पहिरोले घर खोस्यो, दुई गाउँको जंगलमा बास (तस्बिरसहित)
मुगु : दसैं सुरु भएदेखि २४ गतेसम्म परेको अविरल वर्षले छाँयानाथ रारा नगरपालिका–८ झयारी र सिगाडी गाउँमा पहिरो पसेर गाउँ नै जोखिममा पुगेको छ। पहिरो गाउँ पसेपछी दुबै गाउँका स्थानीय जंगलमा त्रिपाल हालेर बसेका छन्।
छायाँनाथ रारा नगरपालिका–८ झयारी गाउँका १ सय ६ र सोही वडाको सिगाडी गाउँका ५ घरधुरी गाउँ नजिक सुरक्षित स्थान नभएपछि रारा राष्ट्रिय निकुञ्ज अन्त्रर्गत मध्यवर्ति क्षेत्रको जंगलमा बास बसेका हुन्। वर्षाले छायाँनाथ रारा नगरपालिका–१२ को तलि सालिममा ८ जनाको ज्यान गएको थियो । बाढी पहिरोले जिल्लाभर ३३ बस्ती उच्च जोखिममा रहेका छन्। भने ३ सयभन्दा बढी घरमा पूर्ण क्षति भएको छ । गाउँ नजिक बस्ने सुरक्षित स्थान नभएपछि उनीहरु जंगलमा बस्नु परेको छायाँनाथ रारा नगरपालिका–८ का वडा अध्यक्ष कर्ण रावलले बताए।
सरकारी निकायबाट ४० त्रिपाल मात्र पाएका र पहिरो पीडित १ सय ५६ घरधुरी भएको सोही वडाका कृष्णा रावलले बताए। जंगलमा सुरक्षित भनेर बसेका भए पनि खानेपानी, शौचालयको समस्या रहेको र कसैले ध्यान नदिएको उनको दुखेसो छ।
शुक्रबार उक्त स्थानमा पुगेका छाँयानाथ रारा नगरपालिकाका मेयर विष्णु भामसहित प्रमुख जिल्ला अधिकारी रोमबहादुर महत र सुरक्षा निकाय प्रमुख पुगेका थिए। उनीहरुले जंगलमा बसेका स्थानीलाई जिल्ला स्थित गैर सरकारी संघ संस्थाले राहत उपलब्ध गर्ने र उक्त राहत एकद्वार प्रणाली मार्फत जिल्ला प्रशासन कार्यालयले केही दिनमै उपलब्ध गर्ने जानकारी दिएका छन्।
पहिरो पीडितले भने स्थायी बसोबासका लागि सुरक्षित स्थानको पहल गरिदिन आग्रह गरेको थिए । जंगलमा बसेका स्थानीयमा वृद्ध, बालबालिका, गर्भवति महिला र बिरामीहरु उच्च जेखिमा छन्। शौचालय र खानेपानीको समस्याले झाडा पखाल र चिसोले दमका रोगीलाई समस्या हुने हुँदा त्रिपाल, शौचालय र खानेपानीको समस्या समधानका लागी स्थानिय गैर सरकारी संस्थासँग समन्वय गरिएको प्रमुख जिल्ला अधिकारी रोम बहादुर महतले बताए ।
जिल्ला भर ३३ बस्ती उच्च जोखिममा रहेका र ३ सयभन्दा बढी घर भत्किएर सर्बसाधरण घरबारविहीन भएका भए पनी छाँयानाथ रारा नगरपालिका–८ का दुई बस्ती भने गाउँ नजिक सुरक्षित स्थान नपाउँदा जंगलमा त्रिपाल हालेर बस्नु परेको हो ।