भीम रावलको क्षेत्रमा झपट बोहरा उम्मेदवार

भीम रावलको क्षेत्रमा झपट बोहरा उम्मेदवार

अछाम : नेकपा एमालेका पूर्वउपाध्यक्ष भीम रावलको क्षेत्रमा झपट बोहराले मनोनयन दर्ता गराएका छन्। नेकपा एमालेले भीम रावलको निर्वाचन क्षेत्र अछाम- १ मा माओवादी केन्द्रबाट आएका बोहरालाई टिकट दिएको हो।

एमालेका केन्द्रिय सदस्य एवम् जिल्ला ईन्चार्ज बोहराले साँफेबगर नगरपालिकामा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयमा आइतबार मनोनयन दर्ता गराएका छन्। क्षेत्र नं १ बाट भीम रावलको एकल नाम सिफारिस भएको थियो। एकल नाम सिफारिस हुँदासमेत रावललाई टिकट नदिएपछि कार्यकर्ताहरु समेत रुष्ट भएका छन्। 

पार्टीभित्र फरक मत राख्दै आएका रावल अध्यक्ष ओलीसँगको अन्तरद्वन्द्वका कारण टिकट पाउनबाट बञ्चित भएको कतिपयको बुझाई छ। यहि असोज ८ गते साँफेबगरमा भएको कार्यकर्ता भेलामा रावलले टिकटको लागी आफु ओलीको शरणमा नजाने बताएका थिए। उनले त्यति बेला भनेका थिए, ‘म अध्यक्ष ओलीसँग टिकटको लागि हात जोडेर जादिनँ, उहाँले टिकट दिनुभयो भने चुनाव अवश्य लड्छु, आफ्नो स्वाभिमानलाई गिराएर झुकेर मलाई टिकट दिनुस म भन्दिनँ।’ 

उनले पार्टीको दशौं महाधिवेशनपछि पार्टी अध्यक्ष ओलीसँग कुनै सम्पर्क र समन्वय नभएको पनि बताए। टिकटका लागी अध्यक्ष ओलीसमक्ष नजानु नै रावलको कमजोरी रहेको धेरैको भनाई छ। 

मनोनयन दर्तापछि बोहराले पार्टी भित्र जिल्लामा देखिएको विवादलाई समाधान गर्ने र रुष्ट भएकाहरुलाई पार्टीको मूल प्रवाहमा ल्याइने बताए। उनले भने, ‘केहि विवाद देखिएको छ, अहिले यत्तिको रुष्टता कार्यकर्ताले देखाउनु स्वभाविक हो, विवाद साम्य भइहाल्छ।’ गत भदौ १९ गते झपट बोहराको उपस्थितिमा बसेको क्षेत्रिय निर्वाचन समन्वय समतिको बैठकले अछाम क्षेत्र नं १ बाट सर्वसम्मत रावलको एकल नाम सिफरिस गरेको थियो। क्षेत्र नं १ अन्तर्गत प्रदेश क मा ओली निकट देवबहादुर कुँवर, ख मा कृष्णप्रसाद जैशीले मनोनय दर्ता गराएका छन्। 

गठबन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्यका लागी नेकपा एकिकृत समावादीका केन्द्रिय सदस्य श्रम तथा रोजगार मन्त्री शेरबहादुर कुँवर उम्मेदवार बनेका छन्। प्रदेश क मा कांग्रेसका मेघराज खड्का र ख मा माओवादी केन्द्रका झपट साउदले मनोनयन दर्ता गराएका छन्। क्षेत्र नं. २ अन्तर्गत प्रतिनिधि सभा सदस्यका लागी एमालेतर्फबाट यज्ञ बोगटी, गठबन्धनको तर्फबाट कांग्रेसका जिल्ला पार्टी सभापति पुष्पबहादुर शाह मनोनयन दर्ता गराएका छन्। बोगटी र शाह पुनः ५ वर्षपछि आमनेसामने हुने भएका छन्। 

बोहरालाई कालो झण्डा 

नेकपा एमालेका बोहरा मनोनयन दर्ता गरेर फर्किने क्रममा रावल समर्थक कार्यकर्ताहरुले कालो झण्डासहित नाराबाजी गरेका छन्। एमालेको पार्टी कार्यालयसमेत आइतबार बन्द रहेको थियो। बोहरा उम्मेदवारी दर्ता गर्न होटलबाट निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए। 

भीम रावललाई टिकट नदिएपछि नेकपा एमाले अछामका नेताहरुले सामूहिक राजिनामा समेत दिएका छन्। अछाम क्षेत्र नं १ बाट रावलको एकल नाम सिफारिस हुँदा‍समेत टिकट नदिएको भन्दै अहिलेसम्म १२२ जनाले राजीनामा दिएका छन्। ४१ जना जिल्ला कमिटी सदस्य र ८१ जना नगरकमिटीका पदाधिकारी सदस्यहरुले पदबाट राजीनामा दिएका हुन्। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.