महिला नेतृमाथि हातपात गर्ने साह निलम्बित !
महोत्तरी: जनता समाजवादी पार्टी (जसपा)का केन्द्रीय सदस्य कृष्ण शंकर साह पार्टीबाट निलम्बित भएका छन् । महोत्तरीको निर्वाचन क्षेत्र नम्बर ३ को चुनावी छलफलमा महिला नेतृमाथि हातपात गर्ने पार्टीका केन्द्रीय सदस्य साहलाई पार्टीले निलम्बन गरेको हो ।
जनता समाजवादी पार्टीको केन्द्रीय कार्यालयले विज्ञप्ति जारी गर्दै पार्टीका केन्द्रीय सदस्य साहसहितका केही व्यक्तिबाट भएको अमर्यादित र अभद्र क्रियाकलापले गर्दा भेला भाँडिएको, महिला माथि अपमान गरिएको, हातपात तथा अभद्र कार्य गरिएको प्रति ध्यानाकर्षण भएको पार्टीले जनाएको छ ।
महोत्तरीको कार्यक्रममा चुनावी छलफल हुदै गर्दा नेतृ मीनु झामाथि हातपात भएको प्रत्यक्षदर्शीको भनाइ छ ।
विज्ञप्तिमा पार्टीको विधि, पद्यती विपरित अनुशासनहिन कार्य गर्ने, महिला नेतृहरुमाथि हातपात तथा अपमान गर्ने एवम अभद्र व्यवहार गर्ने साहलाई पार्टी विधानले गरेको व्यवस्था बमोजिम आजकै मितिदेखि निलम्बन गरिएको उल्लेख छ । घटनाको छानविन गरी पार्टीले आवश्यक निर्णय लिने विज्ञप्तिमा उल्लेख छ ।

के थियो घटना ?
जसपाले जारी गरेको विज्ञप्ति अनुसार असोज २१ गते आयोजित कार्यक्रममा जसपा नेतृ मीनु झामाथि साहले अभद्र गाली गलौज गर्दै हातपात गरेका थिए ।
पीडित नेतृ झा र जलेश्वर नगरपालिकाका मेयर सुरेश साह सोनारबीच विगत केही दिनदेखि मनमुटाव र वादविवाद चलेको थियो । झाले असोज २६ गते फेसबुकमा लेखेकी थिइन्, ''जलेश्वर मेयर के 'हुकुमी' शासन कते दिन जनता पर महिला के अपमान कुर्सी के प्रयोग कते दिन समय के ईन्तजार करु रावन के घमण्ड त टुटल आहा कुन दुनियाँ के ।''
असोज २७ गते बिहीबार पार्टीको चुनावी छलफलमा ढिलो पुगेका मेयर सोनार र मीनु झाबीच छलफल कार्यक्रममै मौखिक भनाभन चल्दा साहले झालाई तीन झापड हानेका थिए । उनलाई अभद्र गालीगलौज गर्दै झापड हानेपछि वातावरण खलबलिएको थियो । कार्यक्रममा सहभागी नेता कार्यकर्ताले आपसी विवाद मिलाएका थिए ।
यता नेतृ झाका अनुसार घटनास्थलमा पार्टीका तर्फबाट क्षेत्र नं. ३ (ख) का उम्मेदवार दिपेन्द्र झाले आफुसँग कार्यक्रममा भएको अन्यायविरुद्ध आवाज उठाएको बताईन् । त्यस्तै नेतृ सविता यादवले घटनाको प्रतिकार गर्दै विरोध गरेकी थिईन् ।
तर महिला नेतृमाथि पार्टीकै नेताबाट अपमान, अभद्र व्यवहार र हातपात हुँदासमेत जिल्ला कार्यालय मौन बसेको स्थानीय नेता कार्यकर्ताको आरोप छ ।
आगामी निर्वाचनमा भोट विग्रने डरले पार्टी नेतृत्वले दोषीलाई कार्यवाहीको दायरामा ल्याउनुको साटो घटना लुकाउन खोज्नु दुखद भएको भन्दै यसको निष्पक्ष छानबिन हुनुपर्ने पार्टीकै कार्यकर्ताको माग छ ।
प्रतिक्रिया दिनुहोस !