प्रतिष्ठानका डाक्टरको आन्दोलन फिर्ता

प्रतिष्ठानका डाक्टरको आन्दोलन फिर्ता

कालीकोट : डाक्टर र कर्मचारीबीचको झगडाका कारण आन्दोलनरत कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टर तथा स्वास्थ्यकर्मीहरूले आन्दोलन फिर्ता लिएका छन्। प्रतिष्ठानमा कार्यरत डा. करण साहलाई लगाइएको मुद्दा फिर्ता लिन तयार भएपछि आन्दोलन फिर्ता लिएका हुन्। 

प्रतिष्ठानका रजिष्टार नृपेन्द्रबहादुर महतले जुम्लामा बुधबार र बिहीबार प्रशासनमा भएको सर्वदलीय छलफलमा सहमती भएपछि आन्दोलन फिर्ता लिएर शुक्रबारदेखि नियमित सेवा प्रवाह गर्न तयार भएको बताए। उनले भने, ‘प्रतिष्ठानमा कार्यरत डाक्टर करण साह र प्रतिष्ठानमै कार्यरत ओपीडी सहायक धनबहादुर साहीबीचको झगडाका कारण भदौ २ गतेदेखि यहाँका डाक्टर तथा स्वास्थ्यकर्मीहरू आन्दोलित थिए। जसका कारण सेवा प्रवाहमा समस्या भएको थियो। दुई दिनअघिदेखि आकस्मिकबाहेकका सबै सेवा ठप्प थिए।’ 

प्रशासनमा बुधबार र बिहीबार जुम्लाका सबै राजनीतिक दल, नागरिक समाज, प्रशासन र प्रतिष्ठानका पदाधिकारीहरूका बीचमा समीक्षासहितको गम्भीर छलफल भएको उनले बताए। छलफलपछि प्रतिष्ठानका सबै डाक्टर तथा स्वास्थ्यकर्मीहरूलाई सुरक्षित रूपमा सेवा प्रवाह गर्न सबैले सहयोग गर्ने प्रतिबद्धता जनाइयो। डा. करण साहलाई लगाइएको बाल हिंसाको मुद्दा पीडक धनबहादुर साहीकी पत्नी आशा हमाल साहीले फिर्ता लिन निवेदन दिइन्।   श्रीमान्लाई मुद्दा लगाइएकाले आवेशमा आएर अर्को मुद्दा दिएको स्वीकार गरिन्। त्यसपछि सर्वपक्षीक सहमति भएर प्रतिष्ठानले शुक्रबारदेखि नियमित सबै सेवा दिने भएको छ। 

भदौ २ गते ओपीडी असिस्टेन्ट साही आफ्ना ६ वर्षीय छोराको विद्यालय ड्रेसमा उपचार गराउन ९ बजे प्रतिष्ठानमा पुगेका थिए। उनको छोराको टाउकोमा चोट लागेर टाँका लगाइएको थियो। त्यो टाँका खोल्नु थियो। टाँका खोलेर बालकलाई विद्यालय पठाउने तयारी थियो। ओपीडी नखुलिसकेकोले उनले छोरालाई सिधै आकस्मिक कक्षमा उपचारका लागि लिएका थिए। उनले त्यहाँ भएका डाक्टर साहसँग छोराको सामान्य पेट दुखेको र टाउकोमा टाँका लगाइएकोले त्यसलाई काट्नुपर्ने बताए। डाक्टरले उनलाई यस्तो सानोतिनो कुराको लागि इमरजेन्सी वार्डमा उपचार नगरिने र ओपीडी खुलेपछि उपचार गर्न जान सुझाव दिए। धनबहादुरले बारम्बार अग्रह गर्दा पनि उपचार गर्न नमानेपछि डाक्टरमाथि नै हातपात गर्न पुगेका थिए। डाक्टर र कर्मचारी बीचको उक्त लफडा अहिले प्रतिष्ठानकै समस्याका रूपमा खडा भएको थियो। 

जुम्ला जिल्ला अदालतले प्रतिष्ठानमा कार्यरत डा. साहलाई पक्राउ पुर्जी जारी गरेपछि त्यसको विरूद्धमा संस्थाका सबै चिकित्सक तथा स्वास्थ्यकर्मीले आकस्मिकबाहेकका स्वास्थ्य सेवा बन्द गरेका थिए। आइतबार डा. साहमाथि बालहिंसा गरेको जाहेरी जिल्ला प्रहरी कार्यालय जुम्लामा दर्ता भएको थियो। प्रहरीले जाहेरीका आधारमा चलाएको प्रक्रियाअनुसार अदालतले उनलाई सोमबार पक्राउ गर्न पुर्जी जारी ग¥यो। डाक्टरमाथि आवेगमा आएर हात हालेका धनबहादुर साहीलाई पनि बिहीबार जुम्ला अदालतले ३ लाख धरौटीमा रिहा गरेको छ। प्रतिष्ठानले छानबिन समिति गठन गरी हातपात गरेका कर्मचारी धनबहादुर साहीलाई ४५ दिनका लागि निलम्बन गरेको छ। 

प्रतिष्ठानका उपकुलपति डा.मंगल रावलका अनुसार डाक्टरमाथि लगाइएको बालहिंसाको मुद्दा फिर्ता लिनका लागि सहमति भएपछि आन्दोलनरत डाक्टर तथा स्वास्थ्यकर्मीहरू पनि शुक्रबार (आज) देखि काममा फर्किने भएका छन्। उनीहरूले दिएको सामूहिक राजीनामा पनि फिर्ता लिने सहमति भएको छ। उनले भने, ‘एक त कर्णालीमा डाक्टर ल्याउनै समस्या छ। त्यसैमाथि ६० जना डाक्टरहरूले एकैपटक राजीनामा दिँदा प्रतिष्ठान बन्द हुने अवस्था आयो। त्यसैले मैले सबैलाई आफ्नो राजीनामा फिर्ता लिन आग्रह गरेको थिए। सबैले मानिदिनुभयो।’

प्रतिष्ठानका डा. कमल पन्थीका अनुसार माग पूरा हुने भएपछि आन्दोलन फिर्ता लिएर सेवा दिन तयार भएका हुन्। उनले भने, ‘अब यस्ता घटनाहरू फेरि दोहोरिने छैनन्। हामी सबैले बृहत् छलफल गरेर सहमति गरेका छौं। सबै पक्षले सहमति कार्यन्वयन गरेर प्रतिष्ठानबाट प्रवाह गर्ने सेवाहरू नियमित गर्ने र डाक्टरलाई लगाइएको मुद्दा फिर्ता गर्ने सहमति गरेका छौं। यसमा सबै पक्षले सहमति जनाएका छन्।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.