आकस्मिक उपचार र विपन्न बिरामीलाई रगत निःशुल्क
नुवाकोट : त्रिशूली अस्पतालले आर्थिक रूपमा विपन्न तथा आकस्मिक उपचार गर्नुपर्ने बिरामीका लागि रगत र रक्ततत्व निःशुल्क उपलब्ध गराउन सुरु गरेको छ।
त्रिशूली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा दीपेन्द्र पाण्डेका अनुसार शुक्रबारदेखि लागू हुने गरी विपन्न र आकस्मिक उपचार गर्नुपर्ने बिरामीलाई चाहिने रगत र रक्ततत्व निःशुल्क रूपमा उपलब्ध गराउन सुरु गरिएको हो।
त्यस्ता बिरामीका लागि रगत परीक्षणबापत लाग्ने शुल्कसमेत नलाग्ने अस्पतालका मेसु डा पाण्डेले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
रगतको समूह परीक्षण र प्रशोधनबापत प्रतिपिन्ट आठ सय ५० रुपैयाँ शुल्क लाग्ने भए पनि आर्थिक अवस्था कमजोर भएका, विपन्न वर्ग, सवारीलगायतका विभिन्न दुर्घटनामा परेका व्यक्तिका लागि सेवा निःशुल्क गरिएको हो।
त्रिशूली अस्पतालमा कोरोना र डेङ्गु रोगको परीक्षण सेवा निःशुल्क उपलब्ध गराइएको छ। अबदेखि लक्षित वर्गका लागि रगतको परीक्षण र रगतसमेत निःशुल्क उपलब्ध गर्न थालिएको हो।
प्रतिक्रिया दिनुहोस !