डोरी समात्दै, भर्‍याङ चढ्दै : पुर्खाले भोटे नुन बोक्ने बाटो हिँड्न बाध्य

डोरी समात्दै, भर्‍याङ चढ्दै : पुर्खाले भोटे नुन बोक्ने बाटो हिँड्न बाध्य

गोरखा : तल हेर्दा छङ्गाछुर भीर, झण्डै चार/पाँच सय मिटर उँधो बूढीगण्डकी देखिने। कतै भीरमा पाइला मात्र राख्न मिल्ने बाटो, कतै पाइला टेक्न पनि नमिल्ने हुँदा काठको ठाडो र तेर्सो भर्‍याङ बनाइएको, कतै डोरीमा समातेर, कतै निगालो समातेर हिँड्नु पर्ने यो कहालीलाग्दा बाटो हो, गोरखाको मनास्लु क्षेत्रको।

गत हप्ता निख्रिँदो मनसुनमा यस क्षेत्रमा भीषण वर्षा भयो। जताततै पहिरो झर्‍यो। धेरै ठाउँमा झरेका ठूला-ठूला पहिरोले बाटो अवरुद्ध बनाएपछि मनास्लु क्षेत्रका बासिन्दा र विदेशी पर्यटक ३० वर्षदेखि हिँड्न छाडिएको भोटेनुन बोक्ने बाटो हिँड्न बाध्य छन्।

ठूला पहिराका कारण चुमनुब्री गाउँपालिका ३ न्याकफेदीदेखि पेवासम्मको बाटो हिँड्न नमिल्ने गरी क्षतिग्रस्त भएको वडाध्यक्ष रामकुमार गुरुङ बताउँछन्। 

'साविकको बिही, प्रोक, ल्हो र सामागाउँ गाविस जाने बटुवाहरू अहिले भोटे नुन ओसार्ने गरेको बाटो हिड्न बाध्य भएका छन्', वडाध्यक्ष रामकुमार गुरुङ भन्छन्, 'पहरोको कप्पुमा खुट्टा अड्याउँदै, डोरी र निगालो समात्दै हिड्नु परेको छ। बाटो यति कहालीलाग्दो छ कि, तल हेर्दा चिल घुम्ने भीर छ, रिङ्टा लाग्छ।' 

जोखिम मलेर हिँड्ने पर्यटकले 'इन्जोय' गरे पनि अरू पर्यटक र स्थानीयबासीको हिँडडुल सकसपूर्ण भएको उनको भनाइ छ। 

साविकको बाटो अवरद्ध भएपछि सो भीरबाट हिँड्दा दुई घण्टा समय थपिएको पर्यटकका गाइड भविराज गुरुङले बताए। 
'कमजोर मुटु भएकाले यो भीर पार गर्न सक्दैनन्', उनले भने, 'एड्भेञ्चर गर्न चाहनेहरू त रमाउँछन्, तर अरूहरू यस्तो देखेपछि रुन्छन्। आधाघण्टामा पार हुने बाटो भीरकोबाटो घुम्नु परेपछि दुईघण्टा बढी हिँड्नु परेको छ।' 

झरना र पहराबाट चुहिएको पानीले बाटो चिप्लो र जोखिम बनाएको उनको भनाइ छ। मान्छे जसोतसो हिँडेपनि खच्चड हिँडाउन नसक्दा सो क्षेत्रका करिब १२ सय घरधुरीका बासिन्दालाई दैनिक उपभोग्य सामान ढुवानीमा समस्या भएको छ।

पुर्खाले नुनको ढाकर बोकेर हिँड्ने सो बाटो ३० वर्ष यता बन्द भएको छ। बूढीगण्डकी किनार किनारै बाटो र बूढीगण्डकीमा ठाउँ ठाउँमा झोलुंगेपुल बनेपछि माथिको बाटो बन्द भएको गाउँपालिकाका अध्यक्ष निमा लामा बताउँछन्।

पहिराले बाटो अवरुद्ध भएपछि गाउँपालिकाको विपत् व्यवस्थापन कोषबाट भीरको बाटो खोल्न लगाइएको उनले बताए। 
'पहिराले चार-पाँच दिन बाटो अवरुद्ध भयो। आवतजावत ठप्प भयो', वडाध्यक्ष गुरुङले भने, 'त्यसपछि अलिअलि पानी पर्न छाडेपछि ५०-६० जना खेतालाले चार दिन काम गरेर गत बुधबारबाट भीरको बाटो खुलाइयो। अहिले मान्छे हिँडडुल गर्न त जसोतसो मिलेको छ। खाद्यान्न ढुवानी गर्न सकिएको छैन।' 

सो बाटोमा यो सिजनमा दैनिक एकसय जना भन्दा धेरै विदेशी पर्यटक हिँड्ने गरेको उनको भनाइ छ। मनसुन रोकिएपछि पहिलेकै बाटो खुलाउन काम अघि बढाउने गुरुङले बताए। 

चुमनुब्री गोरखा जिल्लाको सडक सञ्जालले नजोडेको एक मात्र गाउँपालिका हो। यहाँको सबैभन्दा ठूलो आवश्यकता सुरक्षित बाटो भएकाले यसबारेमा प्रचण्ड लगायतका नेताहरूसित समस्या राखेको चुमनुब्री गाउँपालिकाका अध्यक्ष लामाको भनाइ छ। अल्पकालीन र दीर्घकालीन समाधानका लागि पहल गरिरहेको उनी बताउँछन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.