पहिरोमा फसेर बिचल्ली
गोरखा : चुमनुब्री गाउँपालिका–६ स्थित लोक्पा पहिरोको बीचमा एक व्यक्ति घाइते अवस्थामा तीन दिनदेखि फसिरहेका छन्। चुम्चेत र छेकम्पारमा मजदुरी गरी बस्ने सुर्खेतका ३४ वर्षका दीपक जीसी गत बिहीबारदेखि फसिरहेको गाउँपालिका अध्यक्ष निमा लामाले बताए।
उनका अनुसार छेकम्पारबाट फर्कँदै गरेका जीसी पहिरोमा फसेर बिचल्लीमा परेका हुन्। ‘लोक्पाको ठूलो पहिरोमा खुट्टा भाँचिएर घाइते भएका रहेछन्। ढुंगामुनि लुकिरहेका उनको खुट्टा गन्हाइसकेको अवस्थामा आज (शनिबार) स्थानीयवासीले देखेछन्’, लामाले भने, ‘तीन दिनदेखि खान पिउनु छैन। बिचल्ली भएको छ।’ उनको हेलिकप्टरबाट उद्धार गर्नुपर्ने भएकाले पहल गरिरहेको लामाले बताए।
जीसीको देब्रेखुट्टा भाँचिएको भेटिएको शनिबार उनलाई खानेकुरा पुर्याएर फर्किएका स्थानीयवासी सेराप गुरुङले बताए। ‘केरौंजाका दुई जना छेकम्पारबाट दौड्दै आएका रहेछन्। उनीहरूले पहिरोमा एक जना फँसिरहेका छन्। खानु पिउनु केही छैन भने’, गुरुङले भने।
त्यसपछि आफूले मानवता देखाउने यस्तै बेला हो भन्ने ठानी पिठो र औषधीहरू पुर्याउन जाने तयारी गरेको उनले सुनाए।। ‘स्थानीय लोप्साङ लामा र छेतेन लामाले बिस्कुट र अरू खानेकुरा पनि दिनुभयो। स्वास्थ्यकर्मीले दुखाइ कम गर्ने ब्रुफिन र दुखेको ठाउँमा दल्ने मुभ दिनुभयो’, उनले भने, ‘त्यसपछि म र मेरो भाइ टासीदोर्जे पहिरोका बीच–बीचमा दौडिएर गयौँ।’
८ सय मिटर लामो पहिरो पार गरी ढुंगाको कोकेरामा पुगेर घाइतेलाई भेटेको उनले बताए। ‘तीन माना चम्पा, खोले, पानी र बिस्कुटलगायत खानेकुराहरू दियौं। उहाँले आफ्ना समस्याहरू सुनाइरहनु भएको थियो’, गुरुङले भने, ‘औषधि खाने तरिका सिकाएर हतारहतार गरेर फर्कियौँ।’ उनले आफूलाई चाँडै उद्धार गरिदिन अनुरोध गरिरहेको उनले बताए। जीसीले लामो समयदेखि चुम्चेत र छेकम्पारमा घर निर्माणमा काठ, ढुंगा बोक्ने काम गर्दै आएका छन्।
यस्तै मनास्लु क्षेत्रको पदमार्ग भ्रमणमा गएका झन्डै ५० विदेशी पर्यटक चार दिनदेखि फसिरहेका छन्। अबिरल वर्षाका कारण गएको पहिरोका कारण चुमनुब्री गाउँपालिका–४ गप र सोही गाउँपालिकाको वडा नं. ६ चुम्लिङमा ठूलो संख्यामा विदेशी पर्यटक फसेका गाउँपालिका अध्यक्ष लामाले बताए।
‘चार दिनदेखि पर्यटक तल झर्न पनि सकेका छैनन्, माथि जान पनि सकेका छैनन्’, लामाले भने, ‘हिजो दुईवटा हेलिकप्टरले पेवामा फसेका पर्यटकको उद्धार गरियो। अझै करिब ५० जना फसिरहेका छन्। हेलिकोप्टरबाट उद्धारका लागि जिल्ला प्रशासन कार्यालय, नेपाली सेना, गृह मन्त्रालयमा कुराकानी भइरहेको छ।’
लामो समयसम्म वृद्ध पर्यटकहरू अलपत्र भएपछि विचल्ली भएको गाइड साने गुरुङले सुनाए। ‘कसैको भिसा सकिने बेला भएको छ, कसैको खर्च सकिएको छ’, उनले भने, ‘धेरैजसा वृद्ध पर्यटकहरू छन्। धेरै बिचल्ली भएको छ।’
चुम्चेतको सर्दीभीरमा सात वर्षअघि निर्माण गरिएको क्यान्टिलिभर पुल क्षतिग्रस्त भएको छ। लगातारको वर्षापछिको पहिरोले पुल क्षतिग्रस्त भएको स्थानीयवासी सेराप लामाले बताए। सो पुल अवरुद्ध हुँदा चुमनुब्री–६ का तीन सय घरधुरी र वडा नं. ७ का करिब तीन सय घरधुरीका बासिन्दा प्रभावित भएका छन्। ठाउँठाउँमा पहिरो जाँदा बाटो र क्यान्टिलिभर पुल भत्किएपछि स्थानीयवासी आवतजावत गर्न पाएका छैनन्। खाद्यान्नलगायत दैनिक उपभोग्य सामग्री ढुवानी गर्न नसक्दा सो क्षेत्रका बासिन्दा प्रभावित भएका उनले बताए।
प्रतिक्रिया दिनुहोस !