अस्पतालमा डेंगुको परीक्षण सुरु, सर्वसाधारणलाई निःशुल्क
नुवाकोट : महामारीको रूपमा फैलिरहेको डेंगुको संक्रमण नियन्त्रणका लागि नुवाकोटमा अस्पतालले विशेष सक्रियता अपनाएको छ।
नुवाकोट जिल्ला अस्पताल त्रिशूलीले सर्वसाधारणको निःशुल्क रूपमा डेंगु परीक्षण सुरु गरेको छ। जिल्लामा हालसम्म २२ जनामा डेंगुको संक्रमण पुष्टि भएको छ।
डेंगु संक्रमणबाट सुरक्षित रहनका लागि सबै स्थानीय तहले विभिन्न सचेतनामूलक कार्यक्रममा जोड दिएका छन्।
दैनिक रूपमा डेंगुको संक्रमण दर बढ्न थालेसँगै परीक्षणलाई निःशुल्क बनाइएको अस्पतालले जनाएको छ।
पछिल्लो समय महामारीको रूपमा फैलिँदै गएको डेंगुको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि अस्पतालले निःशुल्क परीक्षणको व्यवस्था सुरु गरेको त्रिशूली अस्पताल नुवाकोटका प्रमुख तथा मेडिकल सुपरिटेण्डेण्ट डा. दीपेन्द्र पाण्डेले जानकारी दिए।
उनका अनुसार संक्रमण नियन्त्रणका लागि अस्पतालमा सहायता कक्षसमेत स्थापना गरिएको छ।
लक्षण देखिएको वा सम्भावित लक्षण देखिएकाहरूको परीक्षण तथा थप उपचारका लागि अस्पतालले व्यवस्था मिलाइएको डा. पाण्डेले बताए।
अस्पतालले परीक्षण गर्न गएका बिरामीहरूलाई संक्रमणबाट बच्ने तथा रोकथामका लागि परामर्शसमेत प्रदान गर्दै आएको छ।
प्रयोगशालामा डेंगु संक्रमण परीक्षण गरेबापत यसअघि अस्पतालले आठ सय ५० रुपैयाँ लिँदै आएको थियो। हाल संक्रमणको दर बढ्न थालेको र संक्रमितको पहिचानलाई सहज बनाउन निःशुल्क परीक्षण गर्न थालिएको प्रमुख डा. पाण्डेले बताए।
जिल्लाबाहिर गएर परीक्षण गराउनेको संख्या धेरै भएकाले जिल्लामा संक्रमणबारे एकिन हुन सकेको छैन। एडिस जातको लामखुट्टेको टोकाइबाट डेंगु सर्ने भएकाले सुरक्षित रहन आग्रह गरेको छ।
जमेको पानीमा एडिस जातको लामखुट्टे बस्ने र दिनमा मात्रै यसले संक्रमण फैलाउने भएकाले सुरक्षित रहन स्वास्थ्य कार्यालय नुवाकोटले आग्रह गरेको छ।
डेंगुको संक्रमण भएमा पाँचदेखि सात दिनसम्म शरीर, टाउको तथा पेट दुख्ने, वाकवाकी लाग्ने, आँखामुनि दुख्ने जस्ता साधारण लक्षण देखापर्ने स्वास्थ्यकर्मीहरू बताउँछन्।
यसैगरी खटिरा आउने, रक्तश्राव हुने, बान्ता हुने, शरीरमा प्लेटलेटको संख्या कम भएमा रक्तनलीहरूबाट रगत शरीरका अन्य तन्तुमा जाने भएकाले शरीरमा डाबर आउने, बिरामी सिकिस्त हुने, पिसाब कम हुने तथा रक्तचाप निकै कम हुने हुन्छ।
सामान्य उपचारपछि बिरामी निको हुने भएपनि बेलैमा उपचार नगरेमा ज्यानै जान सक्ने भएकाले कार्यालयले सतर्कता अपनाउन आग्रह गरेको छ। लामखुट्टेको वासस्थान खोजेर त्यसको नष्ट गर्ने अभियानसमेत भइरहेको छ।
प्रतिक्रिया दिनुहोस !