पराजित उम्मेदवार धमाधम पार्टी परिवर्तन गर्दै

पराजित उम्मेदवार धमाधम पार्टी परिवर्तन गर्दै

राजविराज : प्रदेश र प्रतिनिधि सभाका लागि निर्वाचन कार्यक्रम घोषणा भएसँगै चुनावी माहौल आफ्नो पक्षमा देखाउन सप्तरीमा पार्टी प्रवेशको कार्यक्रमले तीव्रता पाउन थालेको छ। 

निर्वाचन नजिकिएसँगै गत स्थानीय तहमा पराजित भएका उम्मेदवारहरू मौका छोप्दै आफ्नो भविष्य सुनिश्चित गर्न धमाधम पार्टी परिवर्तन गर्न थालेका छन्। 

तीन महिनाअघि मात्र पार्टी परिवर्तन गरेर स्थानीय तहमा उम्मेदवार भएर पराजित बनेका नेता तथा कार्यकर्ता नै पार्टी प्रवेश गर्नेमा अगाडि छन्।  

निर्वाचनलाई लक्षित गर्दै पार्टी प्रवेश अभियानअन्तर्गत शनिबार जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले जिल्ला समन्वय समिति सप्तरीका पूर्व प्रमुख प्रभाकर यादवलाई पार्टी प्रवेश गराए। 

जसपा सप्तरीद्वारा राजविराजमा आयोजित कार्यक्रममा यादव, छिन्नमस्ता गाउँपालिका-७ की निवर्तमान वडा अध्यक्ष प्रमिलादेवी यादव, विवेकशील पार्टीका केन्द्रीय सदस्य सुमन कुमार मिश्र, अमरनाथ मण्डललगायतले जसपा प्रवेश गरे। जसपाका अध्यक्ष उपेन्द्र यादवले नवप्रवेशीलाई सदस्यता प्रदान गर्दै माला, गम्छा, टीका लगाएर पार्टी भित्र्याए। 


राजपाबाट जिसस प्रमुख बनेका प्रभाकर जसपा विभाजित हुँदा लोसपामा आबद्ध थिए। लोसपाले स्थानीय तह २०७९ मा उम्मेदवार नबनाए पछि उनी जनता प्रगतिशील पार्टीबाट छिन्नमस्ता गाउँपालिकाको अध्यक्षमा उम्मेदवार बने। प्रभाकरले ८९८ मत ल्याएर छैटौं स्थानमा रहँदा गाउँपालिका अध्यक्षमा लोसपाका उम्मेदवार विद्यानन्द चौधरी निर्वाचित भएका थिए।

प्रभाकरसँगै जनता प्रगतिशील पार्टी प्रवेश गरी वडा नम्बर ६ को अध्यक्षमा उम्मेदवार बनेका अमरनाथ मण्डलले ११७ मत ल्याएर सातौं स्थानमा रहेका थिए। प्रभाकरकी श्रीमती वडा नम्बर ७ की निवर्तमान वडा अध्यक्ष प्रमिलादेवीले ४०४ मत ल्याएर निकटतम् प्रतिद्वन्द्वी बनेकी थिइन्। 

पार्टी प्रवेशको कार्यक्रममा कृषि तथा पशुपक्षी विकास मन्त्री मृगेन्द्रकुमार सिंह यादव, मधेश प्रदेशका सामाजिक विकास मन्त्री नवलकिशोर साह, अर्थमन्त्री शैलेन्द्र प्रसाद साह, प्रतिनिधी सभा सदस्य डा. सुर्यनारायण यादव, प्रदेश सभा सदस्यहरू मनिस सुमन, विदेश्वर यादवलगायतको उपस्थिति रहेको थियो। 

यसअघि गत बिहीबार लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का युवा नेता तथा तिलाठी कोइलाडी गाउँपालिकाका पूर्वअध्यक्ष सतिशकुमार सिंह जनमत पार्टीमा प्रवेश गरे।

गत स्थानीय तहको निर्वाचनमा लोसपाबाटै उम्मेदवारी दिएका सिंहले ३ हजार ५७५ मत ल्याएर निकटतम् प्रतिद्वन्द्वी रहेका थिए। जनमत पार्टीका अध्यक्ष सिके राउतले सिंहलाई उनकै गाउँमा आयोजित सभामा पार्टी प्रवेश गराए। सिंहका बुबा शेखरप्रसाद सिंह राष्ट्रिय सभा सदस्य एवम् लोसपाका केन्द्रीय नेता हुन्। 

त्यसअघि सोमबार लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतो, नेताहरू शरतसिंह भण्डारी, अनिलकुमार झा, जितेन्द्र सोनल, जयप्रकाश ठाकुरलगायतको उपस्थितिमा तामझामका साथ राजविराजमा पार्टी प्रवेशको कार्यक्रम भयो। जसमा राजविराज नगरपालिकाका निवर्तमान नगर प्रमुख शम्भुप्रसाद यादवसहित निवर्तमान वडा अध्यक्षहरू लोसपा प्रवेश गरे। 

अघिल्लो स्थानीय तहको निर्वाचनमा तत्कालीन राजपाबाट नगरप्रमुखमा निर्वाचित भई जसपामा रहेका यादवले टिकट नपाएपछि मनोनयनको दिन माओवादी प्रवेश गरी राजविराज नगर प्रमुखको उम्मेदवार बनेका थिए। जसमा यादव ४ हजार ८०७ मत ल्याई निकटतम प्रतिद्वन्द्वी बने।

निर्वाचनको कार्यक्रम सार्वजनिक भएपछि सम्भावित उम्मेदवारहरू आ-आफ्नो क्षेत्रमा क्रियाशील देखिन थालेका छन्। स्थानीय तहमा पराजित भएका उम्मेदवारहरू आफ्नो भविष्य सुनिश्चित गर्न फरक पार्टीहरू रोज्न थालेका छन्। 

अहिले गाउँ-गाउँमा समेत पार्टी प्रवेशका कार्यक्रमहरू हुन थालेका छन्। पार्टी परिवर्तन गर्ने नेताहरूसँगै प्रवेश कार्यक्रममा उही अनुहारका कार्यकर्ताहरू देखिने गरेका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.