उम्मेदवार सिफारिस साना दललाई सहज, ठूलालाई सकस

उम्मेदवार सिफारिस साना दललाई सहज, ठूलालाई सकस

ओखलढुंगाः आसन्न मंसिर ४ को संसदीय निर्वाचनमा दलहरू उम्मेदवार चयन गर्ने क्रममा जुटेका छन्। 

सत्तारूढ गठबन्धनका साना दलहरूले उम्मेदवारी चयन गरीसकेका छन् भने कांग्रेस र माओवादी केन्द्र उम्मेदवार सिफरिस गर्ने तयारीमा छन्। 

गठबन्धनमा रहेका साना दलहरूले जिल्लामा गठबन्धनको तर्फबाट कम्तिमा एक सिट मागिरहेका छन्। उनीहरूले केन्द्रमा दवाव दिन पहिले नाम सिफारिस गरेर सिट नपाए एक्लै चुनावी मैदानमा जाने भन्दै गठबन्धनलाई चुनौति दिएका छन्। 

गठबन्धनको मुख्य दल नेपाली कांग्रेसले जनतासँग कांग्रेस अभियान चलाइरहेको छ। जिल्ला अभियान सकेर तत्कालै उम्मेदवार सिफारिसको काम गर्ने कांग्रेसले जनाएको छ। उम्मेदवार सिफारिसका लागि निर्वाचन क्षेत्रीय कमिटी र जिल्लाको बैठकबाट गर्ने तयारी गरीएको कांग्रेस जिल्ला सचिव राजकुमार ढुंगाना बताउँछन्। 

गठबन्धन हुने र ठूलो पार्टी भएकाले कांग्रेसलाई उम्मेदवार छान्न सकस छ। मुख्य गरी संघमा केन्द्रीय सदस्यहरू प्रदीप कुमार सुनुवार र रामहरि खतिवडाको दावी छ। प्रदेश क मा बालकृष्ण दाहाल नविन राई, लिला भन्दभ दाहाललगायत नेताहरू छन्। 

प्रदेश ख मा कुमार लुईटेल, रुद्र अधिकारी लगायतको मुख्य दावी छ। 'आकांक्षी सबैको नाम सिफारिस हुन्छ, सिफारिसमा कञ्जुस्याई हुँदैन। टिकट त केन्द्रीय संयन्त्रबाट मूल्यांकनका आधारमा निर्णय भइहाल्छ नि' केन्द्रीय सदस्य रामहरि खतिवडा भन्छन्। 

गठबन्धनको अर्को घटक नेकपा माओवादी केन्द्रले भदौ १८ मा उम्मेदवार छनौट गर्दै छ। जिल्लामा गठबन्धनको तर्फबाट उसले प्रदेश मा १ सिट दावी गरेको छ। उम्मेदवार सिफारिस गर्दा उसले संघमा समेत गर्ने तयारी गरेको छ। माओवादीको मुख्य माग प्रदेश सभामा १ सिट छ। नेताहरू प्रदेशको सिटमा 'क' कि 'ख' भन्ने लविङमा रहेका छन्। जिल्ला समन्वय समितिको बैठकले उम्मेदवार सिफारिस गर्ने कार्यालय सचिव नवराज खड्काले बताए। 

गठबन्धन भएमा प्रदेश क बाट रामकुमार कार्की मुख्य दावेदार हुन्। उनी यसअघि जिल्ला नेतृत्वमा रहिसकेका नेता हुन्। गुणकुमार राई, खुद बहादुर खत्री र चम्पक सुनुवार समेत प्रदेशको उम्मेदवारीमा दावी गर्दै आएका छन्। 

त्यस्तै प्रदेश ख मा वर्तमान सांसद मोहन कुमार खड्का र केन्द्रीय सदस्य बाबुराम गौतम मुख्य दावेदार हुन्। चम्पा कार्की र खड्ग योगी पनि प्रदेशमा सभामा दावी गर्ने मुख्य नेता हुन्। 

साना दलले गरे सिफारिस 

नेकपा एकिकृत समाजवादी र जनता समाजवादी पार्टीले जिल्लाबाट प्रदेश तथा संघमा उम्मेदवार सिफारिस गरेका छन्। समाजवादीले संघमा प्रत्यक्षतर्फ नेत्रप्रसाद भट्टराई, मेख बहादुर खड्का, छत्रबहादुर कार्कीलाई उम्मेदवार सिफारिस गरेको छ।  
प्रदेश क मा राजन खत्री, संजीव गुरुङलगायत छन्। प्रदेश ख मा कमल खड्का, यमचन्द्र कट्वाल, पूर्णकुमारी सुवेदी रहेको जिल्ला ईञ्चार्ज नेत्रप्रसाद भट्टराईले बताए। समानुपातिकतर्फ संघमा निर्मला श्रेष्ठ र प्रदेशमा शारदा निरौला, तिलक लोहनी, अम्बीका प्रसाद भट्टराई छन्। 

त्यस्तै अर्को गठबन्धन घटक जनता समाजवादीले पनि उम्मेदवार सिफारिस गरेको छ। 

संघतर्फ केन्द्रीय सदस्य जुद्धबहादुर राईलाई उम्मेदवार सिफारिस गरेको छ। त्यस्तै, प्रदेश क. मा खेमराज खड्का र नवराज गुरुङ र प्रदेश ख. मा प्रभुराम श्रेष्ठ र दीपेन्द्र रुम्दालीलाई उम्मेदवार सिफारिस गरेको छ। 

संघमा समानुपातिकतर्फ जानुका राई, अञ्जु श्रेष्ठ, नेत्रबहादुर नेम्बाङ, धीरेन्द्र रुम्दाली, शान्त बहादुर घतानी, रामकृष्ण मगर र प्रकाश तामाङ सिफारिस भएका छन्। 

यसैगरी, प्रदेश समानुपातिकतर्फ आङछेपाल शेर्पा, दीर्गमान तामाङ, छिरिङदोर्जे शेर्पा, केशव रम्तेल, निमा शेर्पा, स्विटी कुमारी साह, टेक कुमारी राई, मान कुमारी तामाङ, योगमाया राई र खडानन्द तिमिल्सिनाको नाम सिफारिस गरिएको छ।  
जसपामा एकै परिवारका दुई दुई जना सिफारिस भएका छन्। 

संघमा प्रत्यक्षमा सिफारिस भएका जुद्धबहादुर राईकी बहिनी जानुका राई र प्रदेश ख मा प्रत्यक्षमा सिफारिस भएका प्रभुराम श्रेष्ठकी पत्नि अञ्जु श्रेष्ठ संघको सामानुपातिकमा सिफारिस भएका छन्। एक जिल्ला सदस्यले पार्टीमा योगदानभन्दा परिवारवाद हावी भएको भन्दै आक्रोश पोखे। 

एक्लै भिड्दै एमाले 

प्रमुख प्रतिपक्षी नेकपा एमाले ओखलढुंगामा एक्लै चुनावी मैदानमा उत्रिने तयारीमा छ। एमालेबाहेक जिल्लामा क्रियाशील दलहरू एकापट्टि लागेपछि एमालेले एक्लै मैदानमा जाने तयारीमा लागेको हो। नेताहरू जिल्ला दौडाहामा लागेका छन्। 

एमालले भदौ २१ म उम्मेदवार चयन गर्ने जनाएको छ। २० गतेसम्म निर्वाचन क्षेत्रीय कमिटीबाट उम्मेदवार सिफारिस मागेर जिल्लाबाट प्रदेशमा एक सिटमा बढीमा ३ जना हुने गरी जिल्लाले उम्मेदवार सिफारिस गर्ने एमालेका जिल्ला सचिव कमलप्रसाद न्यौपानेले बताए। 

एमालेमा संघमा केन्द्रीय सदस्य किशोर अधिकारी र यज्ञराज सुनुवार तथा प्रदेश सांसद अम्बीरबाबु गुरुङ मुख्य दावेदार छन्। 

प्रदेश क मा पूर्व जिल्ला अध्यक्ष मोहनकुमार श्रेष्ठ, जिल्ला अध्यक्ष शंकर कट्वाल, उपाध्यक्ष हर्कबोल राई प्रदेश सदस्य केदारबाबु बस्नेत लगायत दावेदार छन्। प्रदेश ख मा नानीबाबु बुढाथोकी, तीर्थ सुवेदी, जिबी खड्का लगायत दावेदार देखिएका छन्। 

एमालेले १ संघ र २ प्रदेशमा ३/३ जनाका दरले प्रदेश कमिटीमा नाम पठाउने जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.