पहिचान बन्दै पुलहरू

पहिचान बन्दै पुलहरू

जबसम्म तपाईं आफ्नो असुरक्षाको पुल पार गर्नुहुन्न, तबसम्म तपाईं आफ्ना सम्भावनाहरू अन्वेषण गर्न सक्नुहुन्न। टिम फार्गोले भनेजस्तै हामीले पुल पार गर्नुपर्छ, गरिरहनु पर्छ र हाम्रा लागि सम्भावना के छन् भनेर हेर्नुपर्छ, हेरिरहनु पर्छ। मानिसको जीवनसँग जोडिएको यो दर्शनले जगत्का आयामसँग पनि साक्षात्कार गराउँछ। अज्ञातले भनेका छन्, ‘जीवन एउटा पुल हो। यसलाई पार गर्नुहोस् तर त्यसमा कुनै घर भने बन्दैन।’ अर्थात्, पुलले जोड्ने मात्र काम गर्छ। पुलले खाडल पुर्ने काम गर्छ। एउटा गन्तव्यलाई अर्को गन्तव्यसँग भेट्टाइदिन्छ, जोडिदिन्छ। तर, आजको सन्दर्भ भने वारि र पारिको भूगोल जोड्ने पक्की पुलहरूसँग सम्बन्धित छ।

नेपालको सन्दर्भमा भौगोलिक बनोटका कारण पुल अत्यावश्यक छ। तराई होस् वा पहाड, पुलबिना सम्पूर्ण विकास अधुरा रहन्छन्। त्यसैले विकासको सूचकको रूपमा पुललाई लिइएको छ। समयक्रम बदलियो। गोरेटो, घोडेटो, चक्रेटो स्वरूपमा मार्गहरू बन्न थाले। यस्ता मार्गमा झोलुंगे पुल बनाउन थालियो। जसले तुइनलाई समेत विस्थापित गर्ने काम गर्‍यो। तर, यसले गाडीहरू नचल्ने स्थानका निमित्त महत्त्व राख्यो। सिधा भन्नुपर्दा चारपाङ्ग्रे सवारीसाधन गुड्ने सडक सुविधा नपुगेका ठाउँमा झोलुंगे पुलको अपरिहार्यता रह्यो। तर अब गाडी गुड्ने सडक सञ्जाल बाक्लिँदै गएको सन्दर्भमा यत्रतत्र सर्वत्रलाई दृष्टिगत गर्ने हो भने पक्की पुल नै अन्तिम विकल्प बन्दैछ।

६३ हजार नदीनाला, पुलको इतिहास र वर्तमान पक्की पुलको सन्दर्भमा नेपालमा २ सय १० वर्षको इतिहास छ। नेपालमा झोलुंगे पुलहरू नै सबैभन्दा बढी बनेको तथ्यांक छ। सडक सञ्जालसँगै पक्की पुल बढाउनु जरुरी देखिन्छ। भविष्य वर्तमानमा खोजिन्छ, त्यसको आधार हुन्छ विगत। नेपालले कछुवाको गतिमा विकास गरे पनि पुललाई पूर्वाधार विकासको एउटा आधारस्तम्भको रूपमा ग्रहण गरेको छ भन्न सकिन्छ। सडक आर्थिक विकासका लागि नभै नहुने पूर्वाधार हो। सडकको पहुँचले मात्र ठाउँलाई आर्थिक विकासका निमित्त योग्य बनाउँछ।

हाम्रो देशमा ६३ हजार नदीनाला छन्। तसर्थ सडकका विभिन्न विन्दुमा पुलको आवश्यकता छ। पुल निर्माण भएपछिमात्र सडकलाई बाह्रैमहिना सुचारु राख्न सकिन्छ। विश्व सन्दर्भबाट पाठ सिक्ने हो भने नेपालका विभिन्न सहरमा सडकमाथि आकाशमा पुल अर्थात् ‘फ्लाई ओभर’को अवधारणा अनिवार्य भइसकेको छ। विकसित मुलुकमा पुलको उपयोगितालाई हेर्ने हो भने पुल वारिपारि तर्नेमा मात्र सीमित छैनन्। तिनमा अनेक आकर्षक डिजाइन प्रयोग गर्न थालिएको छ। एउटा पुलमा अनेक फाइदा लिने गरी अवधारणा अघि सारिँदैछन्। पुलहरूले परिचय नै बदल्छन् भन्ने पुष्टि गर्ने विभिन्न दृष्टान्त स्थापित भइसकेका छन्।

देश चिनाउने/परिचय बदल्ने पुल

बेलायतको लन्डन ब्रिज, लन्डनकै टावर ब्रिज, अमेरिकास्थित क्यालिफोर्नियाको गोल्डेन गेट ब्रिज, अस्टे«ेलियाको सिड्नी हार्बोर ब्रिज, भारतको कलकत्तास्थित हाउडा ब्रिज आदिले देश चिनाएका छन्। बंगलादेशले विश्वलाई चकित पार्दै गंगाजमुना नदीमा रेल र गाडी कुद्ने पद्मा मल्टिपर्पोज ब्रिज उद्घाटन गर्‍यो। उसो त चीनले पुल निर्माणमा भिन्दै रेकर्ड राख्ने गरी छलाङ मारेको छ। नेपालको कोसी नदीमा भारतले बनाइदिएको तत्कालीन अवस्थाको ठूलो र विशेष पुल हो, कोसी ब्यारेज। सन् १९९३ मा बनाइएको पूर्व–पश्चिम (महेन्द्र राजमार्ग) राजमार्गस्थित चिसापानीमा बनेको कर्णाली पुलले पनि लामै चर्चा पायो। हालसालै निर्मित राजधानीको बिजुलीबजारस्थित ‘नेटवर्क आर्क ब्रिज’ नेपालकै नमुना पुल हो।

विकासको परिभाषा समयअनुसार बदलिनु पर्छ। अब पुल पनि ‘अनेक प्रयोजनमा आउन सक्ने गरी बनाइनु पर्छ। ‘देश चिनाउने पुल’ बन्नुपर्छ। जनमानसमा पुलमा भ्रष्टाचार हुन्छ, बनाउनासाथ भत्किन्छन् भन्ने नकारात्मक छाप छ। तथापि केही नवनिर्मित पुलले विकासको परिभाषा नै बदल्दैछन् र देश चिनाउने सम्पदा बन्दै छन् भनेर बुझ्दा अत्युक्ति हुने छैन। काठमाडौंमा बनेको बिजुलीबजारको ‘नेटवर्क आर्क ब्रिज’ ले काठमाडौंको परिचय बदलेको छ। पाल्पा, गुल्मी र स्याङ्जा जोड्न रुरु क्षेत्रमा तीनमुखे पुल निर्माणाधीन छ। कालीगण्डकी नदीमाथि बनिरहेको यो पुलको डिजाइन पनि नेपालमा पहिलो हो। पुलको बीचमा २५ मिटर अग्लो भ्यु टावर छ। यो पुल सम्पन्न हुनासाथ देश चिनाउने सामथ्र्य राख्नेछ।

जीवन बदल्ने/जगत् लोभ्याउने पुलहरू

बागलुङको बागलुङ नगरपालिकाबाट पर्वतको कुस्मा नगरपालिकास्थित पाङ पुग्न ओरालो–उकालो पैदल हिँड्दा डेढ घण्टा लाग्थ्यो। २०७७ सालमा झोलुंगे पुल बन्यो। दूरी घट्यो। पहुँच सहज भयो। यतिमात्र होइन, सिंगल स्पानमा बनेको ५ सय ६७ मिटरको यो पुल नेपालकै लामो झोलुंगे पुल हो। विश्व परिवेश हेर्दा स्विट्जरल्यान्डमा सिंगल स्पानमा ४ सय ९४ मिटरको मात्र छ। त्यसैले गिनिज बुक अफ वल्र्ड रेकर्डस्मा नाम लेखाउन सरकारी प्रक्रिया अघि बढाइएको छ। यसले पनि नेपालको एउटा पहिचान बनाउने देखिन्छ। सीमा पारिका दुई गाउँ भनेर चिनिने महाकालीका चाँदनी र दोधारालाई जोड्ने झोलुंगे पुल पर्यटकीय गन्तव्य बनेको छ। १ हजार ४ सय ५२ मिटर लामो महाकाली नदीमाथि बनाइएको यो पुल दक्षिण एसियाकै दोस्रो लामो पुलको पहिचान बनाउन सफल छ। पुलमा बनाइएका ३२.७ मिटर अग्ला सात टावरले आकर्षण थपेका छन्। प्रचार गर्न सके उल्लेखित दुवै पुल गैरनेपाली समेतका लागि आकर्षक पर्यटकीय गन्तव्य बन्न सक्छन्।

नारायणी नदीपारि सुस्तामा नेपालकै सबैभन्दा लामो १ हजार ५ सय ७१ मिटर लामो झोलुंगे पुल निर्माणाधीन अवस्थामा छ। यस्तै, गण्डकी प्रदेश सरकारले त्रिशूली र कालीगण्डकीको संगमस्थल देवघाटमा तीनमुखे पुल निर्माण गर्ने भएको छ। पुलले दुईवटा प्रदेश र तनहुँ, चितवन र नवलपरासी गरी तीन जिल्लासमेत जोड्नेछ। यो पुल सञ्चालनमा आएपछि देवघाटको धार्मिक पर्यटन अझ फस्टाउने छ। जीवन बदलिनेछ। यसरी दीर्घकालीन दृष्टिकोणका साथ अघि बढ्ने हो भने यस्ता पुलले पहिचान दिने, जीवन बदल्ने र जगत् लोभ्याउने निश्चित छ।

स्काई वाक टावरको परिकल्पना

केही समयअघिसम्म ‘आकाशे पुल’ आकाशको फल आँखा तरी मर भन्ने उखानझैं लाग्थ्योे। २०७४ सालसम्ममा १० वटा यस्ता पुल बने। खासमा दुर्घटना कम गर्ने उद्देश्यले बनेका यी पुल सहरको आकर्षण पनि हुन्। राजधानीमा अझै दर्जनौं यस्ता पुलको आवश्यकता छ। नेपालमा पहिलो पटक ‘स्काई वाक टावर’ (आकाश मार्गमा हिँड्ने टावर) निर्माण गरिने भएको छ। विकसित देशहरूमा बनेका सिसैसिसाका यस्ता टावर हेर्दै आङ सिरिङ हुने खालका हुन्छन्। समयमा नबन्ने रोगले यस परियोजनालाई पनि छाडेन। यदि बन्यो भने यो स्काइ वाक टावर नेपाल मात्र होइन, दक्षिण एसियामै पहिलो हुनेछ। चीन, क्यानडा र अमेरिकाजस्ता देशले यस्ता टावरबाट बर्सेनि करोडौं पर्यटक तान्छन्। नेपालमा पनि विभिन्न १० ठाउँमा यस्तै स्काई वाक टावरको निर्माणका लागि सम्भाव्यता अध्ययन÷अनुसन्धानको काम भइरहेछ।

पुलमा जोडिएको राजनीति

पुल आवश्यकता र उपयोगितालाई विचार गरेर बन्नु पर्नेमा इच्छाविपरित र दबाबमा परेर धेरै पुलहरू निर्माण भइरहेका छन् भन्दा नमिठो लाग्छ। सडक विभाग स्वीकार्छ, योजना छनोटमा परेका र आवश्यकता देखिएका स्थानमा थोरै र पूर्वसम्भाव्यत्ता अध्ययन नभएका स्थानमा धेरै पुल बनाउनु पर्ने बाध्यता छ। राजनीतिक लाभ लिने प्रवृत्तिले यसो भएको हो। वास्तवमा देश प्रणालीमा नचल्दा र दलीय स्वार्थमा लपेटिँदासम्म पुल र सडकमा हुने भ्रष्टाचार र त्यसका कारण हुने कमसल कामले अधोगतितिर नै धकेल्दैछ। अरू देशले अग्रगामी छलाङ मारिरहँदा नेपाल ती देशको पछिपछि दौडनेसम्म हैसियत बनाउन सकिरहेको छैन। अझ पुल र सडकमा दीर्घकालीन सोच र सोहीअनुसार लगानी गरी यिनमा परिचय खोज्ने कहिले ?

सडक विभागको भनाइ छ– २ देखि ५ करोड रुपैयाँसम्मका पुल योजनामा सूचीकृत छन्। तर, पुलमा बजेट १० लाखदेखि बढीमा ५० लाख रुपैयाँमात्र छुट्टिने गर्छ। पुल बनिसक्छ तर रकम तिर्न नसक्ने अवस्था छ। २०५० सालको जनशक्तिले आजसम्म काम गरिरहेको तीतो यथार्थ छ सडक र पुलमा। सडक विभागले बनाउने रणनीतिक पुलमा भौगोलिक, प्राविधिक, निर्माण सामग्री, ठेक्काप्रक्रिया, बजेट, भौगोलिक आदि सबै किसिमका समस्या देखिन्छन्। झन्डै १२ सय पुलमध्ये करिब ९ सय पुल स्थानीय सडकमा बनिरहेका छन्। रणनीतिक सडकमा पुल बनाउने जिम्मेवारी पाएको सडक विभाग ऐनकानुनले नतोकेका यस्तै स–साना पुलमा अल्झिरहेको छ।

पुलको कथामा ‘क्लाइमेक्स’

नेपालमा हालसम्म दुई हजारको हाराहारीमा पुल छन् भने १२ सय पुल बनिरहेको तथ्यांक पाइन्छ। पुल निर्माणका हरेक काममा सन्तुलन जरुरी छ तर कहिले ? प्रश्न र प्रश्नहरू अनुत्तरित छन्। पुलको आयु ५० वर्ष भनी बनाइएकोमा करिब आठ सय पुल पुनः नयाँ बनाउनुपर्ने देखिन्छ। पुनः बनाउँदा सरकारले अब पहिचान बन्ने पुल बनाउनु पर्छ। पथलैया, ढल्केबर र नारायणी नदीका जस्ता ६८ वटा पुलको आयु लगभग सकिएको छ। पुराना करिब १० प्रतिशत अर्थात् १ सय २६ पुल मर्मत गर्न प्रविधि र प्राविधिक जनशक्तिको समस्या छ। त्यसो त हाइड्रोलोजी, टोपोग्राफी र जियोलोजीजस्ता विशेष समस्याले नेपालको भूगोलमा पुल निर्माण सहज छैन।

स्पष्ट कानुन र त्यसको सहज कार्यान्वयनको वातावरण बनाउन नसक्दा सरकार विकासमा बारम्बार चुकिरहेको छ, चुकिरहन्छ। पेचिलो कुरा पुलमा राजनीति हावी छ। यसले दर्जनौं समस्या निम्त्याइरहेको छ। तर पनि दलीय शीर्षनेता एक भएर अघि बढ्दैनन्। भविष्यप्रति आशा जगाउने कुरा विश्व बैंकले नेपालका रणनीतिक सडकमा पर्ने पुल निर्माण तथा मर्मतका लागि १ सय ३३ मिलियन अमेरिकी डलर (१५ अर्ब रुपैयाँ) ऋण दिने भएको छ। यातायात मेरुदण्डको रूपमा रहेको १३ हजार १ सय ४२ किलोमिटर सडकलाई जोड्ने १ हजार ७ सय ७३ पुलको दिगो निर्माण तथा सुधारका लागि यो ऋण प्रयोग गर्न सकिनेछ। कामना गरौं, नेपालले पुलका माध्यमबाट पनि परिचय बदल्नेछ। यस्तो पुल बनाउन सके तिनले लगानी मात्र खोज्ने छैन, प्रतिफल पनि प्रदान गर्नेछ।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.