ठूला दलमै महिलालाई उपेक्षा

ठूला दलमै महिलालाई उपेक्षा

राजविराज : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रमुख दलहरूले प्रत्यक्षतर्फको उम्मेदवारी दिँदा महिलालाई उपेक्षा गरेका छन्। जिल्ला निर्वाचन कार्यालय सप्तरीका अनुसार प्रतिनिधिसभा र प्रदेशसभाका लागि महिलाको उम्मेदवारी १०.८० प्रतिशत मात्र छ।

त्यसमा पनि ठूला दलबाट महिलाको उम्मेदवारी शून्य छ। प्रतिनिधिसभाका लागि सप्तरीको ४ वटा निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ साना दल र स्वतन्त्रबाट ५ महिलाको मात्र उम्मेदवारी परेको छ। जबकी प्रतिनिधिसभा सदस्यका लागि सप्तरी १ बाट २० जना २ बाट १६ जना ३ बाट १८ जना र ४ बाट १६ गरी ७० जनाको उम्मेदवारी छ।

नागरिक उन्मुक्ति पार्टीले सप्तरी १ बाट टिकालक्ष्‍मी चौधरी, सप्तरी २ बाट नेपाल संघीय समाजवादी पार्टीले प्रमिलादेवी मण्डल, नेपाली जनता दलले चन्द्रकुमारी देव र पिछडा वर्ग निषाद दलित जनजाती पार्टीले सुमित्रा मण्डललाई प्रतिनिधिसभाको उम्मेदवार बनाएको छ। ती चारवटै दलबाट १÷१ जना मात्र उम्मेदवार छन्  । प्रतिनिधिसभाका लागि सप्तरी ४ बाट माधुरीकुमारी साहले स्वतन्त्रबाट उम्मेदवारी दिएकी छन्। 

आठवटा प्रदेशसभाका लागि प्रत्यक्षतर्फ १०६ जना उम्मेदवार रहेकोमा साना दल र स्वतन्त्रबाट १४ जनाको मात्र उम्मेदवारी परेको छ। सबैभन्दा बढी नेमकिपाबाट ३ महिला प्रदेशसभा सदस्यका लागि उम्मेदवार बनेका छन्। सप्तरीको १ (क) बाट महावतीदेवी मलाहा, १ (ख) बाट सुनिताकुमारी मलाह र २ (क) बाट बिणादेवी यादवको उम्मेदवारी छ । नेमकिपाले सप्तरी ४ बाहेक सप्तरीको १, २ र ३ मा प्रतिनिधिसभा र प्रदेशसभाका ९ वटा पदमा, नेकपाले सप्तरीको १ (क) बाट शशीकलाकुमारी चौधरी र ३ (क) बाट गिरिजाकुमारी चौधरीलाई प्रदेशसभा सदस्यको उम्मेदवार बनाएको छ। नेपाली कांग्रेस बीपीले सप्तरी २ (ख) बाट प्रतिमाकुमारी देवलाई र सोबाहेक प्रतिनिधिसभा २, प्रदेशसभा २ (क) र (ख) तथा प्रदेशसभा ४ को (क) र (ख) मा बनाइएका उम्मेदवार पुरुष छन्। राप्रपा र राप्रपा नेपालले सप्तरीको ३ (ख) बाट मात्र महिला उम्मेदवार बनाएका छन्। राप्रपाले ऐलिना आचार्य र राप्रपा नेपालले डोमनी देवीलाई उम्मेदवार बनाएको हो। यी दुवै पार्टीले मात्र सप्तरीको सबै १२ पदमा उम्मेदवारी दिएको छ।

स्वतन्त्रबाट प्रतिनिधिसभाका लागि सप्तरी ४ बाट साह र प्रदेशसभाका लागि ६ जनाको उम्मेदवारी रहेको छ। सप्तरी २ (क) बाट चन्द्रकला सिंह र पुनिताकुमारी ठाकुर, सप्तरी २ (ख) बाट सकुन्तलादेवी यादव र रिंकुदेवी यादव तथा सप्तरी ४ (क) बाट चिन्तादेवी सिंह र ४ (ख) बाट ललितादेवी लताको उम्मेदवारी कायम छ। स्वतन्त्रबाट मनोनयन गरेका ६४ जनाको उम्मेदवारी कायम छ। जसमा प्रतिनिधिसभाका लागि २७ जना छन्।

सप्तरीको प्रतिनिधिसभाको ४ र प्रदेशसभाको ८ पदका लागि ११ जनाको उम्मेदवारी दिने जनमत पार्टी, ८ पदका लागि उम्मेदवारी दिने कांग्रेस र जसपाबाट समेत महिलाको उम्मेदवारी परेको छैन। सप्तरीमा ५ पदका लागि उम्मेदवारी दिने लोसपा र ४ पदका लागि उम्मेदवारी दिने नेकपा (एमाले)ले पनि महिला उम्मेदवार बनाएका छैनन्। यस्तै ४ पदका लागि उम्मेदवारी दिने राष्ट्रिय स्वतन्त्र पार्टी, हाम्रो नेपाली पार्टी, ३ पदमा उम्मेदवारी दिने बहुजन शक्ति पार्टी, २ पदमा उम्मेदवारी दिने माओवादी केन्द्र र नेपाल सद्भावना पार्टीबाट पनि महिला उम्मेदवार छैनन्। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेपाल आमा पार्टी, एकीकृत समाजवादी पार्टी, मंगोल नेसनल अर्गनाइजेसन, बहुजन एकता पार्टी, जनता प्रगतिशील पार्टी, नेपाल लोकतान्त्रिक पार्टीले १÷१ पदका लागि दिएको उम्मेदवार सबै पुरुष नै छन्।

देशभरी भने प्रमुख दल एमालेले आफूले उम्मेदवारी दिएको १४४ क्षेत्रबाट ११ जना महिलालाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ। माओवादी केन्द्रले ७ जनालाई टिकट दिँदा कांग्रेसले ५ र एकीकृत समाजवादीले १ जनालाई मात्रै प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ। जसपा र लोसपाले देशभरी नै कुनै पनि महिलालाई प्रतिनिधिसभामा प्रत्यक्ष उम्मेदवार बनाएका छैनन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.