महिलाको बाजाक्रान्ति

महिलाको बाजाक्रान्ति

गोरखा : पहिले बाहिरिफेरको काम पुरुषले ढपक्कै ढाक्थे। चुलोचौकोको कामले महिलाको ‘बिजनेस’ पुग्थ्यो। अहिले अधिकांश पुरुषहरू वैदेशिक रोजगारीमा छन्। जनजीविकाका बहुआयाम छोप्न महिलाहरू बाध्य छन्।

चाडपर्व नजिकिँदै छ, बाटोघाटो सरसफाइमा महिला, पूजाआजामा महिला, कतै पूर्वाधार निर्माणमा जनश्रम जुटाउनु परेमा महिला। सांस्कृतिक कार्यक्रमहरूमा अग्रसर उनै महिला, हारगुहारमा महिला, मेलापातमा पनि महिला, हुँदाहुँदा लोकबाजा बचाउमा पनि महिला नै अग्रसर भएका छन्।

गोरखा नगरपालिका—९ लक्ष्मीबजारका महिलाहरू अहिले नौमती बाजाको संरक्षणमा लागेका छन्। शुभारम्भ उद्यमी महिला समूह अहिले नौमती बाजा संरक्षणमा लागेको छ। समूहमा ६७ जना आबद्ध छन्।उनीहरूमध्ये ४० जना महिला नौमती बाजा बजाउन सक्रिय छन्। समूहमा बाजा बजाउने तीन टिम छन्। दुई टिम अल्ली बढी सक्रिय, एउटा सिकारुहरूको टिम छ। 

बाजा बजाएबापत प्राप्त रकममध्ये २० प्रतिशत समूहमा राख्ने र बाँकी रकम दामासाहीले बाँडेर लिने गरेको उनले बताइन्

‘अहिले कतै पूजाआजा, विवाह, व्रतबन्ध, गुन्यूचोली, र्‍याली, मेला, महोत्सव गर्नुपर्‍यो र बाजा बजाउने मान्छे खोज्नु पर्‍यो भने एकजना यहाँ मिठेदाइ हुनुहुन्छ भने अर्को एकजना खोज्न कट्टेलडाँडा, अर्कोजना गोरखा दरबार, अर्कोजना नयाँसाँघु गर्दै बटुल्नुपर्छ’, समूहकी अध्यक्ष मुना काप्री भन्छिन्, ‘यही अवस्थालाई मध्यनजर गरी हामी महिलाहरू एकगठ भएर बाजा बजाउने टिम बनायौं। दुई टिमचाहिँ परेका बेला जहाँ बोलाए पनि जान सक्छौं। अहिले त पर्‍यो भने हामी यहीँ घर्‍याप्पै दुई, तीन टिम बनाउन सक्ने भएका छौं।’ संस्कृति जोगाउने र आयआर्जन गर्ने दुवै उद्देश्यले नौमती बाजा बजाउन सुरु गरेको उनको भनाइ छ।

बाजा बजाएबापत प्राप्त रकममध्ये २० प्रतिशत समूहमा राख्ने र बाँकी रकम दामासाहीले बाँडेर लिने गरेको उनले बताइन्। ‘गाउँका महिलाको आयआर्जनको बाटो पनि बनोस्, संस्कृतिको पनि संरक्षण होओस् भन्ने उद्देश्यले बाजा बजाउन सुरु गरिएको हो’, अध्यक्ष काप्री भन्छिन्, ‘अहिले नगरपालिकाभित्र ३० हजार र नगरपालिकाबाहिर जाँदा दिनको ५०, ६० हजार रुपैयाँ दिन्छन्। सो रकम १० जनालाई बाँड्दा सबैको चित्त बुझ्ने ज्याला आउँछ।’ टोली काठमाडौं, पोखरा, चितवन, तनहुँ, धादिङसम्म बाजा बजाउन जाने गरेको उनले बताइन्।

बाजा समूहमा विभिन्न समुदायका महिलाहरू छन्। सनही बजाउनमा एकजना दमाई समुदायका रहेको उनले बताइन्। ‘गाउँघरमा अरू जातका महिलाले बाजा छुन हुन्न भन्ने चलन थियो। तर हामी अन्तरजातीय महिलाहरू मिलेर त्यो विकृति हटाएर बाजा बजाउन थाल्यौं’, उनले भनिन्, ‘हाम्रो यस कामले महिलाहरूले केही गर्न सक्दैनन् भन्ने सोचाइ समाप्त भएको छ। महिलाहरूको मनोबल उच्च भएको छ।’

अहिले महिलाहरू जन्त जान पनि सुरु गरिसकेका छन्। अब मान्छे मर्दा अन्त्येष्टि गर्न पनि महिलाहरू सहभागी हुने हिम्मत गर्न बाँकी रहेको उनीहरूको योजना छ। ‘महिलाले यो गर्न हुन्छ, त्यो गर्न हुँदैन भनेर बिना आधारका कुरामा अन्धविश्वासमा राखिरहेका छन्। त्यस्ता विकृति अन्त्य गर्ने हाम्रो प्रमुख लक्ष्य हो। त्यसैले अब मृत्यु संस्कारमा पनि महिलाहरू जान सुरु गर्ने योजना बनाइरहेका छौं’, उनले भनिन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.