शैक्षिक परिपाटीलाई सीप र आर्थिक विकाससँग जोडौं : अध्यक्ष प्रचण्ड
खयरमारा (महोत्तरी) : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले देशका वर्तमान शैक्षिक परिपाटीलाई विश्वस्तरको सीप र आर्थिक विकाससँग जोडिनुपर्ने आवश्यक रहेको बताएका छन् । सोमबार महोत्तरीको वर्दिवास नगरापालिका खयरमारामा निर्मल लामा बहुप्राविधिक शिक्षालय भवनको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् ।
पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले भने, ‘शैक्षिक क्षेत्रलाई सीपसँग जोडनुको विकल्प छैन् । वर्तमान २१ औ शताब्दीमा विश्वका शैक्षिकस्तरसँग नेपालको शिक्षास्तरलाई तुलानात्मक रुपमा अगाडि बढाउनुपर्छ । यहाँका शिक्षालयमा विश्वस्तरमा प्रतिस्पर्धा गरिने किसिमको प्राविधिक शिक्षा प्रदान गर्नु अत्यन्त आवश्यक छ । नेपालका विद्यार्थीहरु पनि शिक्षासँग सीप र आर्थिक विकासको पाटो सहितको शिक्षा हाँसिल गर्ने शिक्षालयको स्थापना हुनु आवश्यक छ । तसर्थ बहुप्राविधिक शिक्षालयको अहम भूमिका रहेको छ ।’
नेपालको शिक्षा विश्वस्तरमा पहिचान गराउने किसिमको हुनुपर्नेमा अध्यक्ष प्रचण्डले जोड दिएका छन् । निर्मल लामा बहु प्राविधिक शिक्षालय मधेश प्रदेशमा मात्र सीमित नभई यसले देशभरिकै शिक्षा क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्नेमा प्रचण्डले विश्वास व्यक्त गरेका छन् ।
कार्यक्रममा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल, शिक्षा राज्यमन्त्री वोधमाया यादव, पूर्वशिक्षामन्त्री गिरिराजमणि पोखरेल, मधेश प्रदेशका गृह तथा संचारमन्त्री भरतप्रसाद साहलगायका वक्त्ताहरुले निर्मला लामा बहुप्राविधिक शिक्षालयको आवश्यकता र भूमिकाको विषयमा चर्चा गरेका थिए ।
सीटीईईभीटीद्वारा संचालित सो बहुमुखि शिक्षालय भवनको शिलान्यास समेत भएको हो । भवन कोरियाली सरकार (कोयका) को आर्थिक तथा प्राविधिक सहयोगमा आधुनिक सुविधासम्पन्न भवन निर्माण हुने शिक्षालयका प्रमुख रमण मेहताले बताए।
प्रतिक्रिया दिनुहोस !