दुई महिनाभित्रै पानीमा डुबेर सात जनाको मृत्यु

दुई महिनाभित्रै पानीमा डुबेर सात जनाको मृत्यु

राजविराज : सप्तरीको शम्भुनाथ-७ भगवतपुरमा बसन्त सरदारले पाँच धुर जग्गामा हालै डोजरले खनाएर सानो पोखरी बनाएका थिए। 

मङ्गलबार दिउँसो सोही ठाउँका ५ वर्षीय बालक सुदीपकुमार सदा साथीहरूसँगै नुहाउन गए। पौडी खेल्ने क्रममा सदा डुबे। डुबेर अचेत भएका बालकलाई राजविराजस्थित छिन्नमस्ता अस्पताल ल्याई परीक्षण गर्दा चिकित्सकले मृत घोषणा गरे। 

मृतकका बुवा रोजगारीका लागि विदेशमा छन्। आमा घटनाका बेला तरकारी किन्न बजार गएकी थिइन्। घरदेखि एक सय मिटर पूर्वमा रहेको बसन्त सरदारको जग्गामा खनिएको पोखरीमा बालकको डुबेर मृत्यु भएको मृतकका सानीआमा रुन्ची सदाले बताइन्।

सप्तरीमा नयाँ आर्थिक वर्षको सुरुको दुई महिनाभित्रै पानीमा डुबेर सात जनाको मृत्यु भएको सप्तरीका डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए।

हनुमाननगर कंकालिनी नगरपालिका-४ अर्जी टोलका जितेन्द्र सिपलियाको छोरा सात वर्षीय देबिल सिपलियाको आफ्नै पोखरीमा डुबेर भदौ ८ गते मृत्यु भयो। 

सप्तकोशी नगरपालिका-२ सिद्धिपुरस्थित नहरमा डुबेर मृत्यु भएको अवस्थामा राजकुमार रामका छोरा दुई वर्षीय सन्दीप राम भदौ ५ गते फेला परे। 

राजगढ गाउँपालिका-४ बेल्ही चपेनास्थित सार्वजनिक पोखरीमा नुहाउने क्रममा भदौ १ गते डुबेर सोही ठाउँका बिरेन्द्र मण्डलका छोरा १३ वर्षीय राजा मण्डलको मृत्यु भयो। 

जिल्ला प्रहरी कार्यालय, सप्तरीको तथ्यांकअनुसार भदौ महिनामा चार जना र साउन महिनामा तीन जनाको डुबेर मृत्यु भएको छ।

बोदे बर्साइन नगरपालिका-८ काचनमा साउन २६ गते सोही ठाउँका मिताराम दासकी छोरी ६ वर्षीया नन्दनी कुमारी दासको नुहाउने क्रममा डुबेर मृत्यु भएको थियो। 

साउन २४ गते छिन्नमस्ता गाउँपालिका-४ लालापट्टीस्थित पोखरीमा डुबेर २ वर्षीय दीप पण्डितको मृत्यु भएको थियो। सोही दिन विष्णुपुर गाउँपालिका-३ बस्ने ३५ वर्षीय लल्कु भनिने शिवशंकर सदाको पोखरीमा डुबेर मृत्यु भएको थियो।

सप्तरीमा डुबेर मृत्यु हुनेको संख्या बर्सेनि बढ्दो छ। जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार पछिल्लो तीन वर्षको अवधिमा खोला, नदी र पोखरीमा डुबेर ५७ जनाको मृत्यु भएको छ। 

तथ्यांकअनुसार आर्थिक वर्ष २०७६/०७७ मा ११ जना, २०७७/०७८ मा २२ जना र २०७८/०७९ मा २४ जनाको डुबेर मृत्यु भएको छ। 

मृत्यु हुनेमा बालबालिका बढी छन्। त्यसमध्ये पनि १० वर्ष मुनिका बालबालिकाको संख्या धेरै छ। गत तीन वर्षमा २१ बालक र १२ बालिका गरी ३३ बालबालिकाको मृत्यु भएको तथ्याङ्कमा उल्लेख छ। 

जसमा सात बालक र छजना बालिका तथा ५ वर्ष मुनिका छन्। आर्थिक वर्ष २०७९/०८० मा मृत्यु हुने सात जनामध्ये ६ जना बालक नै रहेका छन्।

'अभिभावकको लापरबाही, चेतनाको कमी र आफ्नै लापरबाहीका कारण पनि डुबेर मृत्यु भएको देखिन्छ', डिएसपी काफ्ले भन्छन्, 'यस्तो घटना बढ्दै गएका छन्।'

ग्रामीण भेगमा प्रशस्त संख्यामा पोखरी छन्। तराई-मधेशमा पोखरीसँगै नदी, नाला, नहर, खोला, खाल्डोमा डुबेर समेत मृत्यु हुने गरेको छ। 

घर नजिकैका कुलो, खाडल, पोखरीहरूमा वर्षायाममा पानी जम्मा हुने, नदीहरूमा पानीको सतह बढ्ने गर्छ। बालबालिकालाई रेखदेख गर्न गरिब परिवारका अभिभावकलाई समय नहुने गरेकाले पनि दुर्घटना बढेको उनी बताउँछन्।

'बालबालिकालाई नदीमा नुहाउन जान दिने, गाईवस्तु चराउन पठाउने, बाढीमा दाउरा संकलन गर्न पठाउने, माछा मार्न जाने, रेखदेख नगर्नेलगायतका कारणले बालबालिकाहरूले अकालमै ज्यान गुमाउनुपरेको छ', उनी भन्छन्- 'यसमा अभिभावकको कमजोरी देखिन्छ भने आर्थिक अवस्था कमजोर भएका परिवारको वाध्यता पनि छ।'

गर्मी बढेसँगै पोखरीमा नुहाउन जानेको सङ्ख्यामा वृद्धि हुनुका साथै पोखरीधनी र अभिभावकको लापरबाहीका कारण बर्सेनि पोखरीमा डुबेर मृत्यु हुने घटना बढेको राजविराज-८ का अरुण तिवारीको भनाइ छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.