेको जग्गादाता राजकुमार महतोले बताए। जग्गाको नामसारी केही दिनमा गरेर वडा कार्यालयलाई हस्तान्तरण गरिने महतोले जानकारी दिए।
जग्गा प्राप्तिका लागि अबको केही दिनमा प्रक्रियागत रूपमा अगाडि बढ्ने वडा नं. १२ का वडाअध्यक्ष कुशेश्वर सिंह कुशवाहाले बताए।
जग्गा अभावमा वडा कार्यालय सञ्चालनका लागि मुश्किल हुने गरेकाले अब जग्गा प्राप्ति भएपछि भवन निर्माणका लागि बाटो खुलेको वडाअध्यक्ष कुशवाहाले जानकारी दिए।
चलनचल्ती अनुसार सो जग्गाको मूल्यांकन करिब २४ लाख बराबर रहेको छ।
प्रतिक्रिया दिनुहोस !