शक्तिपीठमा खोइछ भर्नेको भीड
महोत्तरी : शक्तिपीठहरूमा सप्तमीको विधि सम्पन्न भएपछि अहिले खोइछ भर्ने कार्य धुमधामका साथ भइरहेका छन्।
खासगरि सप्तमी र अष्टमीका दिन देवी दुर्गा माताको खोइछ भर्नका लागि श्रद्धालु भक्तजनहरूको भीड लागेको छ।
माता भवानी दुर्गाको प्रतीमास्थलमा सन्तान प्राप्त भएकी वा भाकल पूरा भएको महिलाहरू घरपरिवारको सुखद कामना गर्दै शृंगार र फूल पूजाप्रसादसहित खोइछ अर्पण गरिररहेका छन्।
गौशालाकी सन्जु सिंहले भनिन्, 'म चार वर्षदेखि माताको शरणमा आई खोइछ भर्दै आएकी छु तर यहाँ अन्य महिलाहरू वर्षौदेखि खोइछ भर्दै छन्। खोइछ भर्नुभन्दा एक दिनअगाडि नुहाएर खाइन्छ। माताको खोइछ नभरुञ्जेलसम्म उपवास बस्नुपर्छ नियम रहेको छ।'
मिथिलान्चलमा विवाहको समयमा माइती पक्षले बिदाई गर्ने क्रममा आफ्नो कुलदेवता लगायत सम्पूर्ण परिवारको आशीर्वाद स्वरूप खोइछ दिइने परम्परा रहेको छ।
सोहीअनुसार माता दुर्गा भवानीलाई पनि खोइछ भर्ने कार्य जारी रहेको मैथली भाषाका उपप्राध्यापक एवम् साहित्यकार मनोज झा मुक्तिले जानकारी दिए।
माताको कृपा माया दृष्टिले पारिवारिक सुखदको कामना पूर्ण हुने धार्मिक विश्वास रहेको झाले बताए। यहाँका शक्तिपीठहरूमा दुर्गाको प्रतीमामा आँखाको नानी थपिएपछि खोइछ भर्ने विधि सुरु हुने भएको झाले बताए।
अहिले ग्रामीण लगायतका सहरी क्षेत्रमा स्थापित भएको दुर्गा भवानीको शक्तिपीठहरूमा खोइछ भर्नेको भीड रहेको छ।
प्रतिक्रिया दिनुहोस !