छेक्यो पहिरोले
गोरखा : लोक्पा पहिरो पन्छाउन नसक्दा गोरखाको चुम्चेत र छेकम्पारमा खाद्यान्न अभाव भएको छ। चुमनुब्री गाउँपालिका–६ को डुयुखोला र सर्दीभीरको बीचमा गत असारदेखि निरन्तर झरेको पहिरोले बाटो छेक्दा दसैंमा खाद्यान्न र दैनिक उपभोग्य सामग्री पाउनै मुस्किल भएको स्थानीय बताउँछन्।
यो क्षेत्रमा पर्ने बाटोको ८ सय मिटर क्षेत्रमा पहिरो खसेपछि मान्छे तथा खच्चड हिँड्न सक्ने अवस्था नरहेको वडाध्यक्ष सरोज लामा बताउँछन्। सडक सञ्जालले नछोएको सो क्षेत्रमा खाद्यान्न लगायतका सामग्री ढुवानी गर्ने एक मात्र माध्यम खच्चड हो। ‘असारअघि ढुवानी गरेर राखेको चामल, खानेतेल, चिनीलगायतका खाद्यान्न सकिन थालेको छ। अहिले ढुवानी गर्न पहिरोमा खच्चड हिँडाउन सकिँदैन’, लामा भन्छन्, ‘जतिचोटि बनाए पनि, भोलिपल्टै पहिरो झरेर बाटो लैजान्छ।’
सो पहिरोका कारण लोक्पाभन्दा माथिका वडा नं. ६ का चुम्लिङ, चुम्चेत, सिप्चेत, खार, ताज्यू, रेञ्जम, घो, याच्र्यू, खारगुम्बा, थारोङका २ सय ८० घरधुरीका बासिन्दा र वडा नं. ७ का नौवटा टोलका तीन सयभन्दा धेरै घरधुरीका बासिन्दा आवतजावत गर्न सक्दैनन्। ती सबै ठाउँमा भोटे लामा समुदायको बसोबास छ।
खाद्यान्न ढुवानी गर्न नसक्दा गाउँघरमा धार्मिक तथा सांस्कृतिक कार्यहरू गर्न पनि नसकिएको स्थानीयवासीको गुनासो छ। ‘गुम्बामा बत्ती बाल्ने तेल छैन। चामलको पनि अभाव छ’, चुमनुब्री ७ का ङवाङ लामा भन्छन्, ‘अकालमा मरेकाहरूको नाममा गुम्बामा ४५ दिनभित्र बत्ती बाल्नुपर्छ। तोर्मालगायतका प्रसाद चढाउनुपर्छ। गाउँलेलाई खुवाउनुपर्छ। तर, तेल, चामललगायतका खाद्य सामग्री नहुँदा पितृकर्म गर्न पनि पाएका छैनन्।’
पहिरोका कारण बाटो अवरुद्ध हुँदा पर्यटकहरू चुमभ्याली जान र पुगेका पर्यटक फर्कन समस्या भएको अर्का स्थानीय सेराप गुरुङ बताउँछन्। ‘केही दिनअघि गाउँलेहरू मिलेर बल्लतल्ल पहिरो पन्छ्याएका थियौं। एक ग्रुप पर्यटक पनि पहिरो कटेर चुमभ्याली पुगेका थिए तर रातभर पानी परेर फेरि सबै बाटो लग्यो’, उनी भन्छन्, ‘त्यसपछि चुमभ्याली पुगेका पर्यटक फर्कन पनि पाएनन्। वडा नं. ७ मा लैजान भनेर लोक्पामा थुपारिएको खाद्यान्न त्यतिकै रहेको छ।’
पहिरो पार गर्ने वैकल्पिक बाटो पनि नरहेको अर्का स्थानीय गोपाल लामा बताउँछन्। ‘जति दुःख गरे पनि, जति खर्च गरे पनि त्यहाँ पहिरो नियन्त्रण गर्न सकिने अवस्था छैन। वैकल्पिक बाटो खुलाउने ठाउँ पनि छैन’, उनी भन्छन्, ‘धोर्जुङडाँडाबाट जाने हो भने दुई दिनको बाटो बढी हिँड्नुपर्छ। बीचमा बस्ती छैन। जंगलमा बास बस्नुपर्छ। त्यहाँ पनि ठूलो खोला छ। बाटो उस्तै कहालीलाग्दो जोखिम छ।’
गतवर्ष यही ठाउँमा गएको पहिरो तीन महिनासम्म खुल्न नसक्दा खाद्यान्न अभाव टार्न हेलिकोप्टरले खाद्यान्न ढुवानी गरेको वडा नं. ७ का पूर्व वडाअध्यक्ष पासाङ फुञ्जो लामाले जानकारी दिए। ‘मुख्य कुरा त यहाँ तिब्बतबाट खाद्यान्न ढुवानी गरिन्थ्यो, तर तीन वर्ष भयो, तिब्बती नाका पनि खुलेको छैन। तल्लो भेगको बजारबाट सामान ढुवानी गर्न पनि पहिरोले रोकेको छ’, उनी भन्छन्, ‘पोहोर पनि यस्तै समस्या भएको थियो। सरकारले वडा नं. ६ र ७ का बासिन्दाका लागि हेलिकप्टरबाट खाद्यान्न ढुवानी गरेको थियो। ढुवानी भाडा निःशुल्क भए पनि चामल भने किनेर खान पाएका थियौँ, तैपनि जनता खुसी थिए। तर, यसपाल त त्यो पनि पाइएन।’ पैसा भएर पनि पसलबाट खाद्यान्न किनेर खान नपाएको उनको गुनासो छ।
स्थानीय उत्पादन कुटानी पिसानी गर्न विद्युतीय मिल पनि नभएको र पुरानो पानीघट्टा पनि विस्थापित भएको चुमनुब्री ७ मिङ्ग्युर दोर्जे लामाले बताए। ‘यहाँ १२ महिनामा एक खेती मात्र हुन्छ। अहिले गहुँ, जौ, करु र आलु भित्र्याउने सिजन हो’, उनले भने, ‘तर विद्युत् क्षमता नहुँदा विद्युतीय मिल चल्दैन। ढुवानी गर्न नसक्दा पेट्रोल मिल पनि चलाउन सकिएको छैन।’ पहिरोले गर्दा चुमनुब्री ६ र ७ का बासिन्दालाई असाध्यै सकस भएको उनले बताए।
गाउँ फर्कने बाटो, कति अप्ठ्यारो
गोरखा र तिब्बतको सिमानामा पर्ने अन्तिम गाउँ ‘निले’का मिङ्युर दोर्जे दसैं बिदा भएपछि छोराछोरी लिन काठमाडौं गए। तर, सहर जाँदा हिँडेको बाटो छोराछोरी लिएर फर्कन उनलाई मन लागेन। ‘हाम्रो चुमभ्याली जाने बाटो यति जोखिम छ कि, यस्तो बाटो छोराछोरी लिएर हिँड्न सकिन्न भनेर म पनि उनीहरूसित काठमाडौंमै बसेर दसैं मनाउने भएँ’, उनी भन्छन्, ‘छोराछोरी घर नगएका धेरै भएको थियो। यसपालिको दसैं बिदा घरमा बिताउने रहर त्यत्तिकै भयो।’
चुमनुब्री—६ लोक्पामा डुयुखोला र सर्दीभीरको बीचमा ८ सय मिटर फराकिलो पहिरो गएपछि गत असारदेखि आवतजावत ठप्प छ। ‘कि धोर्जुङडाँडाबाट घुमेर जानुप¥यो। धोर्जुङडाँडा घुम्दा दुई दिन बढी हिँड्नुपर्छ। जाँदा दुई दिन, फर्कंदा दुई दिन गरेर चार दिन यसै बित्छ’, उनी भन्छन्, ‘बाटोमा बास बस्नुपर्छ। गाउँबस्ती छैन। जंगलमा बस्नुपर्छ। केटाकेटी लिएर यस्तो जोखिम पनि उठाउन सकिएन।’ लोक्पा पहिरोले जनजीवन धेरै कष्टकर भएको उनको भनाइ छ।
गोरखा सदरमुकामको एक निजी विद्यालयमा कक्षा १० मा पढ्ने चुमनुब्री—७ छेकम्पारकी आङ्मो छिरिङ र उनका ८ कक्षामा पढ्ने छिरिङ लामा पनि यो दसैंमा घर जान सकेनन्। ‘हाम्रो गाउँ त कति दुर्गम छ है ?’, गाउँ जाने बाटो सम्झँदै उनी भन्छिन्, ‘सबै ठाउँ विकास हुँदै गएको छ, तर हाम्रो गाउँपालिकामा अहिलेसम्म पनि मोटर पुगेको छैन। मोटरबाटो त गएन, मान्छे हिँड्ने बाटो पनि यस्तो खतरा छ। जहिले गाउँ जाँदा पनि पातमा ज्यान राखेर हिँड्नु पर्छ।’
चुमनुब्री गाउँपालिकाको साविकको सामागाउँ, प्रोक, बिही, चुम्चेत र छेकम्पार गाविसहरूमा माध्यमिक तहका विद्यालय छैनन्। यहाँका करिब दुई हजार घरधुरीका बालबालिका पढ्नका लागि राजधानी काठमाडौं, सदरमुकाम गोरखा तथा भारतका विभिन्न ठाउँमा पुग्ने गर्छन्।
चुमनुब्री—३ जगतकी कीर्ति घले, कृपा घलेचाहिँ जोखिम मोलेर भने पनि दसैं बिदा मनाउन घर गए। बूढीगण्डकी किनारको बाटो अति जोखिम मोलेर घर फर्केको उनीहरूको भनाइ छ। ‘माथिबाट पनि पहिरो झरिरहने रहेछ। तल पनि पहिरो गइरहने रहेछ। हामी त भगवान् भरोसा भनेर हिँडेको हो’, कृति भन्छिन्, ‘बाबाले पहिरोमा लठ्ठीले खोतलेर पैताला मात्र अट्ने डोब बनाइदिनुभयो। लड्यो भने रोक्ने, छेक्ने ठाउँ नि छैन। निस्किने ठाउँ नि छैन, सिधै बूढीगण्डकीमा खसिने रहेछ।’ आफ्नो गाउँ जाने बाटो साह्रै जोखिम रहेकोमा उनले चिन्ता व्यक्त गरिन्। घर नआएको सात, ८ वर्षभन्दा धेरै भएकाले जोखिम मोलेर पनि घरमा आएको उनको भनाइ छ।
पोखरामा पढ्ने चुमनुब्री—३ फिलिमकी १३ वर्षीया अस्मिता र उनका भाइ १० वर्षका जोशीराम पनि दसैं बिदामा जोखिम मोलेर घर फर्के। लामो, लामो पहिरो छिचोल्दै घर फर्कंदा पहिरोमा पुरिने हो कि भन्ने डरले अत्याउने उनीहरू बताउँछन्। ‘पहिरै पहिरो छ, डर लाग्छ’, अस्मिता भन्छिन्, ‘अलिअलि मान्छे भेटिन्छन्। उनीहरू पनि हिँडेका छन् भनेर आँट निकालेर हिँडेको हो।’
सडक सञ्जालले नजोडेको चुमनुब्री गाउँपालिकामा पैदल हिँड्ने बाटो पनि सुरक्षित नभएको स्थानीयवासी गुनासो गर्छन्। बर्खाका बेला जताततै पहिरो जाने र हिउँदका बेला पनि सुक्खा पहिरो जाने हुँदा सधैं असुरक्षित यात्रा गर्न बाध्य भएको जगत्का वीरवल घले बताउँछन्।
प्रतिक्रिया दिनुहोस !