साढे तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री
गोरखा : हिमानी ट्रष्टले गोरखाका विभिन्न विद्यालयका तीन हजार सात सय विद्यार्थीरूलाई शैक्षिक तथा स्वास्थ्य सामग्रीहरू वितरण गरेको छ।
सदरमुकामको शक्ति माविमा शनिबार एक कार्यक्रम आयोजना गरी ट्रष्टले तीन हजार ७५० जना विद्यार्थीलाई १९ प्रकारका सामग्रीले भरिएको झोला वितरण गरेको हो।
कार्यक्रममा ट्रष्टकी अध्यक्ष हिमानी शाह र उनकी छोरी कृतिकाले विद्यार्थीका लागि झोलाहरू ४० विद्यालयका शिक्षकलाई हस्तान्तरण गरिन्।
गोरखा नगरपालिका, पालुङ्टार नगरपालिका, सहिद लखन गाउँपालिका, भीमसेन थापा गाउँपालिका र धार्चे गाउँपालिकाका विद्यार्थीहरूलाई वितरण गरेको जिल्लामा कार्यक्रम संयोजन गरेका मोहसिन अलि मियाँले जानकारी दिए।
सो सामग्री चाइना फाउण्डेनमार्फत प्राप्त भएको हो। चाइना फाउण्डेशनले बर्सेनि देशभरका एकलाख भन्दा धेरै विद्यार्थीलाई यस्ता सामग्री उपलब्ध गराउँदै आएको छ।
यस वर्ष हिमानी ट्रष्टमार्फत गोरखा, लम्जुङ, गुल्मी र मनाङका १० हजार विद्यार्थीलाई सो सामग्री बाँड्दैछ।
मनाङबाहेक अरू जिल्लामा वितरण गरिसकिएको चाइना फाउण्डेशनका कवीर नेपालीले जानकारी दिए। अन्य संस्थाहरूसित समन्वय गरी वितरण गरिरहेको उनले बताए।
हरेक वर्ष चाइना फाउण्डेशनसँग सहकार्य गरी विभिन्न एनजीओहरूले शैक्षिक तथा स्वास्थ्यसम्बन्धी सामग्री वितरण गर्ने गर्छ।
सो ब्यागभित्र नेपाली तथा अंग्रेजी अभ्यास पुस्तिका, कलर बक्स, स्टेशनरी बक्स, पेन्सिल, हेल्थ ब्याग, लन्च बक्स, वाटर बोटल, टावेलजस्ता दैनिक प्रयोगमा आउने सामग्री राखिएको ट्रष्टले जनाएको छ।
त्यस्तै, ब्यागमा फेस माक्स, साबुन, मन्जन, ब्रस, ब्यान्डेज र फ्रेण्डसिप कार्डसमेत राखिएको ट्रष्टले जानकारी दिएको छ।
प्रतिक्रिया दिनुहोस !