मन थामेर काममा व्यस्त छन्, कलिला बालबालिका
महोत्तरी : गौशालास्थित एक होटेलमा कार्यरत ११ वर्षीय बालकले साहुजीको नजरबाट छलेर आफ्नो नाम नबताउने शर्तमा भने, 'बुबा गत वर्ष बित्नुभयो, घरमा आमा, एक भाइ र एक बहिनी छन्। आर्थिक अवस्था अत्यन्तै नाजुक छ। भैपरि आउँदा नातागोताले कहिल्यै केही सहयोग गर्दैनन्। भोकै बाँच्नुभन्दा सकि नसकि काम गरिरहेछु। यहाँ काम गर्दा होटलमा खान पाएको छु अनि केही पैसा पनि पाइन्छ। मेलामा घुमफिर गरौँ, मीठो मीठो खाऔ अनि आमाको काखमा बसौँ यो इच्छा कहिल्यै पुरा हुन सकेन्।'
गौशाला बजारमा दशमीको अवसरमा माता दुर्गा भवानीको भव्य मेला लागेको छ। जहाँ दर्शनार्थी र मेला हेर्नका लागि टाढाटाढाबाट आगन्तु्कहरू आउने गर्दछन्। यहाँको होटलमा ग्राहकहरू रमाउँदै खाजा खानमा व्यस्त छन् भने ती कलिला बालबालिकाहरू बाटोको छेउमा जुठो थाल धुनमा व्यस्त छन्। उनीहरूलाई मेलाको कुनै असर छाएको छैन।
सबैले दसैं हर्षोल्लासपूर्वक मनाइरहेको समयमा गौशाला नगरपालिका-५ स्थित बजारकै अर्को होटलमा काम गर्ने १० वर्षीय बालक रितिक साहले बिहानदेखि बेलुकासम्म खटिरहेका छन्।
हँसिलो, गोरिलो र काममा फूर्तिलो स्वभावका रितिकले यसपालिको दसैंमा घर गएर रमाइलो गर्ने निधो गरे तर पनि होटलमा कामको चापले घर जान पाएनन्। आमासँग सुख दुःखको कुरा गर्ने सोच बनाएका रितिकको सपना गरिबी र विपन्नताका कारण पूरा हुन पाएन।
त्यस्तै मन्दिर प्राङ्गणमा हातमा केही थान बेलून बेच्दै गरेको ११ वर्षीय बालक रविन्द्र सदा (नाम परिवर्तन) खेलकुद गर्ने उमेर अन्य बालबालिकालाई फकाउने सामग्री बेच्नमा व्यस्त छन्।
उनले भने, 'बेलून बेचेर साँझसम्ममा गरी पाँच सय रुपैयाँ जम्मा हुन्छ। यहि पैसाले घरको आवश्यक व्यवस्थापन गर्नेछु। सिजनको व्यवसायबाट मगन्य आम्दानी भइरहेको छ।'
त्यस्तै एक रेडिमेड पसलमा काम गर्ने १३ वर्षीय बालक सतिश सिंह नियमित रूपमा पर्व नमानेर काममा व्यस्त छन्। पसलमा आउने ग्राहकको मनपर्ने कपडा देखाउने, कपडा पट्याएर राख्नेजस्ता काममा उनी व्यस्त हुन्छन्। उनलाई दसैं लागेकै छैन।
उनी भन्छन्, 'पर्व तिहार भनेको गोजीमा पैसा हुनेका लागि मात्र रहेछ, हामीजस्ता गरिब परिवारका बालबालकलाई त दिनरात एकैसरह छन्।'
रितिक, रवीन्द्र र सतिश जस्ता बालबालिकाहरू मेलामा काम गर्ने एक उदाहरण पात्र मात्र हुन्। यहाँका कयौं बालबालिका दिनहुँ ईंटभट्टा, होटल, घरेलु कामदार (नोकर) जस्ता कार्यमा केही पैसाका लागि काम गरिरहेका दृश्य जहाँतहीँ हेर्न पाइन्छ।
कलिलो उमेरमै जोखिमपूर्ण काम गराइले बालबालिकामा शारीरिक, मानसिक, सामाजिक तथा मनौवैज्ञानिक रूपमा नकारात्मक असर परेर उनीहरूको जीवन धरापमा परिरहेको छ।
तर, राज्य र सरोकार भएका निकाय भने मुखदर्शक बनेका छन्। पढ्ने उमेरमा उनीहरू दिनभरि नै ईंट्टाभट्टामा जोखिमपूर्ण श्रम गर्न बाध्य छन्।
जिल्लाका प्रमुख व्यापारिक केन्द्र बर्दिबास, औरही, गौशाला, रामगोपालपुर, सम्सी, सदरमुकाम जलेश्वर, मटिहानी, पिपरा लगायतका दजनौँ हाटबजारमा बालबालिका कडा परिश्रम र श्रम गरेर कष्टपूर्ण जीवन बिताउन बाध्य छन्।
जिल्लामा बालश्रमिक बढ्दै गएको भन्ने विषयमा कुरा उठेपछि महिला तथा बालबालिका कार्यालय अन्तर्गतको बाल संरक्षण शाखाले अनुगमन थालेको छ। तर, अनुगमन प्रभावकारी भएको छैन। अनुगमन कागजमै सीमित रहेको स्थानीयको गुनासो छ।
स्थानीय होटलमा काम गर्ने बाल श्रमिकले ग्राहकलाई चिया, नास्ता दिने र जुठोभाँडा सफा गर्नेदेखि लिएर पसलको सरसफाइ र ग्राहकका लागि तयार पारिने नास्ता, खाना र चियासमेत बनाउन साहुले उनीहरूलाई लगाइरहेको मानवअधिकार सञ्जाल महोत्तरीका प्रतिनिधि अजय साहले बताए।
उनले भने, 'चौध वर्ष उमेर पूरा नगरेका बालबालिकालाई श्रममा लगाउन कानूनले बन्देज लगाएको छ। त्यस्तो पाइएमा तीन महिना कैद वा १० हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ। त्यस्तै १४ वर्षदेखि १६ वर्षका बालबालिकालाई जोखिमपूर्ण काममा लगाएमा एक वर्षसम्म कैद वा ५० हजार रुपैयाँ जरिवानासम्मको व्यवस्था छ।'
यता, सरोकारबाला निकायले भने बालअधिकारको सुरक्षाका विषयमा मौन देखिएका छन्। बालअधिकार संरक्षण गर्नुपर्छ भन्दै बालअधिकार दिवसमा चर्को नारा घन्काउने सरकारी निकाय भने काम नगरे खान नपुग्ने बालबालिकाका हकमा सरोकारवाला स्तरबाट प्रभावकारी कदम चाल्न सकेको छैन।
प्रतिक्रिया दिनुहोस !