म्यादी बन्न मधेसमा तेब्बर आवेदन

म्यादी बन्न मधेसमा तेब्बर आवेदन

राजविराज : दसैँ घर–घरमा प्रवेश गरेको छ। मुख्य चाडसँगै लहरै चाडपर्वहरू भित्रिँदै छन्। कोभिडको त्रासले गर्दा पछिल्ला वर्षको भन्दा यो वर्ष मानवीय चहलपहलमा बढोत्तरी हुने विश्वास छ। यहीँ चाडपर्वको रौनक सुरु भएका बेला म्यादी प्रहरीको छनोट प्रक्रिया पनि जारी छ। 

मधेस प्रदेशमा आवश्यताभन्दा तेब्बर सङ्ख्यामा आवेदन परेको छ। आवेदनका लागि हजारौं युवाहरूको भीडमा सप्तरीको लोहजराका चन्द्रनारायण मरिक पनि छन्। चाडपर्वको परवाह नगरी भीडमा देखापरेका सप्तरीका सुभाष मरिक यसअघि पनि म्यादी प्रहरी भएर सेवा गरिसकेकाले पुनः म्यादी प्रहरीमा छनौट हुनेमा बढी आशावादी छन्। थोरै समयका लागि भए पनि रोजगारी पाइने र एकमुष्ठ रकम पाउने आशामा युवाहरू म्यादी प्रहरीमा भर्ना हुन तम्सिएको उनले सुनाए। आर्थिक अवस्था नाजुक भएकैले म्यादी हुन युवादेखि पाका उमेरका व्यक्तिहरूले आवेदन दिएको धेरैको बुझाइ छ।

रामनारायण साहका अनुसार कतिपय पारिवारिक अवस्था नाजुक भएका कारण म्यादी प्रहरी बन्न इच्छुक छन् भने कतिपय रहरले पनि म्यादी प्रहरी बन्न खोजेका छन्। भविष्यमा प्रहरी बन्न सहयोग पुग्ने उद्देश्यले पनि कम उमेरका युवाहरू बढी देखिएका छन्। पछि जागिर पाइने आसमा म्यादी प्रहरी बन्न आएको सुभाष यादवले बताए। चाडपर्वका बेला भए पनि निर्वाचन प्रयोजनका लागि मधेस प्रदेशमा माग गरिएको म्यादी प्रहरीमा आवश्यकभन्दा तेब्बर आवेदन परेको छ। बेरोजगार बसिरहेका युवायुवतीले दुई महिना भए पनि जागिर खाने र प्रमाणपत्र बनाउन पाइने आसमा आवेदन दिएको बताएका छन्।

दुई महिना काम गरेर ५ महिनालाई खर्च पुग्ने रकम कमाइ हुने भएकाले आवेदन दिएको सप्तरीका निर्मल यादवले बताए। कक्षा १२ उत्तीर्ण यादवले जागिर नभएको र विदेश जाने प्रक्रियामा रहेको बेला पैसा आउँछ भनेर म्यादी प्रहरी बन्न खोजेको बताए। मलेसियामा ४ वर्ष रोजगारी गरेर फर्किएका मरिकले पनि स्वदेशमै मजदुरी गर्ने भनेर फर्किएको र चुनावको मौकामा म्यादी प्रहरी बन्न खोजेको बताए। गृह मन्त्रालयले प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा सुरक्षाको लागि भन्दै १ लाख १५ हजार म्यादी भर्ना गर्न आवेदन मागेको थियो। प्रहरीले भदौ २६ गते विज्ञापन सूचना जारी गर्दै म्यादी प्रहरीमा आवेदन मागेकोमा मधेस प्रदेशमा मात्र ६६ हजार ८८४ जनाको आवेदन परेको छ।

प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि मधेस प्रदेशमा २३ हजार ७७१ म्यादी प्रहरी माग गरिएकोमा ६६ हजार ८८४ जनाको आवेदन परेको मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जानकारी दिएको छ। निर्वाचनको लागि मधेसको धनुषामा सबैभन्दा बढी ३ हजार ४८६ र पर्सामा सबैभन्दा कम २ हजार ७ कोटा छ। यसैगरी सर्लाहीमा ३ हजार ३०७, सप्तरीमा ३ हजार २७८, बारामा ३ हजार १४४, रौतहटमा २ हजार ९३९, सिरहामा २ हजार ८०९ र महोत्तरीमा २ हजार ८०१ कोटा रहेको छ।

  •     गृह मन्त्रालायद्वारा १ लाख १५ हजार म्यादीको माग
  •     मधेस प्रदेशमा मात्र ६६ हजार ८८४ जनाको आवेदन

यसमध्ये सबैभन्दा बढी बारामा ११ हजार ४०५ जनाको आवेदन परेको मधेस प्रहरी कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक मसउद आलम खाँले बताए। सबैभन्दा कम सिरहामा ६ हजार ८१९ जनाले आवेदन दिएका छन्। सप्तरीमा ८ हजार ९६०, सर्लाहीमा ८ हजार ६६३, रौतहटमा ८ हजार ५८३, धनुषामा ७ हजार ८३४, पर्सामा ७ हजार ३१८ र महोत्तरीमा ७ हजार ३०२ जनाको आवेदन परेको सम्बन्धित जिल्ला प्रहरी कार्यालयले जनाएको छ। म्यादी प्रहरी हुने चाहानाले आवेदन गर्नेमा महिलाको सङ्ख्या १८ प्रतिशत छ। बारामा २ हजार ४६६, सप्तरीमा १ हजार ६२३, सर्लाहीमा १ हजार ५७०, महोत्तरीमा १ हजार भन्दा बढी, सिरहामा १ हजार २९९, पर्सामा १ हजार २४८, रौतहटमा १ हजार १६३ र धनुषामा १ हजार १२५ महिलाले आवेदन गरेको मधेस प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले बताए।

आवेदन दिएकाको बिहीबार लिखत परीक्षा र असोज २३ गते अन्तर्वार्ता हुने र असोज २५ गते छनोट भएकाको नतिजा प्रकाशित गरिने सप्तरी प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए। म्यादी प्रहरीमा छानिएकाहरूलाई असोज ३० गतेदेखि कात्तिक ८ गतेसम्म साधारण तालिम दिइने र त्यसपछि सम्बन्धित निर्वाचन क्षेत्रमा खटाइने उनले बताए। म्यादी प्रहरीको अवधि ४० दिनको हुनेछ।

म्यादी प्रहरीले नेपाल प्रहरीको जवानले खाइपाइ आएको तलब तथा भत्ता बराबरको रकम पाउने छन्। प्रतिदिन ८ सय ६९ रुपैयाँका दरले मयादी प्रहरीले ३४ हजार ७६० रुपैयाँ पाउने मधेस प्रहरी कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ। यस अलावा खाद्यान्नबापत एकमुष्ठ ७ हजार २ सय रुपैयाँ, पोसाकका लागि एकमुष्ठ ६ हजार रुपैयाँ, निर्वाचनमा खटिएको ठाउँमा जानआउन १ हजार रुपैयाँ, ४ दिनको खाजा खर्चबापत १ हजार २ सय रुपैयाँ पनि उनीहरूलाई उपलब्ध हुनेछ। यसरी एउटा म्यादी प्रहरीले पाउने तलबभत्ता ५० हजार १६० रुपैयाँ हुन्छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.