महिला भलिबलमा सेना र प्रदेश १ विजयी
बेनी : विभागीय टिम नेपाली सेना र प्रदेश १ ले म्याग्दीको बेनीमा जारी नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताको महिला भलिबलको शनिवार भएको खेलमा जित निकालेका छन्।
बेनीको खुल्ला मञ्च खेलमैदानमा भएको खेलमा सेनाले कर्णाली र प्रदेश १ ले मधेस प्रदेशलाई सोझो तीन सेटमा पराजित गरेका हुन्।
मनिषा खाँडको कप्तानीमा मैदानमा उत्रिएको सेनाको टोलीले कर्णालीलाई पहिलो सेट २५-१२, दोस्रो सेट २५-१३ र तेस्रो सेट २५-१२ अन्तरमा पराजित गरेको हो। विनिता राईको नेतृत्वमा खेलेको प्रदेश १ ले मधेशलाई क्रमशः २५-१३, २५-२२ र २५-१५ को अन्तरमा पराजित गरेको थियो।
लिक कम नक आउट वेष्ट अफ फाइफ सिस्टममा खेलाइएको प्रतियोगितामा सेना र कर्णाली एउटै समूह (ए)का हुन्। पहिलो चरणको दुई वटा प्रतिस्पर्धामा पराजित कर्णाली प्रदेश लिग चरणबाट बाहिरिएको जिल्ला खेलकुद विकास समिति, म्याग्दीका अध्यक्ष दिनेश केसीले बताए।
सशस्त्र प्रहरीसँग शुक्रबार फराकिलो अन्तरका बीच सोझो तीन सेटमा पराजित भएको नविना आचार्यको कप्तानीमा रहेको कर्णालीले सेनासँगको खेलमा प्रर्दशन सुधार गरेपनि जित निकाल्न सकेन। प्रजना थापाको कप्तानीमा रहेको मधेसको टोलीले दोस्रो सेटमा प्रतिस्पर्धा गरेपनि पहिलो र तेस्रो सेटमा फराकिलो अन्तरमा प्रदेश १ सँग पराजित भयो।
आइतबार दश बजे शसस्त्र प्रहरी र नेपाली सेना तथा दिउँसो २ बजे बागमती र मधेस प्रदेशबीचको प्रतिस्पर्धा भएसँगै पहिलो चरणको खेल सकिने जिल्ला भलिबल संघ म्याग्दीका अध्यक्ष तेजेन्द्र बानियाले जानकारी दिए।
शनिबारको खेलमा सेनाकी संगम महतो र प्रदेश १ की समिक्षा राईलाई वमेन अफ द म्याच घोषणा गरिएको छ। हालसम्म ६ वटा खेल सकिएको छ। राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको प्रतियोगिता कात्तिक २ गतेसम्म सञ्चालन हुँदैछ। प्रतियोगितामा सात वटा प्रदेश र तीन वटा विभागीय टोलीले सहभागिता जनाएका छन्।
प्रतिक्रिया दिनुहोस !