बुद्धिचाल प्रतियोगिता सुरु
गोरखा : नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत गोरखामा बुद्धिचाल प्रतियोगिता सुरु भएको छ।
युवा तथा खेलकुद मन्त्रालय तथा राष्ट्रिय खेलकुद परिषद्को आयोजना र गण्डकी प्रदेशको राष्ट्रिय खेलकुद परिषदको सहआयोजनामा सञ्चालित बुद्धिचाल प्रतियोगिता बिहीबारबाट सुरु भएको हो।
प्रतियोगिताको जिल्ला समन्वय समिति गोरखाका प्रमुख मोहनबहादुर थापाले एक कार्यक्रमका बीच उद्घाटन गरे।
गोरखा क्याम्पसमा सुरु भएको सो प्रतियोगितामा ११ टिमका ६६ जना सहभागी रहेका जिल्ला खेलकुद परिषद् गोरखाका अध्यक्ष शान्तसिँह बस्नेतले जानकारी दिए।
सात प्रदेश, एनआरएनए, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना गरी ११ टीमबाट तीन पुरुष र तीन महिला प्रतियोगितामा सहभागी भएका उनले बताए।
बुद्धिचाल प्रतियोगितामा छवटा इभेन्ट हुनेछन्। क्लासिकल, ब्लिच र र्यापिड गरी तीन चरणका खेल हुने प्रमुख निर्णायक यासिर खुम्बुले बताए। बिहीबार क्लसिकल प्रतिस्पर्धा भएको छ। खेलमा नौ राउन्डको लिग खेल हुने उनले बताए।
'फ्री डेको नियमअनुसार खेल सञ्चालन हुन्छ,' उनले भने। गोरखा क्याम्पसमा बिहीबारबाट सुरु भएको बुद्धिचाल प्रतियोगिता कात्तिक २ गतेसम्म सञ्चालन हुने छ।
प्रतिक्रिया दिनुहोस !