कचनकवल नागरिकता काण्ड, फरार अभियुक्त साढे दुई वर्षपछि पक्राउ

कचनकवल नागरिकता काण्ड, फरार अभियुक्त साढे दुई वर्षपछि पक्राउ

झापा : भारतीय नागरिकलाई वंशजका आधारमा नेपाली नागरिकता दिएका एक फरार अभियुक्त दुई वर्ष सात महिनापछि पक्राउ परेका छन्। 

पक्राउ पर्नेमा कचनकवल गाउँपालिका- २ बस्ने ५८ वर्षीय बमबहादुर गुरुङ रहेका प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए। 

झापा जिल्ला अदालत भद्रपुरले २०७६ फागुन ११ गते गरेको फैसलाबमोजिम झुट्टा विवरण पेस गरी विदेशी नागरिकले नेपाली नागरिकता लिन उद्योग गरेको मुद्दामा उनलाई ६ महिना कैद सजाय तोकिएको थियो। 

सोही दिनदेखि फरार रहेका गुरुङलाई प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले शुक्रबार बिर्तामोडबाट पक्राउ गरेको हो। 

उनलाई कैद भुक्तानका लागि झापा कारागार भद्रपुर पठाइसकेको डीएसपी पाठकले जानकारी दिए। 

यस्तो थियो घटना

गृह मन्त्रालयले जन्मसिद्धका छोराछोरीलाई वंशजका आधारमा नागरिकता दिने परिपत्र जारी गरेसँगै बमबहादुर र उनका श्रीमती चन्द्रकला गुरुङले आफ्नो जेठो छोरा भन्दै भारतीय नागरिक ३५ वर्षीय भूपाल गुरुङलाई नागरिकता दिलाउन जिल्ला प्रशासन कार्यालय झापामा गएका थिए। 

२०७६ वैशाख ८ गते कचनकवल २ नम्बर वडा कार्यालयबाट सम्पूर्ण कागजात तयार गरी उनी कार्यालय पुगेका थिए। 

नागरिकता बनाउन गएका भूपालमाथि शङ्का लागेर प्रशासन कार्यालय झापाका तत्कालीन अधिकृत गौरव ढुङ्गेलले सोधपुछ गर्दा स्थायी ठेगाना भारत भएको बताउँदै भारतीय मतदाता परिचयपत्र समेत देखाएका थिए। 

भारतीय परिचयपत्र देखाए लगतै प्रशासन कार्यालयमा खटिएका प्रहरी टोलीले भूपालसहित बमबहादुरलाई २०७६ वैशाख १० गते नियन्त्रण लिएर प्रहरी कार्यालय झापामा पठाएका थिए। 

भूपालको स्थानीय ठेगाना भारत असम राज्यको मणिपुर कानकोपी भनेर खुल्यो। भारतीय मतदाता परिचयपत्रमा उनको बुबाको नाम चन्द्रबहादुर गुरुङ उल्लेख थियो। 

त्यसपछि प्रहरी कार्यालय झापाको टोली किर्ते नागरिकता घटनाको विस्तृत अनुसन्धानमा जुट्यो। 

किर्ते नागरिकता बनाउने कार्यमा संलग्न देखिएको भन्दै अदालतले वडा अध्यक्षसहित ९ जनाको नाममा पक्राउ पुर्जी जारी गर्‍यो। 

कचनकवल-२ का तत्कालीन वडा अध्यक्ष मेखबहादुर भट्टराई, तत्कालीन वडा सदस्य धनबहादुर गुरुङ, वडा कार्यालयका तत्कालीन वडा सचिव हरिप्रसाद गौतम, कर्मचारी खगेन्द्रप्रसाद खतिवडा, कचनकवल २ बस्ने कविता गुरुङ, सोही ठाउँका गंगाप्रसाद भट्टराई, तुलसीराम गुरुङ, प्रेमप्रसाद तिम्सिना, शिवकुमार दाहालको नाममा पक्राउ पुर्जी जारी भयो। 

पक्राउ पुर्जी जारी भए पनि झापा प्रहरीले राजनीतिक दबाबका कारण कसैलाई पक्राउ गर्न चाहेन। लामो समयपछि उनीहरू आफैं अदालतमा उपस्थिति भए।  

पक्राउ परेका भूपाल र बमबहादुरलाई प्रहरी कार्यालय झापाले जेठ ३ गते अदालतमा लगेर मुद्दा दर्ता गराएका थिए। जेठ ३ गते अदालतले दुवै जनाको बयान मात्र लिइयो। 

जेठ ५ गते आइतबार न्यायाधीश सन्तोषप्रसाद पराजुलीको एकल इजलासले थुनछेकको आदेश सुनाउँदै भारतीय नागरिक भूपाललाई पुर्पक्षका लागि कारागार चलान गरेका थिए। बमबहादुरलाई ३० हजार धरौटी तिराएर तारिखमा रिहा गरिएको थियो। 

अन्य ९ जनालाई पनि अदालतले ४० देखि ५० हजारसम्म धरौटी लिएर तत्काल रिहा गरेका थिए। अदालतको २०७६ फागुन ११ गतेको फैसला अनुसार भारतीय नागरिक भूपाललाई एक वर्ष कैद, प्रतिवादीहरू बमबहादुर ६ महिना कैद, धनबहादुर गुरुङलाई ३ महिना कैद सजाय सुनाएका थिए। 

तत्कालीन वडा अध्यक्ष मेखबहादुर भट्टराई, वडा सचिव हरिप्रसाद गौतम, कर्मचारी खगेन्द्रप्रसाद खतिवडा , कविता गुरुङ, प्रेमप्रसाद तिम्सिना, गंगाप्रसाद भट्टराई, शिवकुमार दाहाल र तुलसीराम गुरुङलाई जनही १५/१५ हजार जरिवाना तिर्नुपर्ने फैसला सुनाइएको थियो। 

जिल्ला अदालतको फैसला चित्त नबुझेपछि केही व्यक्तिहरू उच्च अदालत विराटनगर, इलाम इजलास पुनरावेदन गर्न धाइरहेका छन्। 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.