जरेबर पुल जोड्ने सडक निर्माणमा वन कार्यालयको अवरोध

जरेबर पुल जोड्ने सडक निर्माणमा वन कार्यालयको अवरोध

गोरखा : पूर्वाधार कार्यालयले जरेबर पुल जोड्न धमाधम सडक खन्न थालेपछि डिभिजन वन कार्यालयले अवरोध गरेको छ। 

अनुमति नलिएको सामुदायिक वन क्षेत्रमा सडक खनिएको भन्दै कार्यालयले पत्राचार गरी काम रोकेको हो। 

सडक नभएको ठाउँमा पाँच करोड खर्चेर पुल बनाइएको भन्दै आलोचना भएपछि अहिले पूर्वाधार कार्यालयले जरेबरको पुल जोड्ने गरी सडक निर्माण गरिरहेको थियो।

'सामुदायिक वन क्षेत्रमा अनुमतिविना सडक निर्माण भइरहेको छ भनेर खबर पाएपछि तत्काल काम रोक्न गोरखकाली वन सवडिभिजन कार्यालय र सामुदायिक वन उपभोक्ता समितिलाई पत्राचार गरेका छौँ', डिभिजन वन अधिकृत अशोककुमार श्रेष्ठले भने, 'सव डिभिजन कार्यालयले त्यहाँको वस्तुस्थिति अनुगमन गरिसकेको छ। अब अनुमति नपाएसम्म काम अघि बढ्न सक्दैन।'

गोरखकाली सव डिभिजनका प्रमुख बिनोद गायक लगायतको टोलीले बुधबार सो वन क्षेत्रको अनुगमन गरेको थियो। 

'त्यहाँ डोजर प्रयोग गरी धमाधम सडक खनिएको रहेछ', सव डिभिजनका प्रमुख गायकले भने, 'हामीले काम रोक्न रातढुंगा गोलपोले सामुदायिक वन समितिका अध्यक्षलाई पत्राचार गरी काम रोक्न भनेका छौँ।'  वन क्षेत्रमा अनुमतिविना सडक खन्न नपाइने उनले बताए। 

'उपभोक्ता समिति, सवडिभिजन र डिभिजन कार्यालयसँग अनुमति नलिई आवश्यक प्रक्रिया पूरा नगरी वन क्षेत्रमा जथाभावी सडक खन्न पाइँदैन', उनले भने, 'त्यसैले काम रोक्न भनेका छौँ। अब अनुमति प्रक्रिया पूरा गर्नुहुन्छ अनि मात्र सडक खन्नुहुन्छ।'

आफूसँग कसैले वन क्षेत्रमा सडक खन्ने विषयमा अनुमति नलिएको सामुदायिक वन उपभोक्ता समितिले स्पष्ट पारेको छ। 
'कसैले अनुमति मागेको पनि छैन, हामीले अनुमति दिएको पनि छैन', रातढुङ्गा गोलपोले सामुदायिक वनका अध्यक्ष पूर्णबहादुर थापाले भने, 'डिभिजन कार्यालयले वनक्षेत्रमा अनुमतिविना सडक खन्न नदिनू भनेकाले मैले रोक्न लगाएको छु।' 

निर्माण व्यवसायीले भने वन क्षेत्रमा सडक नखनिएको दावी गरेका छन्। 'नारेश्वरतर्फको भित्तामा २५ मिटर जति खनिएको हो त्यसले जंगल क्षेत्र फडानी भएको छैन, निर्माण व्यवसायी सुरेशबाबु पाण्डेले भने, 'पुलको जीप संरक्षण गर्न र जाली भर्न खनिएको हो। वन कार्यालयको पत्र आएपछि काम रोकेका छौँ।'

सडक तथा पुल निर्माणको काम गरेको पूर्वाधार कार्यालय गोरखाले भने सामुदायिक वन उपभोक्ता समितिसित अनुमति लिएर काम गरेको जनाएको छ। 

'पुलबाट नारेश्वरको भित्तातर्फ २५ मिटरमाथि सडक छ र जरेबरतर्फ दुई सय मिटरमा सडक छ', कार्यालय प्रमुख ओमराज ढुङ्गानाले भने, 'सिरानचोकतर्फ जग्गाधनीसँग सहमति लिएका छौँ। धान काटेपछि सडक बन्छ। गोरखातर्फ २५ मिटरमा माथिबाट आएको सडक जोडिन्छ।' 

उनले पनि सामुदायिक वन क्षेत्रमा सडक खनेको नभई पुलको जीप संरक्षण गर्न मात्रै खनेको दाबी गरे। कार्यालय प्रमुख र ठेकेदारले जीप संरक्षण गर्न खनिएको दाबी गरेपनि त्यहाँ सामुदायिक वनको क्षेत्रबाट सडक खनेपछि मात्र पुलसम्म पुग्ने सडक जोडिन्छ।  

सडक निर्माण नगरी पूर्वाधार विकास गरेको कार्यालयले पाँच करोड ३९ लाख ८० हजार रुपैयाँ खर्चेर गोरखा नगरपालिका-३ नारेश्वर र सिरानचोक गाउँपालिका-५ जरेबर जोड्ने पुल बनाएको थियो। 

सडक निर्माण नगरी पुल बनेको विषय सर्वत्र आलोचित भएपछि कार्यालयले सडक बनाउन हतार गरेको हो। पुल निर्माणको काम पनि अन्तिम चरणमा छ।  

सडक नभएको ठाउँमा पुल बनेको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि अनुसन्धान गरिरहेको छ। 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.