जयरानीको जगजगी

जयरानीको जगजगी

पोखरा : आइतबार महिला ४०० मिटर हडल्समा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेकी विभागीय टोली त्रिभुवन आर्मी क्लबकी जयरानी थारूले सोमबार महिला एक सय मिटर हडल्समा पनि स्वर्ण पदक जितिन्।

पोखरा रंगशालामा हिट चरण १५.१६ सेकेन्डमा पूरा गर्दै राष्ट्रिय कीर्तिमान बनाएकी जयरानीले फाइनल स्पर्धामा स्वर्ण पदक जित्न १५.६९ सेकेन्डको समय खर्चिइन्। उनले आफ्नै नाममा रहेको १५.२० सेकेन्डको कीर्तिमान भंग गर्दै नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी हुन्। २१ वर्षीया जयरानीले ४०० मिटर हडल्समा यसअघि आफैले बनाएको एक मिनेट ०७.०२ सेकेन्डको समयमा सुधार गर्दै एक मिनेट ०४ः१३ सेकेन्डको नयाँ कीर्तिमान बनाएकी थिइन्।

चार महिनाअघि भएको ४४औं राष्ट्रिय एथलेटिक्समा चार स्वर्ण जितेपछि चर्चा बटुलेकी जयरानी नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पनि त्यो पद्चापलाई पछ्याउने अभियानमा छिन्। बर्दियाको मधुवन नगरपालिका–२ सुन्दरपुरकी जयरानीले आफ्नो कडा मेहनतकै कारण लगातार स्वर्ण जित्न सफल भएको बताइन्। ‘एथलेटिक्समा हडल्स मलाई मन पर्ने खेल हो। अन्य विधाभन्दा कठिन विधा भएकाले पनि मैले हडल्स रोजेको हो’, जयरानीले सोमबार दोस्रो स्वर्ण जितेपछि भनिन्, ‘यस बाहेक आफ्नो कडा परिश्रम र मेहनतले लगातार दोस्रो स्वर्ण जित्न सफल भएँ। अझ कीर्तिमानसहित स्वर्ण पदक जित्न पाउँदा निकै खुसी छु।’

राष्ट्रिय खेलकुदमा जयरानीको तेस्रो सहभागिता हो। विद्यालयस्तरीय, राष्ट्रपति रनिङ सिल्डलगायतका जिल्ला तथा राष्ट्रिय प्रतियोगितामा अब्बल प्रदर्शन गरेकी उनी २०७३ मा पूर्वाञ्चलमा भएको सातौं राष्ट्रिय खेलकुदमा पहिलो पटक सहभागी भएकी थिइन्। त्यतिबेला राष्ट्रिय खेलकुदको अनुभव बटुलेकी उनले २०७६ मा प्रदेश ५ भएको आठौं राष्ट्रिय प्रतियोगितामा तीन वटा रजत पदक जितेकी थिइन्। आठौं राष्ट्रिय खेलकुदमा विभागीय टोली त्रिभुवन आर्मीसँग प्रतिस्पर्धा गरेर रजत पदक जितेकी उनले यस पटक आर्मीकै जर्सीमा उत्कृष्ट प्रदर्शन गर्दै आएकी छन्। महिला एक सय मिटर हडल्समा जयरानीले स्वर्ण जित्दा आर्मीकै निर्मला थापाले १६.२५ सेकेन्डको समय निकाल्दै रजत र एपीएफकी भगीरतीकुमारी थारुले १९.१३ सेकेन्डका साथ कांस्य पदक जितिन्।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत सोमबार एथलेटिक्समा पाँच स्वर्ण पदकको निर्णय भएको छ। जसमा आर्मीले तीन तथा लुम्बिनी र कर्णाली प्रदेशले एक÷एक स्वर्ण जितेका छन्। पुरुषको एक सय १० मिटर हडल्समा आर्मीका जीवन चौधरीले स्वर्ण जिते। उनले निर्धारित दूरी १५.०३ सेकेन्डको समयमा निकाल्दै स्वर्ण पक्का गरेका थिए। नेपाल पुलिस क्लबका चन्द्रदेव जोशीले १५.८१ सेकेन्डका साथ रजत र आर्मीका रामप्रसाद थारुले १६.०० सेकेन्डसहित कांस्य पदक जिते।

यसैगरी डिस्कस थ्रोमा आर्मीका चित्रबहादुर ओलीले स्वर्ण, पुलिसका पुस्कल खड्काले रजत र सुदूरपश्चिम प्रदेशका हेमन्त पालले कांस्य पदक जिते। महिलातर्फ लुम्बिनीकी संगीता अधिकारीले स्वर्ण, एपीएफकी जितकुमारी महतोले रजत र आर्मीकी मिलन बुढामगरले कांस्य जिते। 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.