निक्षेपमा झिनो सुधार

निक्षेपमा झिनो सुधार

काठमाडौं : चालू आर्थिक वर्षको दोस्रो महिना निक्षेप संकलनमा झिनो सुधार भएको छ। गत आवको अन्त्यतिर वाणिज्य बैंकको निक्षेप वृद्धि घटेको भए पनि भदौ तेस्रो सातामा आएर ११ अर्बले निक्षेप वृद्धि भएको हो। चाडपर्व नजिकिँदै गर्दा बैंकिङ प्रणालीमा देखिएको झिनो सुधारले कर्जा प्रवाहमा खासै सहज नबनाउने बैंकरको भनाइ छ। यद्यपि  दसैं, तिहारको खर्चका लागि व्यवसायीले लगानी गर्न र आम ग्राहकले किनमेलमा खर्च गर्दा प्रणालीबाट अझै पैसा बाहिरिने अनुमान छ।

नेपाल बैंकर्स संघले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार भदौ पहिलो र दोस्रो साता ४४ खर्ब २६ अर्ब रुपैयाँ निक्षेप थियो। अहिले ४४ खर्ब ३७ अर्ब रुपैयाँ पुगेको छ। कुल निक्षेपमा १ खर्ब १३ अर्ब रुपैयाँ वैदेशिक मुद्रामा छ। बाँकी ४३ खर्ब २५ अर्ब रुपैयाँ स्वदेशी मुद्राको निक्षेप हो। विदेशी मुद्रामा संकलन भएको निक्षेप यसअघिको साता १ खर्ब ११ अर्ब थियो। अहिले २ अर्बले सुधार भएको तथ्यांकमा उल्लेख छ। 

जबकि यसअघि सातामै खर्बौं रुपैयाँले बैंकिङ प्रणालीबाट निक्षेप गायब भएको थियो। साउन ३१ गतेसम्म कुल ४१ खर्ब ७७ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको थियो। सो अवधिसम्ममा बैंकिङ प्रणालीबाट १ खर्ब ८ अर्ब रुपैयाँ बाहिरिएको थियो। जबकि असारसम्ममा बैंकसँग कुल ४५ खर्ब ४१ अर्ब रुपैयाँ बराबरको निक्षेप थियो। साउनलगत्तै प्रत्येक साता बैंकबाट अर्बौं रुपैयाँ निक्षेप घट्दै गएर ४४ खर्ब ३३ अर्ब रुपैयाँमा सीमित भएको थियो। 

तर, समग्र बैंकमा सातामा ८–१० अर्ब बढ्नु खासै महत्त्वपूर्ण नभएको सिभिल बैंकका प्रमुख कार्यकारी निर्देशक (सीईओ) सुनील पोखरेल बताउँछन्। उनका अनुसार बैंकको निक्षेपमा खासै वृद्धि हुन नसकेका बेला  थोरै बढ्नु स्वाभाविक हो। ‘प्रत्येक बैंकको सातामा निक्षेप १–२ प्रतिशतले तलमाथि हुनु स्वाभाविक हो। यसलाई असामान्य मान्न मिल्दैन। अपेक्षाअनुसार खासै निक्षेप संकलन भएको छैन। निक्षेपको मासिक रूपमा ब्याजलाई पुँजीकरण गर्दा बढेको देखिएको हो,’ सीईओ पोखरेलले भने, ‘चाडपर्व नजिकिँदै छ। ग्राहकको खर्च बढ्ने भएकाले निक्षेप घट्ला तर चुनावसम्मको अवस्थामा बैंकको निक्षेप संकलनमा धेरै सुधार होला।’ उनले पर्यटकीय सिजन आउन थालेकाले पुसदेखि बैंकको अवस्था पनि सुध्रिने उनको आकलन छ।

एकातिर बैंकले लगानी गर्ने मुख्य स्रोत निक्षेप अपेक्षाअनुसार संकलन गर्न सकेका छैनन्। अर्कोतर्फ कर्जा प्रवाहको क्षमता पनि कसिलो छ। साथै बैंकमा कर्जाको माग पनि आएअनुसार दिन नसकेकोे बैंकर सुनाउँछन्। बैंकले गर्ने लगानीले कर्जा निक्षेप (सीडी रेसियो) अनुपात झन् कसिलो बन्दै गएको छ। संघका अनुसार भदौ १७ सम्ममा उक्त रेसियो औसत ८८.२५ प्रतिशत पुगेको छ। जबकि नेपाल राष्ट्र बैंकले असार मसान्तपछि सीडी रेसियो ९० प्रतिशत हुनै पर्ने व्यवस्था गरेको थियो। यद्यपि बैंकले गत आर्थिक वर्षभर पूरै तरलता (लगानीयोग्य रकम) अभावमा बिताएका थिए। यसकारण गत आवमा सबै वाणिज्य बैंकको सीडी रेसियो कसिलो थियो। यस पटक पनि अवस्था खासै फरक छैन। किनभने हरेक बैंकले सीडी रेसियो १–२ प्रतिशतको कुशनमा राखेर बस्न जरुरी भएकाले बढीमा ८७ प्रतिशतमात्रै भए राम्रो मान्न सकिने सीईओ पोखरेलको तर्क छ। 

लगानी क्षमता कसिलो भए पनि बैंकले भदौ तेस्रो साता कर्जा प्रवाह १ अर्बले बढाएर कुल ४१ खर्ब ८१ अर्ब रुपैयाँ पुर्‍याएका छन्। कुल कर्जामा विदेशी मुद्रामा ३० अर्ब रुपैयाँ लगानी भएको छ। बाँकी ४१ खर्ब ५२ अर्ब रुपैयाँ स्वदेशी मुद्रामा लगानी भएको संघको तथ्यांकमा उल्लेख छ। यद्यपि उक्त कुल कर्जा साउनपछि ४ अर्बले वृद्धि भएको छ। किनभने गत साउन मसान्तसम्म कुल कर्जा ४१ खर्ब ७७ अर्ब रुपैयाँ पुगेको थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.